कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विकासमा जुट्दै बालाबाखर

जनकपुर — माओवादी युद्धका क्रममा दुबै पक्षका गरी एक दर्जन बढी व्यक्तिको मृत्युको साक्षी बनेको धनुषा सुदूरपूर्वीको बालाबाखर गाउँ अचेल ५२ सालअघिको सद्भावको लयमा फर्किन थालेको छ । 

कम्युनिस्ट र कांग्रेसको राजनीतिक प्रतिष्पर्धा कायमै रहे पनि दुई पक्षबीचको पानी बाराबारको अवस्था छैन । गाउँका विहेवारी, पूजा–अर्चना र मेलापातमा दुबै पक्ष एकाकार हुन्छन् । विकास निर्माणका योजनाहरू मिलेर सञ्चालन गर्छन् । गाउँलेहरूको कथन छ, ‘अब माओवादी जनयुद्धकालीन घाउहरू सुक्दैछन् । गाउँ पुनः पुरानै लयमा फर्किदै छ ।’


तत्कालीन बालाबाखर गाविसका अध्यक्ष तथा कांग्रेस नेता सहिद रामसेवक यादव (खलीफा) को सालिक अनावरण तथा आमसभालाई सम्बोधन गर्न बुधबार कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल बालाबाखर पुग्दा उनको स्वागतमा सिंगै गाउँ लामबद्ध थिए । कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूको स्वागतमा पनि यस्तै दृश्य देखिन्छ ।


‘चुनावका बेला प्रतिष्पर्धा गर्छौं । बाँकी समय समाजमा मिलेर बस्छौं । गाउँले धेरै गुमाएको छ अब गुमाउनु नपरोस् हाम्रो यही चाहना हो ।’ जनयुद्धको क्रममा दुबै छोरा गुमाएका कांग्रेस नेता शत्रुघनले भने । धनुषा सदरमुकाम जनकपुरभन्दा झन्डै २५ किमि पूर्व कमला नदीको किनारमा अवस्थित बालावाखर शिक्षा,स्वास्थ्य र भौतिक संरचनाका दृष्टिले पछाडि परेको देखिए पनि यहाँको वासमती चामल भने अति नै स्वादिष्ट मानिन्छ । गाउँवासी राजनीतिक रूपले चेतनशील छन् ।


माओवादी जनयुद्धका क्रममा आफ्ना दुबै छोरा गुमाएका शत्रुघन पुराना तीतामीठा बिर्सेर पुनः मिलेर बस्न चाहन्छन् । भन्छन्, ‘बन्दुकले जित्न सक्दो रैनछ, प्रेमले जित्न सकिन्छ । अब हामी प्रेमपूर्वक बस्न चाहेका हौं ।’

प्रकाशित : चैत्र १६, २०७५ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?