२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

कठ्ठामा ६० क्विन्टल उखु

देवनारायण साह

मोरङ — सुनसरीको देवानगन्ज २ का सबुल अन्सारी कठ्ठामा ६० क्विन्टल उखु उत्पादन गर्न सफल भएका छन् । अन्सारीले लगाएको ४ बिघा उखुमध्ये २ बिघामा सिओ ०२३८ र २ बिघामा सिओएस ८८२३० प्रजातिको उन्नत जातको उखु लगाएको बताए ।

‘सिओ ०२३८ प्रतिकठ्ठा ६० क्विन्टलका दरले उत्पादन भयो,’ उनले भने, ‘सिओएस ८८२३० प्रजाति प्रतिकठ्ठा ४५ क्विन्टलको दरले उत्पादन भयो ।’ एउटै कित्ताको खेतमा दुबै प्रजाति लगाएको तर जातअनुसार उत्पादन फरक आएको अन्सारीले सुनाए । सिओ ०२३८ प्रजातिको उखु मोटो र लामो भएको प्रतिकठ्ठा ६० क्विन्टल उत्पादन भएको तर सिओएस ८८२३० प्रजातिको उखु अलिकति कम मोटो भएकाले प्रतिकठ्ठा १० क्विन्टल कम उत्पादन भएको उनको भनाइ थियो ।


‘प्रतिकठ्ठा ६ हजार २ सय ५० रुपैयाँका दरले दुबै प्रजातिको उखुमा लागत लगाएको थिएँ,’ उनले भने, ‘४ विघा उखु खेतीमा कुल ५ लाख लागत लगाएको थिएँ ।’ उनले चारै विघा उखुमा सुरुमा अन्तरबालीसमेत लगाएको सुनाए ।


‘अन्तरबालीले प्रति विघा खर्च कटाएर १ लाख ५० हजारका दरले आम्दानी भएको थियो,’ उनले भने, ‘४ बिघा उखु खेतीमा लागत ५ लाख तर अन्तरबालीले नै ६ लाख आम्दानी लिइसकेकाले उखुको आम्दानी पनि शतप्रतिशत मुनाफा नै भएको छ ।’


अन्सारीले उत्पादन गरको उखु सुनसरीको बर्जु गाउँपालिका ५ स्थित इस्टर्न सुगर मिल्समा बिक्री गरेको बताए । उनले प्रतिक्विन्टल उखुको मूल्य ४ सय ४१ रुपैयाँ २८ पैसा मिल्सबाट र ६५ रुपैयाँ २८ पैसा सरकारबाट गरी कुल ५ सय ६ रुपैयाँ ५६ पैसाको दरले बिक्री गरेको बताए ।


अन्सारीले उखु बिक्री गरेर यस वर्ष २१ लख २७ हजार ५ सय ५२ र उखु खेतीको लागत कटाएर अन्तरबालीबाट १ लाख गरी २२ लाख २७ हजार ५ सय ५२ रुपैयाँ ४ विघामा आम्दानी गरेको हो । उनले उन्नत जातको उखुसँगै राजमा, गोलभेडा, आलु, काउली र गाजर अन्तरबाली लगाउने गरेको सुनाए । ‘आफनो ७/८ कठ्ठा जग्गासहित प्रतिविघा ४० र ५० हजारका दरले भाडामा १४ बिघा जग्गा लिएर व्यावसायिक खेती गर्दै आएको छु,’ उनले भने, ‘पराम्परागत शैलीलाई छोडरे नयाँ प्रविधि अपनाएपछि खेतीमा फाइदा बढेको छ ।’


ड्याङ बनाएर पाँच फिटको चौडाइको बीचमा उन्नत जातको उखु लगाएपछि समयअनुकूल मल, पानी हालेर गोडमेल गरेको अन्सारीले बताए । उखुको लाइन छोडेर बीचमा अन्तरबाली लगाउने गरेको उनले सुनाए । यस्तै,हरिनगर गाउँपालिकास्थित गौतमपुरका कृषक अरबिन्द मेहताले तीन विघामा लगाएको उन्नत जातको उखु प्रतिकठ्ठा ४५ क्विन्टलका दरले उत्पादन भएको बताए ।


