कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

जलेर २ बालिकाको मृत्यु

भरत जर्घामगर

सिरहा — सिरहाको उत्तरवर्ती चुरे क्षेत्र धनगढीमाई नगरपालिका-१४ अमलीटारका २ बालिकाको शनिबार जलेर मृत्यु भएको छ । प्रहरीका अनुसार गाईगोठमा लागेको आगलागीमा जलेर अमलीटारका दीपक धमलाका ६ वर्षीया छोरी दीक्षा धमला र नित्यराज पोखरेलका ७ वर्षीया छोरी रीतु पोखरेलको मृत्यु भएको हो ।

दिउँसो डेढ बजेतिर कोही नभएको बेला दीपक धमलाको गाईगोठमा आगो लागेको देखेपछि स्थानीय पुगेका थिए । गाईगोठ टाडमा दुई बालिका खेल्ने क्रममा आगो सल्किएको हुनसक्ने स्थानीयको अनुमान छ । आगलागीपछि दुई बालिका जलेको अवस्थामा गाउँलेले निकालेका थिए । धनगढीमाई नगरपालिका-१४ का वडाध्यक्ष ठरेन्द्र राईका अनुसार आगलागीमा गोठ जल्नुका साथै एउटा गाई समेत जलेको छ ।


जलेर मृत्यु भएकी दीक्षाका बुबा दीपक धमला जिरोमाइलस्थित अस्पतालमा हुँदा दिउँसो गोठमा आगलागीमा छोरीको मृत्यु खबर पाएपछि घर हिँडेका थिए । आगलागी घटना हुँदा दीपक बुबा भवनाथको उपचारका लागि जिरोमाइलस्थित अस्पतालमा थिए ।


'बुबालाई उपचार गराउन बिहान ९ बजेतिर जिरोमाइल पुगेँ,' दीपकले भने, 'दिउँसो यस्तो घटनाको खबर आयो ।' पूर्वपश्चिम राजमार्गको जिरोमाइलबाट १६ किलोमिटर उत्तर विकट चुरे क्षेत्रमा अमलीटार अवस्थित छ । आगलागी स्थलमा प्रहरी टोली पुगेर घटनाबारे जानकारी लिने काम भइरहेको सिरहा प्रहरीले जनाएको छ ।


वृद्धाको जलेर मृत्यु

यसैगरी सिरहाको कल्याणपुर नगरपालिका-७ का ६५ वर्षीया बनारसीदेवी सदाको घरमा सल्केको आगोमा शनिबार बिहान जलेर मृत्यु भएको छ । प्रहरीका अनुसार घरमा अचानक सल्केको आगोमा परी घरभित्रै सुतिरहेकी सदाको मृत्यु भएको हो । आगलागीबाट घर जलेर पूर्णरुपमा नष्ट भएको छ ।

प्रकाशित : चैत्र ९, २०७५ १८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?