कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

छोरीलाई निःशुल्क साइकल

स्थानीय तहको प्राथमिकता

रौतहट — मधेसका छोरीलाई विद्यालय जान आकर्षित गर्न यहाँका स्थानीय तहले निःशुल्क साइकल वितरणलाई प्राथमिकतामा राखेका छन्  । पछिल्लो समय छोरीलाई साइकल वितरण गर्न स्थानीय तहहरूमा होडबाजी नै चलेको छ  ।

छोरीलाई निःशुल्क साइकल

साइकल पाएपछि छोरीहरू पनि मक्ख छन् । साधनस्रोत अभावले कोही पनि छात्रा पढाइबाट वञ्चित नहुन् भन्ने उद्देश्यले साइकल वितरण गरेको नगरपालिकाका मेयरहरूको भनाइ छ ।

उनीहरूले छोरीको हौसला बढाउन र साधन नभएकालाई प्रोत्साहन स्वरूप साइकल वितरण गरेको बताएका छन् । सबैभन्दा पहिले यहाँको गढीमाई नगरपालिकाले त्यस क्षेत्रका छात्रालाई साइकल वितरण गरेको थियो ।

त्यसपछि ईशनाथ, गौर, कटहरिया, वृन्दावन लगायतका नगरपालिकाले छोरीलाई साइकल दिएका हुन् । यहाँ १८ वटा स्थानीय तह छन् । कटहरिया नगरपालिकाले चालु आवको बजेटमा साइकल वितरणलाई प्राथमिकतामा राखेको सार्वजनिक गरेको छ ।

विभिन्न संघसंस्थाले समेत साइकल वितरणलाई प्राथमिकता दिएका छन् । दुर्गा भगवती गाउँपालिकाले दुई दिनअघि सामुदायिक विद्यालयमा अध्ययनरत २ सय ५० छात्रालाई निःशुल्क साइकल प्रदान गरेको थियो ।

गाउँपालिकाअन्तर्गत ३ सामुदायिक विद्यालयका कक्षा ८ र ९ मा अध्ययनरत छात्रालाई साइकल प्रदान गरिएको हो । सरस्वती मावि पिपरा भलोहिया, संस्कृत मावि मत्सरी र आधारभूत विद्यालय पँचरुखीका छात्रालाई प्रोत्साहनस्वरूप साइकल दिइएको गाउँपालिका प्रमुख अरुण साहले बताए ।

‘मधेसका छोरीहरू साइकल पाएर पढ्न हौसिएका छन्,’ उनले भने, ‘धेरै चेली साधनकै अभावले टाढा पढ्न जान पाएका छैनन् । साइकल पाएपछि खुसी छन् ।’ गाउँपालिकाले चालु आवको बजेटबाट सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूलाई साइकल दिइएको हो । दशक अघिसम्म नाम मात्रका विद्यालय सञ्चालन गरी ठूलो रकम हिनामिना भए ।

अख्तियारले छानबिन थालेपछि त्यस्ता झोले विद्यालय बन्द भए । पछिल्लो समय विद्यालयहरूमा मधेसका छोरीको उपस्थिति कम छ । उनीहरूलाई प्रोत्साहन गर्न आवश्यक रहेको गौर नगरपालिका प्रमुख अजय गुप्ताले बताए ।

‘छोरा शिक्षित भए एक परिवार मात्रै शिक्षित हुन्छ,’ उनले भने, ‘छोरीलाई साक्षर बनाएमा दुई परिवार शिक्षित तथा सभ्य परिवारको निर्माण हुन्छ ।’ उनले साइकल दिइएपछि छोरीलाई पढाउन प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।

विद्यालय जान टाढा रहेका कारण कतिपय अवस्थामा अभिभावकहरू बीचमै पढाइ छुटाइदिन्छन् । शिक्षाले दाइजो, अन्धविश्वासजस्ता समाजमा व्याप्त कुरीति निर्मूल पार्न सकिने उनीहरूको दाबी छ । समनपुरकी छात्रा सुनीता साहले विद्यालय टाढा भएकाले पढ्न जान कठिन हुँदै गएको बताइन् ।

प्रदेश सरकारले बेटी पढाऔं बेटी बचाऔं अभियानै थालेको छ । अभियानकै कारण नगरपालिकाले मधेसका छोरीलाई साइकल दिएका हुन् । अधिकांश स्थानीय तहले साइकल वितरणका लागि बजेट छुट्याएका छन् ।

राजदेबी मिडिया सेन्टरले छोरीलाई शिक्षा र खेलकुदमा पहुँच पुर्‍याउने उद्देश्यले हरेक वर्ष साइकल दौड प्रतियोगिता गराउँदै आएको छ । प्रतियोगितापछि सेन्टरले निःशुल्क साइकल वितरण गरेको छ ।

प्रकाशित : चैत्र ८, २०७५ १२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?