यस्तै, देवानगन्ज ५ साहेवगन्जका कृषक सुबोध यादवले १ विघामा लगाएको उन्नत जातको उखु प्रतिकठ्ठा ६० क्विन्टलका दरले उत्पादन भएको बताए । उनले उन्नत जातको बिउ रोपेर आधुनिक तरिकाले खेती गरेपछि आम्दानी राम्रो हुने गरेको बताए ।


‘यहाँका कृषकले अहिलेसम्म परम्परागत तरिकाले खेती गर्दै आएकाले उभो लाग्न सकेको छैन,’ उनले भने, ‘खेतीबाट बढीभन्दा बढी आम्दानी लिन उन्नत जातको बीउ र आधुनिक प्रविधि अपनाएर समयमा मल, पानी र गोडमेल गरेपछि सोचेभन्दा राम्रो खेतीबाट आम्दानी हुन्छ भन्ने प्रसस्त उदाहरण हेर्न सकिन्छ ।’ पछिल्लो समय सुनसरी र मोरङका कृषकले आधुनिक प्रविधिले उन्नत जातका उखुको बीउ रोपेर मनग्यै आम्दानी गर्न थालेका छन् । मेहताले उखु खेतीबाट बढीभन्दा बढी आम्दानी लिन वर्षायममा पानी नजम्ने खेतमा सिओ ०२३८, सिओजे ८५,सिओएस ८८२३०, सिओजे ६४ र सिओएसई ९८२३१ प्रजातिको उखु लगाउनुपर्ने बताए ।


‘सिओ ०२३८, सिओजे ८५,सिओएस ८८२३० प्रजाति प्रतिकठ्ठा ६० क्विन्टलसम्म र अन्य प्रजाति प्रतिकठ्ठा ४०/४५ क्विन्टलका दरले उत्पादन हुन्छ,’ उनले भने, ‘पानी जम्ने खेतमा प्रतिकठ्ठा ३० क्विन्टलसम्म उत्पादन हुने यूपी ९५३०, बिओ ९१ र बिओ १३९ प्रजातिको उखु लगाउनुपर्छ ।’ उखु खेतीमा प्रतिकठ्ठा अधिकतम ७ हजारमात्रै लागत लाग्ने गरेकोले बढी फाइदा हुँदा कृषकहरूलाई यो खेती गर्न सुझाब दिए ।


इस्टर्न सुगर मिल्सका उखु विभाग प्रमुख सुरेशप्रसाद मेहताले अन्सारी, मेहता, यादवलगायत धेरै कृषकले प्रतिकठ्ठा ६० क्विन्टलको उखु उत्पादन गरेर मिलमा बिक्री गरेको बताए । यसरी आधुनिक प्रविधिले उन्नत जातको बीउ लगाएर खेती गर्ने कृषकलाई कहिल्यै पनि रुने दिन नआउने उनको भनाइ थियो ।


‘यस वर्षदेखि मिल्सले समयमा उखुको भुक्तानी पनि दिन थालेकाले उखु खेतीबाट कृषकले मनग्ये आम्दानी गर्न थालेका छन्,’ उनले भने, ‘त्यसैले अब कृषकले आधुनिक तरिकाले उन्नत जातको उखु उत्पादन गरेर आम्दानी लिनुका साथै उद्योगलाई पनि उखु आपूर्ति गरेर चिनी उत्पादनमा सघाएपछि देशको अर्थतन्त्रमा सुधार आउँछ ।’


‘मोरङ र सुनसरी २ जिल्लाका २ हजार १ सय कृषकले गत वर्ष मिल्सलाई ११ लाख ७८ हजार क्विन्टल उखु बिक्री गरेका थियौं,’ उनले भने, ‘यस वर्ष २ हजार ४ सय कृषकले गरेको उखु खेतीबाट करिब साढे १४ लाख क्विन्टल उत्पादन हुने भएको छ ।’

प्रकाशित : चैत्र ४, २०७५ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?