कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

कार्यालय सहयोगीले जाँच्छन् बिरामी

सन्तोष सिंह

धनुषा — धनुषा, सहिद नगरपालिकास्थित आयुर्वेद औषधालय यदुकहामा शुक्रबार स्थानीय टेकन दासले ७० वर्षीया श्रीमती समुन्द्री देवीलाई उपचारका लागि ल्याए । अस्पतालमा आउँदा कार्यालय सहयोगी फेकु महतोले ७० वर्षीया समुन्द्रीको रक्त चाप जाँच्दै पेटमा ग्यास भएकाले औषधि लेखिदिए । बिरामीका आफन्तलाई महतोले बजरबाट औषधि खरिद गर्न लगाए । 

औषधि सेवन गरेको ४/५ घण्टामा समेत समुन्द्रीको स्वास्थ्यमा सुधार नभएपछि आयुर्वेद औषधालयबाटै पनि महतोले औषधि दिए । आयुर्वेद औषधालय यदुकहामा चिकित्सक छैन । तर, ओपीडी सेवा सञ्चालन भएको छ । कार्यालय सहयोगी चिकित्सको काम गरेको पाइयो । सहिद नगरपालिका वडा नं.६ का वडा अध्यक्ष रामेकवाल मण्डलको रक्तचाप पनि कार्यलय सहयोगी महतोले जाँचे । औषधालयमा चिकित्सक नबसेको बारे जानकारी नभएको वडा अध्यक्ष मण्डलले बताए ।


कार्यालय प्रमुख कबिराज रामछविला यादव काजमा स्वास्थ्य मन्त्रलाय गएपछि आयुर्वेद औषधालयमा कार्यालय सहयोगीले विरामीको उपचार गरेको पाइएको छ । आयुर्वेद औषधालय यदुकहामा कार्यरत कविराज रामछविला यादव मधेसी स्वास्थ्यकर्मी फोरमका केन्द्रीय उपाध्यक्ष हुन् ।


स्वास्थ्यकर्मी संगठनमा लागेको हुनाले साउनयता यादव काजमा स्वास्थ्य मन्त्रलायमा हाजरी गरेर सहिद नगरपालिकाबाट तलब बुझ्दै छन् । आयुर्वेद औषधालयबाट तलब बुझ्ने यादव स्वास्थ्य राज्यमन्क्री सुरेन्द्र यादवको निर्वाचन क्षेत्रको गतिविधिमा त्रियाशील छन् । मन्त्रीको निर्वाचन क्षेत्र महोत्तरीको सोनमामा बिरामीको तथ्याङ्क संकलन गर्न खटेका कारण जनकपुरमै बस्दै आएको यादवले बताए ।


सहिद नगरपालिकाका मेयर उदय बरबरीयाले आयुर्वेद औषधालयका प्रमुख यादवलाई फिर्ता पठाउन पत्रचार गरे पनि फिर्ता नआउँदा उपचारमा समस्या भएको बताए । अस्पतालको यदुकहामै नगरपालिका कार्यालय रहे पनि आयुर्वेद औषधालयको बेथितिबारे मेयर बरबरिया अनविज्ञता जनाए ।


आयुर्वेद औषधालयमा चिकित्सक छैनन् । तीन जना कार्यालय सहयोगी मात्रै छन् । स्वास्थ्य मन्त्रालयले चिकित्सक नै नभएको आयुर्वेद औषधालयमा नयाँ कार्यालय सहयोगीक रैजना रायलाई नियुक्त गरेका छन् । यसअघि यहाँ फेकु महतो र बमशंकर ठाकुर कार्यालय सहयोगी कार्यरत थिए । औषधालयमा औषधि, चिकित्सकको अभाव छ ।


यदुकाहा जस्तै जनकपुरस्थित अञ्चल आयुर्वेद औषधालयको अवस्था छ । जनकपुरको मुजेलियास्थित रहेको औषधि अभाव छ । प्रचारप्रसार अभावमा आयुर्वेद औषधलयमा बिरामी पुग्न सकेको छैन । कार्यालय स्थपना गरी चिकित्सक खटाएर नियमित बजेट आए पनि आयुर्वेद औषधालय प्रयोगविहीनको अवस्थामा पुगेको छ ।

प्रकाशित : चैत्र ५, २०७५ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?