कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

कीटनाशक औधषि मापदण्डविपरीत

म्याद गुज्रेका कीटनाशक रिप्याकिङ गरी बजार पठाइँदै 
भूषण यादव

वीरगन्ज — कृषि बालीलाई किरा तथा रोगबाट जोगाउन प्रयोग गरिने कीटनाशक औषधिको उत्पादन मापदण्ड विपरीत हुने गरेको पाइएको छ । मानिसको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने यस्ता औषधिको उत्पादनमा अनियमितता भइरहेको उजुरीपछि स्थानीय सरकोकारवाला निकायले फागुन २८ मा उद्योगको गोदाममा छापा मारेको थियो । 

वीरगन्ज महानगरपालिका ४ नारायणी अस्पताल पछाडि रहेको किशान एग्रो केमिकल्सको गोदाममा निरीक्षण गरेपछि सञ्चालक श्याम तुल्सयानलाई प्रहरीले नियन्त्रणमा लिएर मुद्दा चलाइएको थियो । तुल्स्यान ४ लाख रुपैयाँ धरौटीमा ८ दिनपछि अदालतबाट बुधबार रिहा भएका छन् । सार्वजनिक हित स्वास्थ्य सुरक्षा तथा नैतिकता समेतको कसुरमा भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश लीलाराज अधिकारीको इजलासले तुल्स्यानलाई ४ लाख रुपैयाँ धरौटी लिएर तारेखमा राख्ने आदेश दिएको थियो ।


पक्राउ परेको भोलिपल्ट अदालतमा पेस भएका तुल्स्यानलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको थियो । अदालतको आदेश आएपछि तुल्स्यान विरामी भएको भन्दै सात दिन वीरगन्ज हेल्थ केयर अस्पतालमा भर्ना भएका थिए । दोस्रो पटक अदालत पेस भएपछि अनुसन्धान नसकिएको भन्दै पुन ५ दिनको म्याद थपिएको थियो । तर, पाँच दिनको म्याद थपिएको दोस्रो दिन नै प्रहरीले अभियोजन पत्र अदालत पठाएको थियो ।


वीरगन्ज महानगरपालिका २४ रामगढवामा उद्योग सञ्चालनका लागि अनुमति लिएको भए पनि गोदाममा पनि कीटनाशक

औषधि उत्पादन गरेको भेटिएको थियो । अनुगमनमा गएका जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उज्जवल बस्नेतका अनुसार म्याद गुज्रेका किटनाशकलाई फेरी रिप्याकिङ गरी बजारमा पठाउने गरिएको थियो । कीटनाशक औषधि उत्पादन गर्ने उद्योगमा अनियमितताको उजुरी परेपछि निरीक्षण अनुगमन गरिएको उनले बताए ।


वाणिज्य, नापतोल तथा गुणस्तर, वीरगन्ज उद्योग वाणिज्य संघका लगायतका प्रतिनिधि अनुगमनमा गएका थिए । उद्योगको कर विवरण अध्ययनका लागि आन्तरिक राजस्व कार्यालय वीरगन्जका कर्मचारी पनि गोदामा पुगेका थिए । कर्मचारीले कार्यालयमा रहेको कम्प्युटर खोल्न खोज्दा सर्वर चलेको थिएन । आफूलाई कम्प्युटर चलाउन आउँदैन भनी सञ्चालकले जवाफ दिएपछि कर्मचारीले उद्योगमा सिलबन्दी गरेका थिए ।


उद्योगमा लगाउने उत्पादन मिति, एक्सपाइरी डेटको स्टिकर गोदाममा फेला परेको थियो । प्रहरी नायव उपरीक्षक मानबहादुर राईले गोदामा ल्याएर नयाँ प्याकिङको लेवल तयार गरी टास्ने गरिएको अनुगमनको क्रममा भेटिएको बताए । ‘मिति गुज्रेका कीटनाशकलाई नष्ट नगरी नयाँमा मिसाएर पुन बजार पठाउने गरिएको छ,’ उनले भने, ‘गोदाममै स्टिकर र लेवल लगाउँदै गरिएको भेटिएको छ ।’


जिल्ला ज्ञान केन्द्र पर्साका बाली संरक्षण अधिकृत सम्शुल हकका अनुसार मिति गुज्रेको कीटनाशकलाई नयाँमा मिसाउँदा त्यो काम नगर्ने हुन्छ । ‘टारमा राख्नुपर्ने कीटनाशक जथाभावी राखिएको छ,’ उनले भने, ‘कामदारको स्वास्थ्य र सुरक्षालाई समेत ध्यानमा राखिएको छैन ।’ उद्योगका कामदारका अनुसार मास्क र पन्जा बिनाकाम गर्नुपरेको थियो ।


लामो समयसम्म काम गर्दा पनि कुनै कर्मचारी स्थायी नियुक्ति दिइएको थिएन । दैनिक ज्यालादारीमा कामदार काम गर्दै आएका थिए । झन्डै साढे दस वर्षदेखि उक्त उद्योगमा काम गर्दै आएका मीना देवीले हालसम्म आफू लगायत १२ जना दैनिक ज्यालादारीमै काम गरेको खुलाइन् ।


‘दैनिक दुई सय ५० रुपैयाँ पाउँछौँ,’ उनले भनिन्, ‘कीटनाशक उद्योग सञ्चालकले मास्क र पन्जा कहिले पनि उपलब्ध गराएनन् ।’ उद्योगमा काम गरेदेखि एक्सपाइरी कीटनाशक औषधि नष्ट गरेको नदेखेको कर्मचारी तथा कामदारले दाबी गरेका छन् । ‘बजारबाट फिर्ता भएका औषधि पुन नयाँ औषधिसँग प्याकिङ गर्थ्यौ,’ एक कर्मचारीले भने ।

प्रकाशित : चैत्र १०, २०७५ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?