रौतहटमा झडप, ३ सुरक्षाकर्मीसहित ९ घाइते

१३ राउण्ड अश्रुग्यास र रबर गोली प्रहार
शिव पुरी

रौतहट — गुजरा नगरपालिका ९ स्थित सिम्राभवानीपुरमा बिहीबार दुई पक्षबीच भएको झडपमा ३ सुरक्षाकर्मीसहित ९ जना घाइते भएका छन् । प्रहरीले घटनामा संलग्न ४ जनालाई नियन्त्रणमा लिएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले १३ राउण्ड अश्रुग्यास र रबरको गोली चलाएको छ ।

रौतहटमा झडप, ३ सुरक्षाकर्मीसहित ९ घाइते

होली पर्वको उपलक्ष्यमा गाउँमा माटोको घैटा (मटकी) फुटाउन राखेको बेला अर्को पक्षले फुटाई दिएपछि झडप भएको हो । झडपलगत्तै ईलाका प्रहरी गरुडाका प्रहरी निरीक्षक अनमोल खड्काको टोली पुगेको थियो । दुबै पक्ष निकै आक्रामक शैलीमा प्रस्तुत हुन थालेपछि प्रहरीले सम्झाउने प्रयास गर्‍यो । केही समूहले प्रहरीमाथि हुलहुज्जत गर्न खोजेपछि ६ राउण्ड रबरको गोली र ७ राउण्ड अश्रुग्यास प्रहार गरिएको जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले बताए । 'माटो फुटाउने भाडोको निहुँमा झडपको स्थिति देखा परेको हो,' उनले भने,'घटनामा केही सुरक्षाकर्मी र स्थानीय घाइते भएका छन् । स्थिति नियन्त्रणमा आइसकेको छ । त्यस क्षेत्र शान्त छ ।'


अप्रिय घटना हुन नदिन चन्द्रनिगाहपुर र गरुडाबाट ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । झडपअघि गुजरा ९ चौधरी टोलका रोहित चौधरीलाई नियन्त्रणमा लिई प्रहरी चौकी सिम्राभवानीपुरमा राखेपछि स्थिति तनाव बनेको थियो । त्यसपछि स्थानीयले प्रहरीमाथि ढुंगामुढा गरेका थिए । त्यसै क्रममा सिम्राभवानीपुरका विवेक चौधरी, तेतरीदेवी साह, रामएकवाल साह रौनियार, जितेन चौधरी, निरजंकुमार बछार र सोनेलाल सहनी घाइते भएका छन् ।


झडपमा प्रहरी चौकी सिम्राभवानीपुरमा कार्यरत प्रहरी हवल्दार ईश्वर विष्टको मुखमा ढुंगाले लागी घाइते भएका छन् । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी जवान पिताम्बर काफ्ले र ईलाका प्रहरी गरुडामा कार्यरत पहरी जवान पवन कार्की पनि घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य छ । घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनायो । घाइतेको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ ।


प्रहरीले सिम्राभवानिपुरस्थित चौधरी टोलका दिपेश चौधरी, आकाश चौधरी, पप्पु चौधरी र सुकेश्वर चौधरीलाई पक्राउ गरेको छ ।

प्रकाशित : चैत्र ७, २०७५ १९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?