कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लेखा अधिकृतले मागे कर्मचारीसँग घूस

जनकपुर अस्पतालमा बेथिति

धनुषा — जनकपुर अञ्चल अस्पतालको आकस्मिक कक्षमा कुरुवालाई चिकित्सकले हातपात गरेको घटना सेलाउन नपाउँदै अञ्चल अस्पतालका लेखा अधिकृत राम विनय रायले विकास समितिका कर्मचारीको तलबबाट कमिसन मागेको घटना सार्वजनक भएको छ । 

कर्मचारी र व्यवस्थापकको लपारवाही, डाक्टरकै कारण बिरामीको मृत्युले तोडफोड, डाक्टरमाथि नै आक्रमण भएको, निर्माण सम्पन्न नहुँदै नयाँ भवनमा सेवा विस्तारको घटनाले चर्चा पाएको जनकपुर अञ्चल अस्पताल पछिल्लो समय भ्रष्टाचार समेत मौलाएको छ ।


कमिसन लिएर मात्र तलब भत्ता दिने लेखा अधिकृत रायलाई कमिसन नदिएको खण्डमा विकास समिति विघठन भइसकेकाले कुनै पनि बेला कामबाट निकाल्न सक्ने भन्दै कर्मचारीहरूलाई डर, त्रास देखाउँदै धम्की दिने गरेको खुलेको छ । रायले अस्पतालको कुनै पनि कार्यमा पैसा नदिइ काम गर्न नमानेको अस्पतालका चिकित्सकको भनाइ छ ।


‘समयमा औषधि तथा सर्जिकलको बोलपत्र आहवान नै नगरी कमिसनको चलखेलमा अस्पतालको फार्मेसिमा भ्रष्टाचार गरेको छ’, एक चिकित्सकले भने, ‘अस्पतालमा विरामीलाई खाना खुवाउने मान्छेसँग समेत उनले पैसा उठाउँदै आएका छन् ।’ अस्पतालको इन्धन खरिदमा नक्कली बिल भरपाइ गरी लेखा अधिकृत रायले पैसा लिएको कर्मचारीले बताए ।


अधिकृत रायले प्रदेश २ मा समायोजन भएर आएकाले आफूलाई कसैले छुन नसक्ने भन्दै अस्पतालमा कार्यरत करारका कर्मचारीलाई धम्काउँदै आएका छन् । कर्मचारीहरूलाई अनाहकमा दुःख दिएको भन्दै अस्पतालका कर्मचारीहरूले रायलाई कारबाही गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयल सामाजिक विकास मन्त्रालय, महालेखा नियन्त्रक कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ ।


तलब भत्तामा कमिसन लिने गरेको र अस्पतालका कर्मचारीलाई डर त्रास देखाउने गरेको विषयमा मौखिक जानकारी आए पनि लिखित नआएको जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. नागेन्द्र यादवले बताए । जनकपुर अञ्चल अस्पतालमा पटकपटक टेन्डर आहवान नै औषधि खरिद भइरहेको लगायतका आरोप लाग्दै आएको छ ।


फागुन २८ गते जनकपुर अञ्चल अस्पतालमा उपचार गराउन आएका एक जना बिरामीको मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको थियो । धनुषा मिथिला नगरपालिका–६ ढल्केवरबाट उपचारका क्रममा मृत्यु भएपछि डाक्टरहरूले उल्टै पीडित पक्षमाथि हातपात गरेका थिए ।


चिकित्सकले कुटपिट गरेको भन्दै पीडित पक्ष आक्रोशित भएपछि अस्पताल तनावग्रस्त बनेको हो । डाक्टरले गरेको हातपातको घटना छानबिनका लागि अस्पताल प्रशासनले समिति बनाएको थियो ।


अञ्चल अस्पतालको ल्यावको अवस्था भद्रगोल छ । अस्पतालको ल्यावमा कार्यरत चिकित्सक निजी ल्यावमा काम गर्न थालेपछि सिकारु विद्यार्थीको भरमा अस्पतालको ल्याव सञ्चालन भइरहेको छ । ल्याब परीक्षणमा समेत त्रुटि भएको पाइएको छ । परीक्षण रिपोर्टमा मिति र हस्ताक्षर छैन । अस्पतालको भवन नर्माणमा कमिसन, औषधि खरिदमा अनियमितता, अस्पतालको आर्थिक संकलनमा अनियमितता समेत भएको अस्पतालका कर्मचारी बताउँछन् ।

प्रकाशित : चैत्र १०, २०७५ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?