कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

गहुँ बाली सप्रियो

पर्सा — जितपुरसिमरा उपमहानगर ११ खेस्रौलका अगुवा किसान जहिन्द्र चौधरीले यस बर्ष २ बिघा जग्गामा मेशिनले गहु रोपेका छन् । जिरो टिलेज मेशिनले गहु रोपेका उनले मेशिनले खेतमा गहुको बिउ छर्दा उनका छिमेकी किसानहरूले पत्याएका थिएनन् । तर जहिन्द्रको खेतको गहुको बाला र अन्य किसानको गहुको बाला हेर्दा अहिले फरक प्रष्टै देखिन्छ । 

गहुँ बाली सप्रियो

यस बर्ष परम्परागत गहु खेती विधिलाई त्यागेर उनले खेत नजोतीकनै जिरो टिल (शून्य जोताई) विधिबाट गहु छरेका थिए । उनले यस बर्ष धान खेती पनि यसै विधिबाट गरेका हुन् । धान खेतीबाट राम्रो नतिजा आएपछि उनले गहु खेतीमा पनि यो विधि रोजेका हुन् । ‘मेशिनले धान मात्र होइन गहु खेती पनि सम्भव रहेछ,’ जहिन्द्रले भने,‘खेती लागत नै आधा भन्दा बढिले घट्यो, उत्पादन पनि झण्डै दोब्बरी होला जस्तो छ ।’ जहिन्द्रका छिमेकीहरू रामबाबु र सहदेव चौधरीले पनि यस बर्ष शून्य जोताई विधिबाटै गहु खेती गरेका छन् ।

टोलमै करीब ५ बिघा खेतमा यो विधिले खेती गरिएको छ । रामबाबुको खेतमा पनि गहुको बाला लहलह झुलेको छ । उनी पनि खुशि छन् । ‘गहुको बाला देखेर छिमेकी किसान पनि चकित छन्,’ रामबाबुले भने,‘धान काटेको खेतबाट पराल समेत नहटाइ खेत समेत नजोती गहु खेती गर्दा गहु बाली झनै सप्रिएको छ ।’

किसानलाई जिरोटिल मेसिनको प्रयोग गर्न प्रोत्साहित गरेको कृषि औजार अनुसन्धान केन्द्र रानिघाट वीरगंजका प्रमुख इन्जिनियर सचिन कुमार मिश्राले पर्सा, बारा, रौतहट र सर्लाहीका किसानले बर्षेनी जिरोटिल विधिबाट गहु खेती गर्ने क्रम बढ्दै गएको बताए ।

यो विधि गहु खेतीका लागि अत्यन्त उपयुक्त रहेको र किसानले करीब १ लाख रुपैया लगानी गरेपछि यो कृषि उपकरण खरिद समेत गर्न सक्ने भएकाले व्यक्तिगत वा सामूहिक रुपमा समेत किसानले यो मेशिन खरिद गर्न सक्ने उनले बताए । ट्याक्टरमा जोडेर किसान आफैले मेशिनको मद्दतबाट खेतमा गहु छर्न सक्ने भएकाले तराईमा रहेको मजदुर अभावको समस्याबाट धेरै हद सम्म राहत हुने उनको दाबी छ ।

जिरो टिल विधिबाट खेती गर्दा खर्च र झन्झट लाग्ने मात्र नभई मजदुर र सिंचाईको खर्चपनि कम लाग्ने उनले बताए । परम्परागत विधिभन्दा करीब आधा खर्चमा रोपाई हुने र परम्परागत विधि भन्दा झण्डै तेब्बरी बढी उत्पादन हुने उनले दाबी गरे । परम्परागत विधिबाट गहु खेती गर्दा किसानको खेतमा प्रति क्विन्टल मुश्किलले ४० किलो सम्म उत्पादन हुने गरेकोमा यो विधिले प्रति कठ्ठा १ क्विन्टल २० किलो सम्म उत्पादन भई रहेको उनले बताए ।

शून्य जोताई विधिबाट गहु मात्र नभई मकै, तोरी, मुसुरो, धान, चना, मुग आदि बालीको पनि खेती गर्न सकिन्छ । यो विधिबाट खेती गर्दा खेत हिल्याउन नपर्ने, तुरुन्तै सिचाई हुने र खेतमा धाँजा समेत नफाटने भएकाले यो किसानका लागि लाभदायी भएको छ ।

बालीको उत्पादन लागत समग्रमा कम हुन गएपछि यसले किसानलाई धेरै राहत दिन्छ । परम्परागत तरिकाबाट गहु खेती गर्दा ३ पटक सम्म खेत जोत्नु पर्नेमा यसमा त्यो पनि गर्नु पर्दैन । हलो र फारले जोतेर सम्याएको खेत भन्दा यसमा सिंचाईको लागत पनि घटन जान्छ ।

प्रकाशित : चैत्र ९, २०७५ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?