कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कृषि उपज गाउँमै बिक्री

सिरहा — २० रुपैयाँको तरकारी खरिद गर्न गाडी भाडामै २ सय रुपैयाँ खर्चिनुपरेपछि सिरहाको उत्तरवर्ती विकट चुरे क्षेत्र बिहीबारेका स्थानीयले गाउँमै हटिया सञ्चालन गरेका छन्  ।

जिल्लाको चुरे क्षेत्रमा हाट नहुँदा धनगढीमाई नगरपालिका १४ वडाका अम्मले, मैनामैनी, बिहीबारे, हात्तीढुंगा, चकमके, अमलीटार, बिहीबारेलगायत दर्जन गाउँका सर्वसाधारण दिनभर लगाएर १६ किमि परको पूर्व–पश्चिम राजमार्गमा जोडिएको जिरोमाइल र धनगढी बजार आउन बाध्य थिए ।

हाटबजार नहुँदा स्थानीयले सास्ती बेहोर्नुपरेपछि वडाध्यक्ष ठरेन्द्र राईले एक कट्ठा जग्गामा उत्पादित काउली बिहीबारेमा बिक्री गर्न ल्याए । ‘आफैंले उत्पादन गरेको काउली वडाध्यक्ष राईले बिहीबारेमा बिहीबारको दिन बिक्रीका लागि राखेपछि हटियाको सुरुवात भयो,’ स्थानीय सुवास हमालले भने, ‘त्यसपछि गाउँमा उत्पादित कृषि उपजको बिक्री गाउँमै सुरु भयो ।’

बिहीबारे गाउँमा वडाध्यक्ष राईले सुरुवात गरेको हटियामा अहिले हरेक बिहीबार हटिया लाग्छ । हटियामा स्थानीयले उत्पादन गरेका काउली, आलु, सागसब्जी, मुला, गुन्द्रुक लगायत दलहन बाली गहत, मास, भटमास, रहरीले बजार पाएको छ ।

हटिया लाग्न थालेपछि स्थानीयले बजार व्यवस्थापनका लागि पेज बहादुर ठकुरीको अध्यक्षतामा ५४ सदस्यीय बिहीबारे बजार व्यवस्थापन समिति गठन गरेका छन् । बजार लाग्न थालेपछि बिहीबारेमा एक दर्जन पसल सञ्चालित छन् ।

बजार लाग्न थालेपछि धनगढी र जिरोमाइलका व्यापारी बिहीबारे हटियामा सामान बिक्रीका लागि आउन थालेका छन् । बिहीबारे बजारमा साप्ताहिक च्याउ बेच्दै आएका जिरोमाइलका व्यापारी सुवासकुमार साहले एक हटियामा ३० किलोसम्म च्याउ बिक्री हुने गरेको बताए ।

धनगढीकै व्यापारी रामलखन महतो हरेक हटिया बिहीबारेमा तरकारी बिक्री गर्न पुग्छन् । दिनभर तरकारी बिक्री गरेपछि फर्कंदा उनी बिहीबारे क्षेत्रमा उत्पादित अदुवा, कुर्थी, मुनुंगा खरिद गरी धनगढी बजार पुर्‍याउँछन् ।

गाउँमै हटिया लाग्न थालेपछि पुण्यलाल गिरीले ७ कट्ठामा उब्जाएको आलु, खुर्सानी, सागसब्जी बिहीबारे बजारमै बिक्री गरे । बिहीबारे बजारमा गाउँघरमा पालेको बंगुर खरिद गरी स्थानीय झक्त राई हटियामा काटेर बित्री गर्छन् ।

बजार व्यवस्थापन समितिका अध्यक्ष पेजबहादुर ब्रोइलर कुखुरा पालन गरी हटियामा बिक्री गर्छन् ।

प्रकाशित : चैत्र ८, २०७५ १२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?