कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

धार्मिक गीत गाउँदै मध्यमा परिक्रमा

श्यामसुन्दर शशि

जनकपुर — झन्डै ९० किलोमिटर लामो पदयाक्रा सकेर श्रद्धालुको समूह शुत्रबार धनुषाधाम पुग्दा परिक्रमावासी थकित देखिन्थे । थकाइ मेटाउन साधुसन्तहरू ढोलक, मृदंगको तालमा धार्मिक गीत गाउँदै थिए । 

पाका साधुहरू उनीहरूलाई सम्बोधन गर्दै भन्दै थिए, ‘बोलो, माथापर मोटरी जयसियाराम ।’ स्थानीय युवा युवती उनीहरूका लागि खानेपानी, चिया, सर्वत आदिको व्यवस्था गर्दै सादर वासा (धनुषाधाम जंगल) सम्म पुर्‍याएका थिए । अस्थायी टेन्ट बनाउन सहयोग गरेका थिए अनि दाउरा,चामल,दाल,तरकारीका लागि आग्रह पनि गरेका थिए ।


प्राचीन मिथिलाको राजधानी जनकपुरको सेरोफेरोमा १५ दिनसम्म घुमिने यो धार्मिक यात्रा फागुन २२ गते मध्य धनुषाको कचुरीस्थित मिथिला विहारी मठबाट निस्केको थियो । मिथिला विहारी (रामजानकी डोला) को अगुवाइमा निस्केका श्रद्धालुहरू भारतको कलना, फुलगामा, महोत्तरीको मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कंचनवन, धनुषाको पर्वता हुँदै शुक्रबार धनुषाधाम आइपुगेको हो ।


फरिक्रमावासीहरू त्रमशः सप्तपोखरी, औरही भारतको विसौल तथा कलानेश्वर हुँदै बुधबार जनकपुर आइपुग्ने छन् । अनि फागुपूर्णिमाको भोलिपल्ट जनकपुरको अन्तःगृह परिक्रमा गरी यस धार्मिक यात्रालाई विधिवत् सम्पन्न गर्नेछन् ।


श्रद्धालुहरू रात्रिविश्राम गर्ने ११ वटै विश्रामस्थलमा स्थानीयवासीहरू कमोवेश यस्तै रूपमा प्रस्तुत हुन्छन् । श्रद्धालुहरूको आवास, भोजन, खानेपानी तथा दान दषिणाको व्यवस्था स्थानीयवासीहरू नै गर्छन् ।


१ सय ३३ किलोमिटर लामो १५ दिने मध्यमा परिक्रमामा मिथिला विहारी र किसोरीजीको डोलासँगै भिन्दाभिन्दै ३५ धार्मिक खाल्साका झन्डै ५ हजार साधुसन्त र ५० हजार श्रद्धालु नियमित रूपमा सहभागी छन् । प्रत्येक विश्रामस्थलमा लाग्ने मेलामा एक लाख अधिक सर्वसाधारण सहभागी हुन्छन् । सुन्दर सदन अग्निकुण्डका महन्त नवलकिशोर शरण १५ दिने नियमित तथा अन्तगृह परिक्रमा गरी यस धार्मिक यात्रामा २० लाख श्रद्धालु सहभागी हुने गरेको बताउँछन् । श्रद्धालुहरू रात्रि विश्राम गर्ने ११ वटै स्थान धार्मिक महत्त्वका छन् ।


पहिलो विश्राम जनकपुर १६ हनुमान गढीमा हुन्छ । जसलाई मिथिलानगरीको रक्षकका रूपमा व्याख्या गरिन्छ भने कलानेश्वरमा अवस्थित शिवालय मिथिलाको दक्षिणी भागमा स्थापित गरिएको मानिन्छ । यसैगरी फुलहरमा राम र सीताबीच पहिलो मिलन भएको विश्वास छ भने मठिहानीमा विष्णुको प्रख्यात मन्दिर छ ।


जानकी मन्दिरका छोटे महन्थ रामरोशन दासका अनुसार मठिहानीको पवित्र पोखरीबाट ल्याइएको माटोबाट राम सीताको विवाहको वेदी निर्माण गरिएको थियो । यसैगरी कंचनवनमा राम र सीता फागु खेलेको किंवदन्ति छ । सीता स्वयंम्वरका बेला भाँचिएको शिवधनुषको एक टुक्रा धनुषाधाममा खसेको किंवदन्ती छ भने सतोषरमा सप्तऋषिको आश्रम रहेको विश्वास छ ।


