कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

अतिक्रमण हटाउन नगरपालिका निष्क्रिय

शिव पुरी

रौतहट — चन्द्रपुर नगरपालिकाले मंसिरमा राजमार्गको मुख्य सडक दायाँबायाँको अतिक्रमण हटाउने र बस रोक्ने स्थानलाई व्यवस्थित गर्ने निर्णय गर्‍यो । जिल्ला ट्राफिक, इलाका प्रहरी कार्यालयलगायताका सरोकारवालालाई साक्षी राखेर निर्णय गरिएको थियो ।

कार्यान्वयन अहिलेसम्म भएको छैन । मेयर आफैं निर्णय गर्दै लत्याउँदै भनेर सरोरकावालाले असन्तुष्टि जनाएका छन् । जथाभाबी गाडी रोक्ने र सडक अतिक्रमणले चन्द्रपुरको मुख्य चोक कुरूप बनाएको छ । यसको सर्वक्र विरोध हुँदै आएको छ ।


चोकको दुवै क्षेत्रमा अतित्रमण बढ्दो छ । सडकमै पसल थाप्ने क्रम बढेको छ । जथाभाबी सवारी रोक्न छाडिएको छैन । पुरानो स्थानबाट हटाएर नयाँ पश्चिम क्षेत्रमा बस रोक्ने योजना बनाइए पनि अहिलेसम्म लथालिंग पाराले जहाँ पायो त्यहीं रोक्ने गरिएको छ । यसका बाबजुद नगरपालिकाले अतिक्रमण हटाउने र बस रोक्ने स्थानलाई व्यवस्थित गर्ने भनेर निर्णय गरेको थियो । निर्णय चाँडै नै कार्यान्वयन गर्ने मेयर रामचन्द्र चौधरीले बताए ।


‘सडक नालाको टेण्डर निस्कदै छ । नाला बने पछि दुबै तिरको क्षेत्र हटाउँछौं,’ उनले भने, ‘नाला बनेपछि सबै समस्या समाधान हुन्छ । यस विषयमा पछि कुरा गरुँला ।’ उनले जथाभावी बस रोकेर बजारक्षेत्र कुरुप बनाएको विषयमा केही बोलेनन् । पूर्वपश्चिम राजमार्ग स्थित चन्द्रनिगाहपुरको मुख्य चोकमा सबैको नजर पुग्ने र देशभरिका यात्रुहरू आहोरदोहोर गर्ने हुँदा यसलाई सफा र व्यवस्थित गर्नुपर्ने भनेर मेयर चौधरीलाई सबैले सल्लाह र सुझाव दिएका छन् । तर उनले बेवास्ता गर्दै आएका छन् ।


यहाँ सधैंजसो बिहान सडकमै गाडीको लाइन लाग्छ । अधिकांश गाडी सडकमै रोक्छन् । त्यही बेला इरिक्सार टेम्पो यात्रु बोक्न तँछाडमछाड गर्छन् । यहाँ ईरिक्सा र टेम्पो पनि ट्राफिकको टाउको दुखाइ बनेको छ । बस रोक्ने ठाउँ व्यवस्थित नभएकाले यस्तो समस्या देखा परेको हो । पूर्व जाने गाडी रोक्ने स्थान पनि त्यस्तै छ ।


राजधानीलगायत पश्चिम जाने बसहरूले चोक क्षेत्र अस्तव्यस्त पार्ने गरेको छ । बिहान सवारी व्यवस्थापन गर्न ट्राफिकलाई हम्मेहम्मे पर्छ । उनीहरू कराउँछन् । सम्झाउने गर्छन् तर बस चालकले टेर्दैनन् । ठाउँ नै नभएपछि सडकमा रोक्नुको विकल्प नभएको चालक बताउँछन् ।


नगरपालिकाले चासो नदिँदा समस्या बढेको ट्राफिक प्रहरीको भनाइ छ । ‘कतै व्यवस्थित गरौं भनेका हौं,’ ट्राफिक प्रहरी निरीक्षक विजय श्रेठ भन्छन्, ‘हामी एक्लैले कति गर्नु । गाडी चालकलाई सम्झाउनु र जरिवाना काट्नु बाहेक विकल्प छैन् ।’ ट्राफिकले जतिसुकै कडाइ गरे पनि बसचालक मान्नेवाला छैनन् ।


नो पार्किङको बेवास्ता

पूर्वपश्चिम राजमार्गस्थित चन्द्रनिगाहपुर चोकमा केही समय यता अव्यवस्थित पार्किङ बढेको छ । नगरपालिकाले बस स्ट्यान्ड हटाएर केही पर सार्ने भनिएको थियो तर व्यवस्थित गर्न नसकेपछि सडकलाई बसस्ट्यान्डका रुपमा प्रयोग गरिन थालियो । भनेको स्थानलाई व्यवस्थित गर्न नसक्दा समस्या बढेको हो ।


यहाँ चोकका बिभिन्न स्थानमा जथाभाबी बस, ट्रक रोकेर राख्छन् । बस, ट्रक, ईरिक्सा, जिप व्यस्त सडकमै पार्किङ गर्छन् । ट्राफिकले राखेको नोपार्किङ बोर्डमै लगेर सवारी रोक्छन् । उनीहरू नो पार्किङको बेवास्ता गर्छन् ।


कहिलेकाहीं चालकहरू ट्राफिकसित मुखामुख लाग्छन् । रोक्ने स्थान नभए पछि कहाँ जाने भनेर सबाल जवाफ फर्काउँछन् । चोकबाट पूर्व चाँदी र पश्चिम जंगलटोल जाने बाटोको सडक दाँयाबाँयातर्फ लहरै सवारी पार्किङ गरेर राखिएका हुन्छन् ।


ट्राफिक नियमअनुसार सडकमा सवारीसाधन पार्किङ गर्न पाइँदैन । राष्ट्रिय राजमार्ग भनिएको सडकलाई पार्किङस्थल बनाइएको छ । नियमविपरीत गरिएको पार्किङले सवारीसाधन गुडाउन मात्र होइन, पैदलयात्रुलाई हिंड्न समेत बाधा पुगेको छ ।

प्रकाशित : चैत्र ७, २०७५ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?