दलित बस्ती निर्माण हुँदै

तराई–मधेस समृद्धि कार्यक्रमअन्तर्गतको अनुदानबाट बस्ती निर्माण थालिएको हो
भरत जर्घामगर

सिरहा — अति विपन्न दलित परिवारलाई लक्षित गरी सिरहाका दुई नगरपालिकाले गोलबजार र लहानमा नमुना एकीकृत दलित बस्ती निर्माणको सुरुवात गरेका छन् । थातथलोसम्म नभएका जिल्लाका दलित समुदायलाई सामूहिक आवास भवनका लागि नमुना एकीकृत बस्तीको निर्माण सुरु भएको हो । 

दलित बस्ती निर्माण हुँदै

लहान नगरपालिकाले ५ नम्बर वडास्थित बालुवा टोल र गोलबजार नगरपालिकाले ३ नम्बर वडास्थित जमदहमा बस्ती निर्माण सुरु गरेका छन् । ती दुवै स्थानमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आइतबार शिलान्यास गरी बस्तीको निर्माणको औपचारिक सुरुवात गरे ।


संघीय मामिला तथा सामान्य प्रशासन मन्क्रालयअन्तर्गत तराई–मधेस समृद्धि कार्यत्रमअन्तर्गतको अनुदानबाट बस्ती निर्माण थालिएको हो । १० परिवारका लागि लहान नगरपालिका वडा नम्बर ५ स्थित बालुवा टोलमा ९९ लाख २ हजार लागतमा ५ वटा भवन निर्माण गरिने लहान नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शत्रुघन प्रसाद चौधरीले जानकारी दिए । उनका अनुसार उपभोक्ता समितिमार्फत भवन निर्माण सुरु गरिएको हो ।


त्यसैगरी गोलबजार नगरपालिका ३ मा ६१ लाख रुपैयाँ लागतमा १० परिवारका लागि नमुना एकीकृत बस्ती निर्माण सुरु गरिएको हो । बस्ती निर्माणका लागि गुन्जा कन्स्ट्रक्सनले ठेक्का सकारेको गोलबजार नगरपालिकाले जनाएको छ ।


सामूहिक आवास भवनका लागि स्थानीय तहले व्यवस्थापन गरेको सार्वजनिक जग्गामा सामूहिक आवास भवन निर्माण गर्नुपर्ने प्रावधान बमोजिम नगरपालिकाको सार्वजनिक जग्गामा नमुना एकीकृत भवन निर्माण सुरु गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत चौधरीले जानकारी दिए ।


‘चालु आर्थिक वर्षमा १० परिवारका लागि भवन निर्माण गरिनेछ,’ उनले भने, ‘आगामी वर्षमा यसलाई निरन्तरता दिँंदै बस्ती बिस्तार गरिने योजना छ ।’ गोलबजार नगरपालिकाले डेढ बिघा जग्गा क्षेत्रफलमा अति विपन्न परिवारका लागि एकीकृत बस्ती निर्माण गर्ने जनाएको छ ।


भवन निर्माणपश्चात स्थानीय तहले निर्धारण गरे बमोजिम अति विपन्न परिवारलाई हस्तान्तरण गरिने र भवन तथा कोठा प्राप्त व्यक्तिले बेचबिखन वा हक अरूलाई हस्तान्तरण गर्न पाइने छैन । सामूहिक आवास भवनको स्वामित्व, सुरक्षा तथा व्यवस्थापनको जिम्मेवारी सम्बन्धित स्थानीय तहको हुनेछ ।


दिनभरि माटोसँग खेलेर न्यून मजदुरीले आफूसहित जहान बालबच्चालाई एक पेट खुवाउन समेत कष्ट झेलिरहेका जिल्लाका अधिकांश दलित समुदायका अतिविपन्न परिवारको आफ्नै थातथलो नहुँदा बसोबासको असुरक्षा भोग्न बाध्य छन् । ती परिवारका लागि नमुना एकिकृत दलित बस्ती निर्माणबाट थातथलोको ग्यारेन्टी हुने गोलबजार नगरपालिकाका प्रमुख देवनाथ साहले बताए ।

सिरहामा दलित मुसहर समुदायको ३९ हजार ९ सय २९, चमार समुदायको ३६ हजार १ सय ५० र दुसाध समुदायको २० हजार ८ सय ९० र डोम समुदायको १ हजार ६ सय २६ जनसंख्या छ ।


‘संविधानमा उल्लेख गरिएको आवास र जग्गा नभएका दलितलाई कम्तीमा एक पटकका लागि आवास र जग्गा दिने व्यवस्था मात्र कार्यान्वयन गरिदिने हो भने अति विपन्न दलित परिवारको थातथलोको मुख्य समस्या स्वतः हल हुनेथियो,’ अधिकारकर्मी राजकुमार राउत कुर्मीले ‘त्यसपछि शिक्षा, स्वास्थ्य, रोजगारीको लगायतको सवालमा गरेको कामको उपलब्धि देखिन सक्छ ।’ सिरहाका दुई स्थानीय तह गोलबजार र लहान नगरपालिकाले नमुना एकीकृत दलित बस्ती निर्माणको सुरुवात गरेर सह्रानिय कामको थालनी गरेको कुर्मीको भनाइ छ ।


मन्त्री पण्डितले सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत मधेस समृद्धि कार्यक्रम अघि सारेको बताए । तराई मधेसका २१ जिल्लामा सामूहिक आवास भवन लगायत सामुदायिक पूर्वाधार, सडक, कृषि विकास, खानेपानी तथा सरसफाई, सिँचाइ तथा नदी नियन्त्रण, ऊर्जा, विपद् न्यूनीकरण पूर्वाधार लगायत ८ क्षेत्रलाई प्राथमिकतामा राखेर काम अगाडि बढाएको मन्त्री पण्डितले जानकारी दिए ।

प्रकाशित : चैत्र १२, २०७५ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?