१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

लाइसेन्सबिनै कुँद्छन् ई–रिक्सा 

करिब ३ हजार ई–रिक्सा तथा टेम्पोमध्ये १ सय ५० सँग मात्र सवारी चालक इजाजतपत्र
श‌ंकर आचार्य

पर्सा — वीरगन्ज महानगरमा चल्ने अधिकांश ई–रिक्सा तथा टेम्पोका चालकले सवारी चालक इजाजतपत्रबिनै यी सवारी चलाइरहेका छन् । महानगरको सडकमा हाल गुड्ने करिब ३ हजार ई–रिक्सा तथा टेम्पोका सवारी चालकमध्ये करिव १ सय ५० सँग मात्र सवारी चालक इजाजतपत्र छ ।

लाइसेन्सबिनै कुँद्छन् ई–रिक्सा 

अन्यले बिनाइजाजतकै सवारी चलाइरहेका छन् । पाच वर्षयता महानगरको सडकमा अत्यधिक संख्यामा यी सवारी साधन थपिँदै गएका छन् ।


पछिल्लो समय महानगरको सडकले भार थाम्नै नसक्ने गरी यी सवारीको संख्या बढेपछि महानगरपालिकाको कार्यालयले हालै यातायात व्यवस्था कार्यालय नारायणीलाई पत्राचार गरी ई–रिक्सा र टेम्पोको दर्ता बन्द गर्न आग्रह गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख ट्राफिक प्रहरी निरीक्षक राजकुमार सिंह बताउँछन् ।


यस्ता सवारीलाई विगतमा यातायात व्यवस्था कार्यालयले रूट निर्धारण गर्थ्यो । हाल यो अधिकार मनपाको कार्यालयमा प्रत्यायोजन भएको छ । तर मनपाको कार्यालयले यस सम्बन्धमा कुनै गृहकार्य गर्न सकेको छैन ।


व्यवस्थित वीरगन्ज अभियानले दसैंअघि विभिन्न रूट निर्धारण गरेकोमा त्यसै आधारमा हालसम्म ई–रिक्सा तथा टेम्पो बिभिन्न रूटमा चलेका छन् । यी सवारी चालकले सर्वाधिक रूचाउने रूट घन्टाघरदेखि मितेरी पुल रूट हो । यात्रुको अत्यधिक चाप हुने यो रूट यी सवारीले बढी प्रयोग गर्दा महानगरको मुख्य सडक तथा मकालु चोकदेखि पान गल्लीसम्मको सडक समेत अस्तव्यस्त हुने गरेको छ । यस बाहेक वीरगन्जदेखि पोखरिया रूटमा चल्ने यस्ता सवारी अत्यधिक तीव्र गतिमा चल्ने गरेकाले यात्रु र चालक दुबैको ज्यान जोखिममा रहने गरेको छ ।


यी सवारीका चालकहरूलाई लाइसेन्स दिन यातायात व्यवस्था कार्यालय नारायणीले हालै सि १ समूहको सवारी चालक इजाजतको दरखास्त आहान गरेकोमा मुश्किलले आधा दर्जन चालक परीक्षामा सामेल भएको प्रनि सिंह बताउँछन् ।


सवारी चालकलाई नियमन गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय एक्लैले नसक्ने भएकाले यसमा महानगरपालिकाको कार्यालय र यातायात व्यवस्था कार्यालयको समेत समन्वय आवश्यक रहेको उनले बताए । त्यसैगरी, ई–रिक्सा तथा टेम्पोबाट सिर्जित ट्राफिक जामको समस्या पनि साझा प्रयासबाट मात्रै समाधान हुने उनको भनाई छ । इरिक्सा टेम्पो चालकहरूमध्ये कतिपय नाबालक हुन्छन् । धेरैलाई ट्राफिक नियमको सामान्य जानकरी समेत नहुदा उनीहरूबाट दुर्घटनाको जोखिम बढी हुन्छ ।


२०७२ सालको लामो मधेस बन्दहडतालका क्रममा मधेसका सडकमा अन्य सवारी साधन नचलेको अवस्थामा सर्वाधिक इरिक्सानै गुडेका थिए । वीरगन्जदेखि सिमरासम्म समेत यस्ता रिक्सा चलेका थिए । त्यसपछि महानगरमा ह्वात्तै यस्तो रिक्सा बढ्यो । यो रिक्साले नगरबाट पुरानो प्याडल रिक्सालाई करिब विस्थापित नै गरी सकेको छ । तर यही रिक्सा र टेम्पो भने महानगरको सडकमा भीड बढाउँदै छन् ।


हाल महानगरमा माक्रै आधा दर्जन इरिक्सा चालकको संघहरू सत्रिय छन् । तर इरिक्सा र टेम्पोबाट सिर्जित समस्या समाधानका लागि कुनै संघ गम्भीर भने छैनन् । नेपाल ई–रिक्सा सञ्चालक प्रालिका अध्यक्ष अमजद अन्सारी भने धेरै चालकहरू शिक्षित नहुँदा उनीहरू सवारी चालक इजाजत पत्रको परीक्षामा समावेश हुन समस्या भएको बताउँछन् ।

प्रकाशित : चैत्र ४, २०७५ १२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?