मिथिला विहारी मन्दिरका महन्थ रामनरेश दासको नेतृत्वमा हजारौं साधु,सन्त,महन्थ तथा गृहस्थ यस धार्मिक यात्रामा सहभागी छन् । यात्रामा सहभागी श्रद्धालुहरूलाई स्थानीयवासीहरूले घर–घरबाट ल्याएको चामल, दाल, आलु, नुन, खुर्सानी, बेसार, गाई गोरुका लागि प्वाल, दाउरालगायतका सरसामानहरू उपलब्ध गराउँछन् ।


यात्रामा देश विदेशका साधु सन्त तथा गृहस्थहरूको उल्लेख्य सहभागीता छ । परिक्रमावासीहरू राति गाउँभन्दा टाढा खुला चौर, बगैंचा वा पोखरीको डिलमा विश्राम गर्छन् । सहभागीहरू दिनभरि यात्रा गर्छन् र भजन कीर्तन तथा सत्संग गरेर रात बिताउँछन् ।


लामो समयसम्म सँगै बस्ने भएकाले परिक्रमाका सहभागीहरूलाई परिक्रमावासी भनिन्छ । अधिकांश गृहस्थ आफूसँग यात्रा अवधिका खाद्यान्न,दाउरालगायतका सामानसँगै लान्छन् । सामूहिक रूपमा खाना पकाउँछन् अनि धार्मिक भजन कीर्तन गर्दै रात बिताउँछन् । परिक्रका सहभागीहरूमध्ये अधिकांश पाका उमेरका महिला पुरुषहरू छन् ।


दुई वर्षअघि प्राथमिक विद्यालयका प्रधानाध्यापकबाट अवकासप्राप्त गरेका धनुषा,मोरहाका ६५ वर्षीय रामसागर मण्डल श्रीमतिसहित धनुषाधाममा भेटिए । यसैगरी महोत्तरी ,लोहारपटी नगरपालिका ८ भगवानपुरकी ५० वर्षीया गिरीजा देवी महतो खाना पकाउने तयारीमा थिइन् । कान्तिपुरसँगको भेटमा गिरजिाले परिक्रमावासीहरू दिनमा एक पटकमात्र पकाएको खाना खाने गरेको

जानकारी दिइन् ।


‘बिहान वासा (स्थान) परिवर्तन गर्नुपर्ने हुन्छ । त्यसैले फलाहारमात्र गर्छौं । अनि राति भजनकीर्तनमा समय बित्छ । हामी दिनको खाना मात्र खान्छौं ।’ गिरिजा देवीले भनिन् ।


यस भेगकै सबभन्दा बढी समयसम्म चल्ने यस धार्मिक यात्रामा श्रद्धालुहरूको ओइरो लागे पनि संघीय र प्रदेश सरकारको उपस्थिति भने देखिँदैन । स्थानीय सरकार भने श्रद्धालुहरूको सेवामा तल्लिन देखिन्छन् । यसअघि परिक्रमावासीहरूको आवास,बिजुली, खानेपानी, शौचालय आदिका लागि बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले सहयोग गर्दै आएको थियो तर यस वर्ष बृहत्तरको उपस्थिति नदेखिएको पत्रकार राजेशकुमार कर्णको कथन छ ।


२० लाख आन्तरिक र बाह्य पर्यटक सहभागी हुने यस धार्मिक उत्सवलाई सरकारले व्यावसायीकरण गर्न नसकेको गुनासो पत्रकार कर्णको छ । उनले भने, ‘१५ दिनसम्म चल्ने यस धार्मिक यात्रालाई स्थानीयवासीले धानेका छन् । सरकारको उपस्थिति देखिँदैन ।’ यस यात्रालाई व्यावसायीकरण गरेर आर्थिक लाभ लिन सक्ने उनको दाबी छ ।


परिक्रमावासीहरू नेपालका १ सय ५ तथा भारतका २८ गरी कुल १ सय ३३ किलोमिटर पैदल यात्रा गर्छन् । प्राचीन मिथिलाको राजधानी जनकपुरको चारै कुनामा स्थापित चार शिवालयहरू क्रमशः कलानेश्वर,जलेश्वर,क्षीरेश्वर र सप्तेश्वरलाई आधार मानी परिक्रमा गर्ने परम्परा रहेको मिथिलाविहारी मन्दिरका महन्थ रामनरेश दासले बताए ।

प्रकाशित : चैत्र ३, २०७५ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?