कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फर्किर्दै परिक्रमावासी

जनकपुर — मिथिलानगरी जनकपुरको सेरोफेरोमा घुमिने १५ दिने धार्मिक यात्राका सहभागी बुधबार बिहानैदेखि जनकपुर फर्किने क्रम सुरु भएको छ । बिहीबार विहान नगरको अन्तःगृह परिक्रमा गरी यो धार्मिक यात्रा सम्पन्न हुनेछ । 

फर्किर्दै परिक्रमावासी

फागुन २२ गते मध्यधनुषाको कचुरीस्थित मिथिला विहारी मठबाट प्रस्थान गरेका श्रद्धालु नेपाल र भारतका विभिन्न धार्मिक स्थलको परिक्रमा गरी यहाँ आइपुगेका हुन् । सहभागीले १ सय ३३ किलोमिटरको पैदलयात्रा गरेका हुन् ।


मिथिला विहारी मठबाट सुरु भएको मध्यमा परिक्रमा भारतको कलानेश्वर ,फुलहर हुँदै महोत्तरीको मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कंचनवन तथा धनुषाको पर्वता, धनुषाधाम, सतोषर, औरही औरसाहा तथा पुनः भारतको करुणा, विसौल एवं कलानेश्वर हुँदै फागूपूर्णिमाको पूर्वसन्ध्यामा पुनः जनकपुर फर्किएका हुन् । अन्तःगृह परिक्रमाको भोलिपल्ट जनकपुर वरिपरि फागू पर्व मनाउने चलन छ ।


महन्त नवलकिशोर शरणका अनुसार मध्यमा परिक्रमा १ सय ६० वर्षदेखि निरन्तर चल्दै आएको हो । यस धार्मिक यात्रामा साधु सन्तसँगै सर्वसाधारणको संख्या पनि उल्लेख्य छ । नेपालका विभिन्न भागसँगै भारतका विभिन्न प्रान्तबाट हजारौं श्रद्धालु यस धार्मिक यात्रामा सहभागी हुन्छन् ।


मिथिला महात्म्यमा वर्णन भए अनुसार(मिथिलाको परिक्रमा गर्दा मनवाञ्छित फल प्राप्त हुन्छ । महात्म्यमा मिथिलाको परिक्रमा गरेर अनेकौं ऋषिमुनिले मोक्ष प्राप्त गरेको, ज्ञान आर्जन गरेको तथा असाध्य रोगबाट मुक्ति पाएको उल्लेख छ ।


जनकपुरको सेरोफेरोमा घुमिने मध्यमा परिक्रमा यस भेगकै सबभन्दा लामो समयसम्म चल्ने धार्मिक यात्रा हो । परिक्रमावासीहरू नेपालमा १ सय ५ तथा भारतका २८ गरी कुल १ सय ३३ किलोमिटरको यात्रा गरेर यहाँ फर्केका हुन् ।


प्राचीन मिथिलाको राजधानी जनकपुरको चारै कुनामा स्थापना गरिएको चार शिवालय क्रमशः कलानेश्वर, जलेश्वर, क्षीरेश्वर र सप्तेश्वरलाई आधार मानी परिक्रमा गर्ने परम्परा रहेको जानकी मन्दिरका छोटे महन्थ रामरोशनदास वैष्णव भन्छन् ।

प्रकाशित : चैत्र ७, २०७५ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?