१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सुनकोसीको डीपीआर सकिँदै

शिव पुरी

रौतहट — सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले चासो देखाएका छन् । आयोजना सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने ओलीले बताए । यसको विस्तृत विवरण प्रतिवेदन (डीपीआर) को काम लगभग सकिन लागेको छ । 

सुनकोशी नदिबाट सिन्धुलीको मरिन हुँदै रौतहटको चन्द्रपुर नगरपालिका १ पौराईस्थित बागमती नदीमा पानी मिसाउने आयोजना सम्पन्न गर्न सरकार लागिपरेको प्रधानमन्त्री ओलीले सुनाए । ‘यति ठूलो गौरवको आयोजना सम्पन्न भएमा तराई मधेसका जिल्लाहरूमा खेतीयोग्य जमिन पानी नै पानी हुनेछ,’ उनले भने, ‘आयोजनाको डीपीआर सकिने बित्तिकै कसलाई र कसरी गर्न दिने भन्नेमा सरकारले चासो दिनेछ ।’


केही दिनअघि यहाँस्थित गरुडा नगरपालिकामा आयोजित आमसभामा प्रधानमन्त्री ओलीले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाका बारेमा जोड दिएका थिए । उनले आयोजना सम्पन्न भएपछि किसानलाई ठूलो राहत पुग्ने ठोकुवा गरे ।


यो सबैभन्दा ठूलो आयोजनामध्ये एक हो । डीपीआरको काम इटेक कन्सलटेनले जिम्मा लिएको छ । आयोजना सम्पन्न भए तराईका रौतहट, धनुषा, महोत्तरी, सर्लाही र बाराका किसानको खेतीयोग्य क्षेत्रलाई सिँचाइ पुग्नेछ । आयोजनाको लागतको समेत अध्ययन भइरहेको छ । यसको अवधि ५ वर्षको छ ।


यसै वर्षबाट आयोजना सुरु हुने अनुमान छ । सुनकोशीबाट १३.१ किलोमिटर टनेल बनाई सिन्धुलीको मरिनमा पानी झारिने छ । त्यसपछि ४२ किमि नदीबाट बागमती दोभानमा मिसाइने छ । यही पानी १० किमि दक्षिण ब्यारेजमा जम्मा भई शाखा, प्रशाखा नहरमार्फत किसानको खेतसम्म पुग्छ ।


हिउँदका बेला बागमतीमा पानीको मात्रा ८/१० क्युसेकभन्दा बढी हुँदैन । यसले किसानलाई सिँचाइ गर्न पानीकै समस्या हुँदै आएको छ । आयोजना सम्पन्न भए हिउँद, वर्षा जुनसुकै बेला पानीको समस्या नहुने आयोजनाले जनायो । सिँचाइ र विद्युत् उत्पादनको काम भएकाले यसलाई बहुउद्देश्यीय भनिएको हो ।


अहिलेसम्म साधनस्रोत जुट्न नसकेको आयोजनाका डिई हरिनारायण यादवले बताए । ‘आयोजनाबारे प्रधानमन्त्रीले चासो देखाउनु भएको सुन्दा खुशी लागेको छ,’ उनले भने, ‘विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) को काम पनि यही चैत मसान्तभित्र सकिनेछ ।’

बृहत् अन्तिम तथा व्यावहारिक अध्यन प्रतिवेदन कन्सलल्टेनबाट प्रारम्भिक काम अगाडि बढाइएको छ । आयोजनाको काम गर्न दाता खोज्ने कि नेपाल सरकार आफैंले गर्ने भन्ने निर्णय भइसकेको छैन । विद्युत् प्राधिकरणले समेत विभिन्न विकल्प अघि सार्दै सुनकोशी १, २, ३ को पनि अध्ययन थालेको डिई यादवले जनाए ।


प्राधिकरणबाट पनि डीपीआरको ड्राफ्ट तयार भइरहेको उनले सुनाए । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पनि आयोजनाबारे चासो देखाएका छन् । ओलीले आयोजनाको काम कहाँसम्म पुग्यो भन्ने जानकारी लिने बताए ।


