कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

मापदण्ड नपुगी अस्पताल

शिव पुरी

रौतहट — जिल्लामा पछिल्लो समय मापदण्ड विपरीत अस्पताल सञ्चालन गर्ने क्रम बढेको छ । उनीहरूले हचुवाका भरमा धमाधम अस्पताल खोलेका छन् । अधिकांश अस्पतालमा एम्बुलेन्स पार्किङस्थल समेत छैनन् । कुनै नहरको डिलमा सञ्चालनमा छन् । यस्ता अस्पतालको निगरानी र अनुगमन हुन नसक्दा बेथिति र सर्वसाधारणले सास्ती खेप्नु परेको छ । 

मापदण्ड नपुगी अस्पताल

यमुनामाई गाउँपालिका १ राजमार्ग छेउस्थित नहरको डिलमा शिवदर्शन सेन्ट्रल अस्पताल सञ्चालनमा छ । यो अस्पताल मापदण्ड विपरीत छ । अस्पताल सञ्चालन गर्न चाहिने मापदण्ड पूरा नगरी जिल्ला जनस्वास्थ्यले हचुवाका भरमा अनुमति दिइएको थियो । यो मात्र हाइन पछिल्लो समय खुलेका अधिकांश अस्पताल मापदण्ड विपरीत छन् ।


२०७२ जेठ २८ गते सञ्चालन गरिएको सेन्ट्रल अस्पतालका बिरामीलाई इमरजेन्सीसम्म पुर्‍याउने भर्‍याङ समेत गतिलो छैन । नहरको डिलमा बनाइएको घरको भर्‍याङ चढ्न निकै कठिन छ । १५ शय्याको अस्पतालको सानो कोठामा खचामखच बेड राखिएको छ । एउटा बिरामी बाहिर निस्कन परे निकै कष्ट हुन्छ । नहरको डिल भएकाले अस्पताल वरपर निकै फोहोर देखिन्थ्यो ।


अस्पतालमा विरामीले सवारी पार्किङदेखि उपचारमा दैनिक सास्ती खेप्नुपर्ने बाध्यता छ । घर भाडामा लिएर अस्पताल खोल्न यहाँ पछिल्लो समय प्रतिस्पर्धा नै चलेको छ । त्यस्ता अस्पतालमा फराकिलो ठाउँको अभाव छ । यस्तै गरुडा बजारमा आधा दर्जन अस्पतालहरू मापदण्ड विपरीतका छन् । शिवनगर र चन्द्रनिगहपुरमा यस्तै समस्या छ ।


स्थानीय तहले यसेको नवीकरण, अनुगमनको जिम्मा पाएपछि झनै भद्रगोल भएको छ । स्थानीय तहले अहिलेसम्म अनुगनम गरेको छैन । चन्द्रनिगाहपुरको मुख्य चोकमा रहेको एपोलो अस्पतालमा पार्किङ नै छैन । राजमार्गमै एमबुलेन्सहरू रोकेर राख्नुपर्ने बाध्यता छ । राजमार्गमा जथाभावी एम्बुलेन्स रोकेको भन्दै ट्राफिकले पटकपटक हटाउँदै आएको छ ।


जिल्लामा नर्सिङ होम, पोली क्लिनिक, क्लिनिक, ५, १०, १५ र २५ शय्याको गरी २४ वटा अस्पतालहरू दर्तामा रहेको जिल्ला जनस्वास्थ्यका प्रमुख डा.कृष्ण साहले बताए । ‘अस्पतालसम्बन्धी बनेको मापदण्ड विपरीत सञ्चालन गर्न पाइँदैन, ‘उनले भने, ‘अब सबै अधिकार स्थानीय तहमा गएको छ । उसैले हेर्छ ।’


मानवीय सेवाभन्दा पनि मुनाफातिर गएको भन्दै सरोकारवालाले विरोध जनाउँदै आएका छन् । जिल्लाको कटहरिया, बागमती, गरुडा, सदरमुकाम गौर लगायतका क्षेत्रमा सञ्चालनमा रहेका अस्पतालहरू मुनाफाका लागि दर्ता गरिएको पाइएको छ । अस्पतालको अवस्था हेर्दा नाम मात्रको रहेको छ ।


अस्पताल मापदण्डमा धूलो, धूवाँ, ध्वनि, जल तथा जमिन प्रदूषणबाट मुक्त भएको क्षेत्र हुनुपर्ने उल्लेख छ । त्यस्तै अस्पताल रहने क्षेत्र र परिसरमा उपयुक्त सुरक्षाको व्यवस्था हुनुपर्छ । सवारी पार्किङको पर्याप्त व्यवस्था हुनुपर्ने मापदण्डमा बनाइएको छ । तर यहाँका अधिकांश अस्पतालले पूरा गरेका छैनन् ।


प्रमुख जिल्ला अधिकारी किरण थापाले जिल्लाभरिका अस्पतालको अवस्थाकाबारे बुझ्ने बताए । ‘कुन अस्पताल कसरी र मापदण्डअनुसार छ/छैन हेर्छु,’ उनले भने, ‘स्वास्थ्य जस्तो कुरामा खेलवाड गनु हुन्न । यो दुरुस्त र नियमअनुसार हुनुपर्छ ।’ अधिकांश अस्पतालका भवनहरू गतिलो र बलियो छैन । बिरामीको कुरुवादेखि बिरामीलाई खानको समेत समस्या छ । त्यसका लागि क्यान्टिनको व्यवस्था छैन ।


जिल्लामा खुलेका अधिकांश निजी अस्पतालको आफ्नो छुट्टै भवन छैन । साँघुरा घरमा जबरजस्ती अस्पताल चलाइएको छ । यस्तोमा अचानक आइपर्ने प्राकृतिक विपतमा बढी जोखिम हुन्छ । यस्ता अस्पतालमा तत्काल केही हुँदा निस्किने ठाउँ हुंँदैन । अधिकांश अस्पतालमा दक्ष चिकित्कस छैनन् । एमबीबीएसकै भरमा अस्पताल चलाइएको छ । अस्पताल खोल्न प्रतिस्पर्धा गर्नेले विरामीको सेवा सुविधामा ध्यान दिँदैनन् । सरकारी अस्पतालमा समयमै विरामीले सेवा नपाउँदा निजीमा जानुपर्ने बाध्यता छ ।


सरकारी अस्पतालले विरामीअनुसार आफ्नो क्षमता बढाउन नसक्दा घर भाडामा लिएर निजी अस्पताल खुल्ने क्रम बढेको हो । खुला ठाउँ भएका अस्पताल कम छन् । सडक छेउमा खोलिएका अस्पतालले जोखिम निम्ताइरहेको छ ।


खुला ठाउँमा अस्पताल सञ्चालन गर्न सकिए केही पर्दा सजिलो हुन्छ । भाडामा लिइएका अधिकांश घरमा भूकम्पप्रतिरोध छैन । मापदण्ड विपरीत सञ्चालनमा रहेका अधिकांश अस्पतालको जिल्ला जनस्वास्थ्यबाट सहजै अनुमति पाएका छन् ।

प्रकाशित : चैत्र ३, २०७५ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?