होलीमा निराश भए सहिद परिवार

काठमाडौँ — तराईवासीले यस वर्ष ३ दिन होली पर्व मनाइरहँदा वीरगन्ज महानगर २२ जगरनाथपुर निवासी रामजोती देवीको मनमा उमङ्ग भने छैन । सहिद दिलिप चौरसियाकी आमालाई चाडपर्वमा छोरा दिलिपका साथीहरू रमाएर होली खेली रहेको देख्दा छोराको सम्झनाले निक्कै सताउँछ । 

होलीमा निराश भए सहिद परिवार

१९ वर्षको कल्कलाउदो उमेरका इन्जिनियररिङ पढ्दै गरेका उनका छोरा दिलिप चौरसियाको मधेश आन्दोलनको क्रममा २०७२ भदौ १४ गते वीरगन्जमा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको थियो । छोरा गुमाएकी उनी यसै बर्ष बिधवा पनि भइन् । यस बर्ष उनलाइ दोहोरो पिडा छ । ‘सन्तान गुमाएको पिडा एउटी आमाले कसरी शब्दमा बयान गर्न सक्छिन्,’ रामजोतीले भनिन्, ‘उसका साथीहरू रमाएर होली खेलेको देख्दा उ पनि आमा मलाई रंग लगाएर आशिर्वाद दिनुस् भनेर आउछ कि जस्तो लागि रहन्छ ।’


विहिबार सामाजिक अभियन्ताहरू प्रकाश थारु र अनिशकान्त कुशवाहा सहितको टोली चाड पर्वको समयमा सहिद परिवारका आफन्तजनलाई भेट्न र ढाडस दिन पुग्दा रामजोती टोलाएर बसी रहेकी थिइन् । सरकारले सहिद परिवारलाई क्षतिपुर्ती वापत १० लाख रुपैया दिई सके पनि उनको छोरा गुमाएको पिडामा कागजको त्यो नोटले कुनै मल्हम लगाउन सकेको छैन । ‘पैसाले छोरा फर्केर आउने होइन,’ उनले भनिन्, ‘हामी सहिदका आमा बुबालाई पैसा भन्दा माया र सद्भाव चाहिएको छ ।’


वीरगन्ज २२ भवानीपुरका अर्का सहिद धर्मराज सिंहका आमा बुवाको जीवनमा पनि होलीको रंगले कुनै उत्साह ल्याएको छैन । ६५ बर्षिय प्रभु सिंह र उनकी पत्नी ६० बर्षिया कलावती देवीले परिवारका सदस्यहरूको मन राख्न उनीहरूले अबिर दलिदिने र अरुले लगाएको रंगलाई अस्विकार नगरेपनि भित्री हृदयले होली पर्व मान्न सकेका छैनन् । ‘परिवारका अन्य सदस्यलाई नैराश्य नलागोस् भनी हामीले उनीहरूलाई रंग दलेर आशीर्वाद दिने गरेका छौं,’ प्रभुले भने, ‘तर चाडपर्वमा सहिद भएको छोराको अझ बढी सम्झना आउँछ, ऊ हामी बिच छैन भनी अझै पनि पत्याउन सकी रहेको छैन ।’


धर्मराजको २०७२ भदौ १५ गते आन्दोलनकै क्रममा वीरगन्जमा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको थियो । उनी सशस्त्र प्रहरीको जवान पदबाट राजिनामा दिएर आएका थिए ।


धर्मराजकी आमा कलावती देवीको नेताहरूले चुनावको समयमा मात्र आफूहरूलाई सम्झिएको गुनासो छ । चुनावपछि कोही नआउने गरेको उनले बताइन् । ‘सरकारले हामीलाई क्षतिपूर्ति दिई सक्यो, नेताहरूले केही दिनु पर्दैन,’ उनले भने, ‘चुनाव बाहेकको समयमा पनि हामीलाई सम्झी दिने गरे हाम्रो न्यास्रो केही हदसम्म घट्थ्यो ।’


सामाजिक अभियन्ता थारुले आफूहरूले होली, छठजस्ता पर्वका समयमा वर्षेनी यसरी सहिद परिवारलाई भेटेर उनीहरूसंग केही क्षण बिताउने, ससानै भएपनि पुजा सामग्री वा उपहार दिएर उनीहरूको हौसला बढाएर पिडामा मल्हम लगाउने प्रयास गर्दै आएको बताए ।


‘यो कामको लागि हामीलाई ठूलो बजेट र धेरै समय पनि चाहिदैन,’ उनले भने, ‘सहिदका आमा बुवा जहिले पनि सम्मानित हुनुहुन्छ, वहाहरूलाई सबैले माया र सम्मान गर्न जान्नु पर्छ भन्ने सन्देश हामीले दिन खोजेको मात्र हो ।’ ३ बर्ष अघिको मधेश आन्दोलनमा पर्साबाट मात्र ९ जना सहिद भएका थिए ।

प्रकाशित : चैत्र ९, २०७५ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?