कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

भारतीय लोकसभा निर्वाचन : सीमामा सतर्कता

रवीन्द्र उप्रेती

महोत्तरी — भारतमा हुने लोकसभा निर्वाचनलाई ध्यानमा राख्दै विहारको सीतामढी जिल्लासँग जोडिएको महोत्तरी, सर्लाही र रौतहटका नाका ७२ घण्टा सिल गरिने निर्णय गरिएको छ ।

भारतीय लोकसभा निर्वाचन : सीमामा सतर्कता

भारतीय निर्वाचनलाई प्रभावित गर्ने कुनै पनि सामग्री नेपाली एफमबाट चुनाव अवधिभर प्रसारणमा रोक लगाउने नेपाली पक्षले सहमति जनाएका छन् । लागूऔषध र मदिरामा पूर्ण रोक लगाउन दुवै पक्ष राजी भएका छन् ।


दुबै पक्षको वैठक लगत्तै भिट्ठामोड, मटिहानी, समसीलगायत भारत प्रवेश गर्ने नाकामा सुरक्षा सतर्कता बढाइएको छ । बैठकमा सीमा सुरक्षासँग सम्बद्ध ६ एजेन्डा प्रस्तुत गरिएको थियो । एजेन्डामा बुँदागत छलफलपछि दशगजा क्षेत्रका बजार पसललाई समेत मतदानको ७२ घण्टा अगावै बन्द गर्ने सहमतिसमेत भएको छ ।


महोत्तरीसँग सीमा जुटेको भारत विहारको सीतामढी र मधुवनी जिल्लामा पाँचौं चरणअन्तर्गत बैशाख २३ गते मतदान हुँदै छ । लगत्तै छैठौें चरणअन्तर्गत प्रदेश २ का पश्चिमी जिल्लासँग सीमा गासिएका बालमिकीनगर, चंपारणलगाएका भारतीय जिल्लामा बैशाख २९ मा मतदानको तिथि तय गरिएको छ ।


नेपाली तथा भारतीय अधिकारीबीच बिहीवार सीतामढीमा साँझ अवेरसम्म चलेको बैठकले आसन्न निर्वाचनमा शान्ति सुरक्षा कायम गराउन सीमा क्षेत्रमा बैशाख २१ गतेदेखि २३ गते साँझसम्म र बैशाख २७ गते विहानदेखि २९ गते साँझसम्मका लागि सीमा नाका सिल गरी आवागमनमा रोक लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जनाए ।


यस अवधिमा आकस्मिक सेवाका एम्बुलेन्स, वारुण यन्त्र, प्रेसका गाडी र रेल्वे टिकट बोकेका नेपाली यात्रीलाई स्टेसनसम्म आवागमनमा सहुलियत दिने नदिने स्पष्ट पारिएको छैन ।


छलफलका क्रममा अवैध हतियार, विस्फोटक तथा लागूऔषध तस्करी, जाली नोट, आपराधिक घुसपैठ, सीमा अतिक्रमण, आतंकाकारी गतिविधिलगायतका समस्यामा दुवै मुलुकका अधिकारी गम्भीर देखिएका छन् । यस्ता अपराध नियन्त्रणका लागि नेपाली र भारतीय अधिकारीले संयुक्त अभियान चलाउने लिखित सहमति गरिएको छ । बैठकमा दुवैतर्फका प्रहरी प्रमुखले अपराधीको सूचीसमेत आदानप्रदान गरेको जनाइएको छ ।


सूचीका आधारमा एक देशमा अपराध गरी अर्को देशमा लुकिबसेकालाई नियन्त्रण र कारवाहीको दायरामा ल्याउन दुवै पक्ष राजी भएका छन् । सशस्त्र र नेपाल प्रहरीका उपरीक्षक विश्वेश्वर थापा तथा ईश्वर कार्कीका अनुसर निर्णयलगत्तै दुवैतर्फका सुरक्षाकर्मीले आ आफनो भूमिमा चेक जाँच कडा पारेका छन् । बैठकले आपराधिक गतिविधि नियन्त्रणका लागि विशेष सुरक्षा सतर्कता अपनाउने निर्णय गरेको छ ।


निर्णय कार्यान्वयन गर्दै सीमा क्षेत्रमा आवागमन गर्ने सवारी तथा संदिग्ध गतिविधिमाथि कडा नजर राख्न सुरु गरिएको उनीहरूले जनाए । सुरक्षा सतर्कता चुस्त पार्न सीमा इलाकामा दुवैतर्फबाट गस्ती निगरानी बढाउने, आपराधी एवं आपराधिक क्रियाकलापबारे पारस्परिक सूचना आदानप्रदान गर्ने र दुवैतर्फका नाकामा सुरक्षा तैनाथी बढाउने निर्णय भएको थापा र कार्कीले जनाए । घना बस्ती भएका र आवागमनको चाप रहको स्थान, अपराधी लुक्न सक्ने सम्भावित ठाउँ चिन्ने गरी त्यहाँ विशेष सुरक्षा सतर्कता अपनाउने दुवै पक्ष सहमत भएका छन् ।


त्यस्तै मतदान नजिकिने क्रमसँगै यात्रुको तलासी र सीमा वारपार गर्ने सवारीको अनिवार्य रेकर्ड राखने पहलसमेत सुरु गरिएको छ । बैठकमा सीमा क्षेत्रमा हुने लागूऔषध तथा मदिरा नियन्त्रणमा कठोर कदम उठाउन दुवै पक्षका अधिकारी राजी भएको जनाइएको छ ।


सीमासँग जुटेका भारतीय बजारमा औषधिको नाममा खुला रूपले हुँदै आएका लागूऔषध बिक्रीवितरण नियन्त्रण गर्न लिखित सहमति गरिएको छ । त्यस्ता औषधि पसलको अनुगमन गरी दोषी पाइए अविलम्व कारवाही गरिने निर्णय भएको छ । नेपाली पक्षको नेतृत्व सर्लाही प्रजिअ पौडलले तथा भारतीय पक्षको सीतामढी डिएम डा. रणजीतकुमारले गरेका थिए ।


नेपाली एफएमप्रति चासो

बैठकमा भारतीय पक्षले नेपाली एफएमबाट हुने भारतीय चुनावको प्रचारप्रसारबारे व्यापक चासो लिएका छन् । त्यहाँको निर्वाचन आयोगले आचारसंहिता पालनामा कडाइ गरेकाले कानुनी झन्झटबाट बच्न उम्मेदवार तथा पार्टीले विगतका निर्वाचनदेखि नेपाली एफएमलाई प्रचारको माध्यम बनाएको भारतीय अधिकारीले गुनासो पोखेका थिए ।


नेपाल भारत जिल्ला समन्वय समितिको बिहीवार सीतामढीमा सम्पन्न बैठकमा प्रस्तुत ६ नं एजेन्डाको ३ नं बुँदामा चुनावी प्रक्रिया सम्पन्न नहुनजेलसम्मका लागि निर्वाचनलाई प्रभावित गर्ने सामग्री प्रसारणमा रोक लगाउन लिखित सहमति गरिएको छ ।

प्रकाशित : चैत्र १६, २०७५ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?