कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

परिवारै बाख्रापालनमा

लागत कटाएर वार्षिक ८ लाख रुपैयाँभन्दा बढी नाफा
पवन यादव

सिमरा — गाउँघरमा घर खर्च धान्न प्रायः घरमा बाख्रापालन गर्ने चलन छ  । खासगरी दलित, विपन्न परिवारमा पालिएका बाख्रालाई चराउन र स्याहारसुसार गर्न बालबालिका पढाइ छाडेरै खटने गर्छन्  ।

परिवारै बाख्रापालनमा

वृद्धवृद्धाले घरमा पालिएका खसीबाख्रालाई बढी ख्याल गर्छन् । तर फार्ममा पालिएका खसीबाख्राको ख्याल फार्म सञ्चालकले नै गर्नुपर्छ । व्यावसायिक बाख्रापालनमा लागेका बाराको कोल्हवी नगरपालिका २ निकास टोलका शंकरप्रसाद मैनालीको दिनचर्या बाख्राको स्याहारसुसारमै बित्त्ने गरेको छ ।

उनले एकीकृत पशु विकास फार्म दर्ता गरेर विगत २५ वर्षदेखि बाख्रापालन व्यवसाय गर्दै आएका छन् । बाख्रापालनबाटै आफ्नाे आर्थिक स्तर सुध्रेको उनले जानकारी दिए । ‘बाख्रापालनले परिवारको मुहारै फेरिएको छ,’ उनले भने, ‘यसले परिवार धान्ने काम मात्र गरेको छैन ।’

लागत खर्च कटाएर वार्षिक ८ लाख रुपैयाँ भन्दा बढी व्यवसायबाट खुद नाफा गर्दै आएको उनले जानकारी दिए । वार्षिक १५/२० लाखका खसीबाख्रा बिक्री गर्दै आएको उनले जनाए । एउटा खसी बाख्रा कम्तीमा १० देखि १५ हजारमा बिक्री हुन्छ ।

व्यापारीहरू फर्ममै खसी/बाख्रा खरिद गर्न आउने गरेको उनले जानकारी दिए । ६० लाख रुपैयाँको लगानी सुरु गरिएको व्यवसायको खुद लागत अहिले ७० लाख रुपैयाँ पुगेको उनको भनाइ छ । व्यवसायमा १० लाख रुपैयाँ पछि थपेको उनले जानकारी दिए ।


व्यवसायमा लगानी गरिएअनुसारको आम्दानी गर्न नसकिए पनि यो व्यवसायबाट आफू सन्तुष्ट रहेको उनले बताए । मेसिनरी उपकरणको अभावमा फुल स्पिडमा फार्म चलाउन नसकेको उनले बताए । फार्म चलाउन चाहिने जति जनशक्ति उपलब्ध हुन नसकेको उनले गुनासो पोखे । उनको फार्ममा ६० वटा पाठापाठी छन् भने कुल एक सय ६० वटा खसी/बाख्रा रहेका छन् ।

तीमध्ये ८० वटा बाख्रा ब्याउने अवस्थामा छन् । घर–परिवारकै रेखदेखमा बँधुवा प्रविधिमा व्यवसाय सञ्चालन गर्दै आएको उनले सुनाए । फार्ममा पालिएका खसीबाख्रालाई खुवाउन २ बिघामा व्यावसायिक तरिकाले विभिन्न जातका घाँस खेती गरिएको उनले जानकारी दिए ।

फार्ममा रहेका खसी/बाख्रालाई हेरचाह गर्न, स्याहारसुसार गर्न उनले ४ महिलालाई रोजगारी समेत दिएका छन् । ती मजदुर र पत्नी सरस्वती मैनालीको सहयोगमा व्यवसाय सम्हालेको उनले बताए ।

‘व्यवसायको ८० प्रतिशत जिम्मेवारी श्रीमतीले सम्हालेकी छन्,’ उनले भने, ‘बाँकी २० प्रतिशत जिम्मेवारी मैले आफैंले पूरा गर्दै आएको छु ।’ श्रीमतीको सहयोग र प्रेरणाले आफू यो व्यवसायमा लागेको उनले स्मरण गरे । पत्नीकै योगदानको कारण अहिलेसम्म यो पेसामा टिकेको उनले बताए ।

फार्ममा बिरामी हुने खसी/बाख्राको औषधि–उपचार गर्न समस्या हुने गरेको उनले बताए । राज्यले योग्य पशु स्वास्थ्यकर्मीलाई खटाउनुपर्नेमा उनको जोड छ । पशुलाई एक ठाउँबाट अर्को ठाउँमा उपचारका लागि लग्न सुविधा सम्पन्न एम्बुलेन्सको व्यवस्था गर्न उनले माग गरे ।

रोगी पशुको स्वास्थ्य परीक्षण गर्न र लागेको रोग छिटो पत्ता लगाउन सरकारले ल्याबको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए । यी सुविधाहरू थपिए भने व्यावसायिक बाख्रापालन बढ्दै जाने उनको जिकिर छ ।


पशुपालन व्यवसायमा सबभन्दा उत्तम बाख्रा पालन रहेको उनले दाबी गरे । यो पेसामा कुनै जाति विशेषको छाप लागेको छैन । यो व्यवसाय सबै जाति धर्मका मानिसले गर्न मिल्छ । ‘यो व्यवसाय गर्न जाति–धर्मको डोरले छेक्दैन,’ उनले भने, ‘तराई, पहाड, हिमाल सबै ठाउँमा गर्न सक्ने व्यवसाय हो ।’ खसी, बोका सबै जाति, धर्मका मानिसले मासु उपभोग गर्ने गरेको उनले जानकारी दिए ।

आफ्नो फार्मबाट गुणस्तरीय खसी/बोका उत्पादन हुने गरेको उनले दाबी गरे । स्थानीय बाख्रालाई क्रस मेन्टन गरेर जमुनापारी, अलमेरी, बिटल जातका बाख्रा पाल्दै आएको उनले जानकारी दिए । बोयर जातका बाख्रा पालन गर्न सरकारले सिफारिस गरेको छैन । यो जातका बाख्रा पालन गर्दा उत्पादन बढी हुने भएकाले जोखिम मोलेर आफैंले यसको परीक्षण थालेको उनले बताए ।

५ सय बाख्रा अट्ने गरी व्यवस्थित खोर निर्माण गरेको उनले जानकारी दिए । यसबाहेक थप ३ व्यवसाय गर्ने उनको योजना छ । अर्गानिक मल, बाख्राको पिसाब र यसले खाएर फालेको स्याउलाबाट ब्रिकेट उत्पादन गर्ने योजना बनाएको उनले जानकारी दिए ।

व्यवसायमा मेनपावरको समस्या छ । राज्यले मेकानिजम नबनाएसम्म यो व्यवसायमा मेसिनरी उपयोगिता बढाउन सकिँदैन र मेसिनरी उपयोगिता नभए व्यवसाय फस्टाउन नसक्ने उनले ठोकुवा गरे । आफ्नो फार्ममा उत्पादन भएका खसी–बाख्रा छिमेकी देश भारत र नेपालका झापा, गोर्खा, नुवाकोट लगायत विभिन्न जिल्लाका व्यपारीले फार्ममै आएर किनेर लग्ने गरेको उनले बताए ।

प्रकाशित : चैत्र ८, २०७५ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?