सुनकोशीबाट ६७ क्युसेक पानीलाई १ सय ८० मिटर लम्बाइको बाँध बनाई करिब १३.१ किमि दूरीको ७ मिटर ब्यास भएको भित्री सुरुङमार्फत मुख्य खोला बागमतीमा मिसाई ४०.८० मेगावाट विद्युत निकाल्ने लक्ष्य राखेको डिई यादबले बताए ।


आयोजना सम्पन्न भएपछि वर्षभरी रौतहट धनुषा महोत्तरी, सर्लाही र बाराको १ लाख २२ हजार जमिन सिंचित हुन्छ ।’ बैकल्पिक सोचका साथ आयोजनाको ईआईए अध्ययन प्रक्रियाको काम समेत अघि बढिसकेको डिई यादवले जनाए । नेपाल हाइड्रोपावरको ठूलो सम्भावना भएको देश हो । यसले विद्युत् विकासका लागि ४२ हजार मेगावाट क्षमता राख्ने अनुमान गर्न सकिन्छ ।

हाल एकीकृत ऊर्जा प्रणालीसित ८ सय मेगावाट ऊर्जा क्षमता रहेको छ । नेपाललाई १ हजार ४ सय मेगावाट विद्युतको माग छ । आयोजनाले ४०.८० मेगावाट विद्युत् उत्पादन गरी केही हदसम्म उपलब्धता गराई कमी हुने स्थितिलाई पूरा गर्ने जनायो । पानीलाई नदिमा लैजाने, डिस्यान्डिङ बेसिन निर्माण, हेडरेस सुरुङ, सर्गसाफ्ट, पेन्सटोक पाइप, पावर हाउस निर्माण, पानि पठाउने प्वाइन्ट, टर्बाइन, स्विचपार्ड जस्ता आयोजनाको मुख्य कार्य रहेको छ ।


सिन्धुलीको खुर्कोटबाट सुरु हुने र मरिन उपत्यकामा अन्त हुन्छ । आयोजनाअन्तरगत ४० र २० मिटरको पावर हाउस मरिन खोलाको बाँया किनारमा रहन्छ । अन्तिम पानीको स्थान मध्यम सञ्चालन हुने र ४ सय १० मिटर उचाइमा १ सय ५७ मिटरबाट पावर हाउसले पानीलाई मरिन खोलामा बगाइदिन्छ । आयोजनाले तराईको खेतीयोग्य जमनिमा वर्षभरी सिँचाइ गर्न टेवा पुग्छ । कृषि जन्य उत्पादनमा बृद्धि भई देशको विभिन्न स्थानमा निर्यात गर्न सकिनेछ ।


यसका अलवा ४०.८० मेगावाट विद्युत् प्राप्त हुन्छ । बागमती नदीमा पानीको सतह घटेपछि रौतहट र सर्लाहीको खेतीयोग्य जग्गामा सिंँचाइको समस्या हुँदै आएको छ । बागमतीको क्षमता १ लाख २२ हजार क्युसेको छ । हिउँदमा पानीको सतह घटा किसानले खेतमा पटाउन पाउँदैनन् ।


बागमतीमा अहिले पानीको सतह ८/१० क्युसेक मात्र छ । यति कम पानी हुँदा सिँचाइका मुहान सुकेको छ । नदीको पानीको सतह निरन्तर कम हुन थालेपछि सिँचाइको प्रबन्ध नहुँदा किसान समस्यामा परेका छन् । आमसभामा किसानले प्रधानमन्त्री ओलीलाई सिँचाइका लागि पानीको समस्या भएको सुनाएका थिए ।


त्यसपछि उनले सुनकोशी मरिन आयोजनाबारे बोलेका हुन् । सुनकोशीबाट पानी ल्याउन सके जुनसुकै समयमा सिँचाइ समस्या नहुने ओलीले सुनाए । रौतहटका किसानलाई ४८ र सर्लाहीलाई ६४ क्युसेक पानी उपलब्ध गराउने आयोजनाको लक्ष्य हो । पानीको मुहान सुक्दै गएपछि आधा कम पानी मात्र सप्लाइ हुने गरेको छ । यसले हिउँदमा समस्या भएको छ ।

प्रकाशित : चैत्र १०, २०७५ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?