कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

होली छायो तराईमा

प्रभातफेरि निकालेर नजिकिएको होली पर्वलाई सभ्य र मर्यादित बनाउने सन्देश दिइएको छ
पवन यादव

सिमरा — तराई–मधेसको बारा, पर्सा, रौतहट, सर्लाही लगायत प्रदेश २ मै अहिले फागुपर्वको रौनक छाएको छ । यहाँ रहेका अधिकांश पसलमा राखिएका म्युजिक बक्समा होलीका गीत घन्किरहेका छन् । पसलको म्युजिक बक्समा मात्र होइन स्थानीय रेडियोमा पनि होलीको भोजपुरी फिल्मी तथा हालै रिलिज भएको अश्लील गीत घन्किरहेका छन् ।

होली छायो तराईमा

होलीका लागि किनमेल गर्न गाउँगाउँबाट आएका उपभोक्ताबाट बारा सदरमुकाम कलैया लगायत जिल्लाको सहरी क्षेत्र जितपुर, सिमरा, निजगढ, प्रसौनी लगायत ग्रामीण भेकको बजार भरिभराउ छ ।


होलीमा प्रयोग हुने रंग, अविर, नरिवल, बदाम, चिनी, खाने तेल, रेडीमेन्ट होलीको कुर्ता, पाइजामा लगायतका मालसामान खरिद गर्न उपभोक्ता बजारमा ओइरिएका छन् ।


होलीको किनमेल गर्न बाराको दोहोरीबाट पन्नालाल मण्डल कलैया बजारमा आइपुगेका थिए । उनले होलीको सामग्री खरिद गर्न १५ हजारभन्दा बढी खर्चेको बताए ।


‘पहिलाको तुलनमा होली विस्तारै महँगो र असभ्य बन्दै गएको छ,’ उनले भने, ‘होलीको परम्पराग शैली पनि अहिले फेरिएको छ ।’ सरस्वती पूजा सकिएसँगै तराईमा होलीको रौनक सुरु हुन्थ्यो । तर अहिले होलीको ३ दिन अगाडि मात्र अलिअलि चहलपहल देखिएको उनले बताए ।


अहिलेको होली माछामासु र मदिरामा सीमित भएको उनले आफ्नो अनुभव सुनाए । पहिला झन्डै एक महिनासम्म स्थानीय भाषामा फागुगीत बुढापाकाले गाउने गर्थे । अहिले परम्परागत गीत लोप हुने अवस्थामा पुगेको छ । परम्परागत भोजपुरी भाषामा गाइने होलीका गीत गाउने स्थानीय कलाकर्मीको अभाव देखिएको ‘ईहे जगहिया के ब्रम्हा हो, ब्रम्हा नाहियो ना जाने गोहार हो......’ जस्ता परम्परागत गीत बुढापाकाले गाउने गर्थे । तर परम्परागत गीत र होलीमा बजाउने डम्फु, झाल, ढोलक लगायतका गाजान उपकरण सिप तथा होली मनाउने शैली नयाँ पुस्तामा नसारिदा अहिले यो शैली लोपउन्मुख अवस्थामा पुगेको महागढीमाई नगरपालिका ९ पिपराविर्ता निवासी शिक्षक पन्नालाल दासले बताए ।


‘पहिला घरघरमा घुमेर गीत गाउने गर्थे,’ उनले भने, ‘त्यसले गाउँघरमा प्रेम र भाइचारा कायम राखेको थियो ।’ परम्रागत शैलीलाई नयाँ पुस्ताले बिर्सन थालेपछि फागुको रौनकतामा कमी आएको उनले जानकारी दिए ।


डोल (बाल्टिन) मा पहिला गाउँघरमा भाउजू लोग्नेलाई घरघरमै रंग अबिर लाउने गर्थ्यौं । खुब रमाइलो हुन्थ्यो । तर अहिले त्यसरी रंग लगाउन गए झगडा हुने अवस्था आउँछ । अब पहिलाको अवस्था नरहेको उनले बताए । यसपालिको होलीमा झन्डै २५ हजार खर्च गर्ने अवस्था आएको उनले जानकारी दिए ।


बारा गढीमाई गाउँपालिका ६ हेंगौलियाका रुपनारायण पासवानले पनि लोप हुँदै गएको परम्परागत लोकगीतको जगेर्णा गर्न पर्नेमा जोड दिए । ‘होली प्रेम सदभावको पर्व हो,’ उनले भने, ‘तर अहिलेको होलीले प्रेम सदभावलाई कायम राख्न सकेको छैन ।’ होलीका कारण समाजमा फैलिन थालेको विकृति, वितृष्णाले परम्परागत लोकगीत जोगाउन चुनौती थपिएको उनले जानकारी दिए ।


होलीका लागि सुकेको बाँसमा सम्हत (परालले बनाइएको होलीका र प्रह्लादको पुत्ला) झुन्ड्याएर सरस्वती पूजाको दिन गाउँ बाहिर गाडिन्छ । गाडिएको सम्हतमा दैनिक साँझको बेला सुकेको पातपतिंगर, पराल आदि राख्ने गरिन्छ । उक्त सम्हतमा जम्मा भएको पात पतिंगरको कुनिउलाई होलीको एक दिन अगाडि धार्मिक विधिअनुसार बाल्ने चलन छ । सम्हत बालेका बेलादेखि विधिवत रंग अविरको पर्व होली सुरु हुने गरेको उनले जानकारी दिए ।


होलीलाई लक्षित गरी कलैया उपमहानगरपालिकाभित्र मात्र ५ सयभन्दा बढी खसीको मासु प्रयोजनका लागि भित्र्याइएको माछामासु व्यवसायी संघ बाराका अध्यक्ष शेष भोला मियाँले बताए ।


‘यसपालि होलीलाई ४० वटा खसी ल्याएको छु,’ उनले भने, ‘आफूजस्तै धेरथोर गरेर यहाँका सबै मासु पसलेले खसी ल्याएका छन ।’ कलैया बाजारमा मात्र १५ वटा मासु व्यवसायी छन् । यसपालि मागअनुसार खसी उपलब्ध हुन नसकेको उनले जानकारी दिए । खसीको अभाव सृजना भएको उनले बताए । यस वर्ष साढे ७ सय रुपैयाँमा प्रतिकिलो बिक्री हुँदै आएको खसीको मासु होलीको ३ दिनसम्म प्रतिकिलो ८ सय रुपैयाँमा बिक्री गर्न मूल्य कायम गरिएको उनले जानकारी दिए । होली मान्न बाहिरी सहरमा कमाउन गएका युवा तथा जागिरेहरू अहिले गाउँ फर्किन थालेका छन् । अहिले गाउँमा चहलपहल पनि बढ्दै गएको स्थानीयले बताएका छन् ।


अहिले यहाँका सहरी क्षेत्रमा विभिन्न संघसंस्थाले होली मिलन कार्यक्रम गर्न थालेका छन् । गोपाल सेवा समिति बाराले पनि सोमबार कलैयास्थित समितिको कार्यालय परिसरमा होली मिलन समारोहको आयोजना गर्‍यो । होली मिलन समारोहमा गोपाल सेवा समितिका अध्यक्ष जंगबहादुर यादव, कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादव लगायतले एक अर्कालाई रंग अविर लगाएर होली मिलन कार्यक्रम गरेका थिए ।

प्रकाशित : चैत्र ५, २०७५ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?