कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

दोहोर्‍याएको कालोपत्र पनि उप्कियो

ओमप्रकाश ठाकुर

सर्लाही — पूर्व–पश्चिम राजमार्गको हरिवनदेखि कौडेना जोड्ने सडकमा केही महिनाअघि गरिएको कालोपत्रे उप्केको छ । उप्केको ठाउँमा ठेकेदारले पुनः कालोपत्रे गर्न थालेको छ । 

दोहोर्‍याएको कालोपत्र पनि उप्कियो

ठेक्का पाएको पप्पु कन्स्ट्रक्सनले एकातिर कालोपत्रेको काम गरिरहँदा अर्कोतिर उप्किन थालेको समाचार कान्तिपुर दैनिकमा प्रकाशित भएपछि उप्किएको ठाउँमा पुनः कालोपत्रेको काम अघि बढाएको हो ।


समयमा काम नसकेर पटकपटक म्याद थप गरेर काम गरिरहेको पप्पुको कालोपत्रेको गुणस्तर कमजोर भएको समाचार एक साताअघि प्रकाशित भएको थियो । समाचार प्रकाशनमा आए लगतै प्राविधिक खटाएर कालोपत्रे भत्केको कारण पत्ता लगाई पुनः कालोपत्रेको काम अघि बढाएको हो । ३० किलोमिटरको सडकमा कालोपत्रेको काम पूरा हुन नपाउँदै भएको कालोपत्रे दर्जनभन्दा बढी ठाउँमा भत्किसकेको छ । भत्केको ठाउँमा ठेकेदारले पुनः कालोपत्रे गर्न थालेको छ ।


हरिवन–कौडेना सडक कालोपत्रे गर्न पप्पुले २०७५ जेठ ६ मा काम सक्ने गरी ०७३ बैशाख २२ मा निर्माण सुरु गरेको थियो । ३० किलोमिटर रहेको सडकमा करिव १५ किलोमिटर मात्र कालोपत्रे भएको छ । कालोपत्रे गरेर हस्तान्तरण समेत नभएको सडक भत्किँदा स्थानीयले चिन्ता ब्यक्त गरेका छन् ।


पप्पुले ठेक्का लिएको काम समयमा सम्पन्न गर्न त परै जाओस् गुणस्तर पनि निकै कमजोर रहेको स्थानीयको भनाइ छ । यसलाई नियमन गर्ने निकाय पनि मौन बसेको उनीहरूको आरोप छ । ‘यो सडकको कालोपत्रेको गुणस्तर निकै कमजोर छ, भएको कालोपत्रे पनि महिना दिन नबित्दै भत्किन थालेको छ,’ कविलासी नगरपालिका–१, पिपरियाका जोगेन्द्र ठाकुरले भने, ‘तपाईले समाचार प्रकाशन गरेपछि ठेकेदार पुनः कालो पत्रे गर्न थालेको छ, नभए नियमन गर्ने निकाय त मौन नै बसेको छ ।’ पूर्व–पश्चिम राजमार्गदेखि हुलाकी सडक जोड्ने सवभन्दा छोटो यो सडक विश्व बैंकको सहयोगमा बनिरहेको छ ।


यो सडक नियमन गर्ने पूर्वाधार विकास कार्यालयले ठेकेदारले गरेको कालोपत्रे ओटासिल प्रविधि भएका कारण त्यसकै गुणस्तरमा काम भइरहेको दाबी गरेको छ । यो सडकअन्तर्गत जानकीनगरमा चिम्टाइलो माटोको कारण कालोपत्रे भत्केको कार्यालयको अनुमान छ ।


‘सडकमा ओटासिल प्रविधिको गुणस्तरमा कालोपत्रे भइरहेको छ, भत्केको ठाउँमा ठेकेदारले बनाउँछ,’ पूर्वाधार विकास सम्पर्क इकाई कार्यालय मलंगवाका साइट इन्जिनियर अरुण महतोले भने, ‘यो सडक पूर्ण रूपमा बनेर हस्तान्तरण भइसकेपछि १३ महिना भित्रमा सडक भत्के ठेकेदारलेनै बनाउने प्रावधान छ, चिम्टाइलो माटोको कारण पनि केही ठाउँमा कालोपत्रे भत्केको छ ।’


समयमा सडकको काम सम्पन्न नगरेका पप्पु कन्स्ट्रक्सनले दुई पटक म्याद थप गराइसकेको छ । दोस्रो पटक थपिएको म्याद २०७६ जेठमा सकिँदैछ तर काम भने सम्पन्न हुन सकेको छैन । दोस्रो पटकको म्याद सक्न तीन महिना मात्र बाँकी हुँदा पनि करिव ७० प्रतिशत मात्र काम सकेको छ ।


सडकको लागत अनुमानको २२ प्रतिशत तल गएर पप्पुले १७ करोड ९२ लाखमा ठेक्का सकारेको थियो । समयमा काम सम्पन्न हुन नसक्दा सर्वसाधारण हिउँदमा धूलो र वर्षामा हिलोले सास्ती खेप्न बाध्य छन् । भने कालोपत्रे भत्केको ठाउँमा सवारी दुर्घटनाको सम्भावना उच्च छ ।

प्रकाशित : चैत्र ५, २०७५ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?