कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

सुरु भयो फागु महोत्सव

श्यामसुन्दर शशि

जनकपुर — मिथिला नाट्यकला परिषद्ले २५ वर्षदेखि आयोजना गर्दै आएको दुई दिवसीय फागु महोत्सव हास्यमय रंगारंग कार्यक्रम सहित मंगलबारदेखि सुरु भएको छ  । मुख्यमन्त्री लालबाबु राउतसहितका सहभागीहरूले डम्फा बजाएर महोत्सवको उद्घाटन गरे  ।

सुरु भयो फागु महोत्सव

महोत्सवको पहिलो दिन प्रतियोगात्मक फागु गीत गरिएको थियो, जसमा धनुषाको जमुनीवास समूह प्रथम, सप्तरी राजविराज समूह दोस्रो तथा धनुषाको हरिपुर समूह तेस्रो भए । प्रथमलाई ६ तोला, दोस्रोलाई ४ तोला र तेस्रोलाई ३ तोला चाँदीको शिल्ड तथा प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा धनुषाको गिद्धा वेलापटी, धनुषाधाम मंगलपुर तथा महोत्तरीको पिपरा र वेला गाउँको समूह सहभागी थिए । अन्य सहभागीलाई पनि एक तोलाको तक्मा तथा प्रमाणपत्र प्रदान गरिएको थियो । फागु गीत गायन प्रतियोगितामा सहभागी ७५ वर्षमाथिका गवैया बजनिया (गाउने बजाउने) हरूलाई विशेष सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेहरूमा पिपरा महोत्तरीका पण्डित मिश्र, हरिपुरका जोगिन्दर महतो, महोत्तरी वेलाका देवशरण राउत तथा जमुनीवासका तनुकलाल दास हुन् ।

मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको कला संस्कृतिमा मिनापले गरेको योगदानको सराहना गर्दै प्रदेश सरकार साहित्य,कला,संस्कृतिको संरक्षण संवर्द्धनमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । ग्रामीण इलाकामा लोप हुने अवस्थामा पुगेका फागु गीत गायन परम्परालाई संरक्षण गर्न हातेमालो गरेर अघि बढ्न उनले आह्वान समेत गरेका थिए । यसैगरी प्रदेश सभा सदस्य रामसरोज यादवले मिथिलाको लोकगीत, लोकनृत्य, लोक साहित्य विश्व प्रसिद्ध भएको उल्लेख गर्दै यसलाई संरक्षण संवर्द्धन गर्नुपर्ने बताए । कार्यक्रमलाई सम्बोधन गर्दे प्रदेश सभा सदस्य परमेश्वर साहले मुलुक संघीय संरचनामा गए यता स्थानीय भाषा, साहित्य, कला, संस्कृतिको विकासमा टेवा पुग्ने बताए ।

कामेश्वर मल्लिकको संयोजकत्वमा साहित्यकार हिमांशु चौधरी र अशोक दत्त सहितको निर्णायक समितिले सहभागी तथा विजयी समूहहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए । मिथिलाञ्चलमा लोप हुन थालेको फागु गीत तथा जोगिरा गायन परम्परालाई संरक्षण गर्न मिनाप २ि५ वर्षदेखि फागु महोत्सवको आयोजन गर्दै आएको छ । एक दशक अघिसम्म एक दिवसीय फागु महोत्सवको आयोजन हुन्थ्यो । मिनापका अध्यक्ष परमेश झाका अनुसार महोत्सवको लोकप्रियता बढ्न थालेपछि एक फागु गीत र महामूर्ख सम्मेलन फरकफरक दिन आयोजन गर्न लागिएको हो ।‘ मिनाप मैथिली भाषा,साहित्य,कला,संस्कृतिको संरक्षण संवर्द्धनमा लागेको संस्था हो । समाजमा फागु गीत गायन परम्परालाई जोगाउन फागु पूर्वअध्यक्ष सुनि मल्लिकले भने । महोत्सवको दोस्रो दिन बुधबार जानकी मन्दिर प्रांगणमा निर्मित यसै मञ्चमा महामूर्ख सम्मेलन आयोजन गरिने कार्यक्रम संयोजक विष्णुकान्त मिश्रले जानकारी दिए । महामूर्ख सम्मेलनमा समाजका अगुवाहरूमध्ये एक जनालाई महामूर्ख तथा अन्यलाई विभिन्न प्रकारका मान पदवी प्रदान गरेर सम्मानित गरिन्छ । यसका साथै हास्य नाटक, कवि गोष्ठी तथा फागु गीतको आयोजन पनि गरिन्छ ।

प्रकाशित : चैत्र ६, २०७५ १२:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?