जलेर ३ को मृत्यु
सिरहा — आगलागीका दुई घटनामा जलेर दुई बालिकासहित तीन जनाको मृत्यु भएको छ । धनगढीमाई नगरपालिका १४ अमलीटारका दुई बालिकाको शनिबार जलेर मृत्यु भएको छ । प्रहरीका अनुसार गाईगोठमा भएको आगलागीमा जलेर अमलीटारका दीपक धमलाकी ६ वर्षीया छोरी दीक्षा धमला र नित्यराज पोखरेलकी ७ वर्षीया छोरी रीतु पोखरेलको मृत्यु भएको हो ।
दिउँसो डेढ बजेतिर कोही नभएका बेला दीपक धमलाको गाईगोठमा आगो लागेको देखेपछि स्थानीय पुगेका थिए । गाईगोठ टाडमा दुई बालिका खेल्ने क्रममा आगो सल्किएको हुनसक्ने स्थानीयको अनुमान छ । आगलागीपछि दुई बालिका जलेको अवस्थामा गाउँलेले निकालेका थिए ।
धनगढीमाई नगरपालिका १४ का वडाध्यक्ष्ा ठरेन्द्र राईका अनुसार आगलागीमा गोठ जल्नुका साथै एउटा गाईसमेत जलेको छ । यसैगरी सिरहाको कल्याणपुर नगरपालिका ७ का ६५ वर्षीया बनारसीदेवी सदाको घरमा सल्केको आगोमा शनिबार बिहान जलेर मृत्यु भएको छ । प्रहरीका अनुसार घरमा अचानक सल्केको आगोमा परी घरभित्रै सुतिरहेकी सदाको मृत्यु भएको हो । आगलागीबाट घर जलेर पूर्णरूपमा नष्ट भएको छ ।