२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

तनाव हटाउन हुरीक्षेत्रमा शिक्षा केन्द्र

प्रदेशसभा बैठक
अजित तिवारी

जनकपुर — शक्तिशाली हुरीपछि विद्यार्थी र बालबालिकामा देखिएको मानसिक तनाव हटाउन प्रदेश २ को सरकारले प्रभावित क्षेत्रमा शिक्षा केन्द्रको स्थापना गर्दैछ । बारा र पर्साका हुरी प्रभावित क्षेत्रका विद्यार्थी र बालबालिकालाई केन्द्रमा शिक्षा र खेलकुदको गतिविधि गराइने छ ।

तनाव हटाउन हुरीक्षेत्रमा शिक्षा केन्द्र

प्रदेशसभाको बुधवारको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले बारा–पर्सामा आएको शक्तिशाली हुरीले पुर्‍याएको जनधनको क्षतिबारे बोल्दै ८ वटै प्रभावित इलाकामा शिक्षा केन्द्रको स्थापना तत्कालै गरिने जानकारी दिए । उनले हुरीले विद्यालयमा पनि क्षति पुगेको र विद्यार्थीहरूको किताब समेत उडाएकाले बालबालिकाहरूलाई अलमलाउन र घटनाले बढेको तनाव हटाउन शिक्षा केन्द्रको स्थापना गर्न लागेको बताए ।


‘शिक्षा केन्द्रमा विद्यार्थी र बालबालिका खेल्ने र पढ्ने दुवै काम गर्नेछन्,’ मन्त्री यादवले भने,‘यसले उनीहरूमा रहेको मानसिक तनावलाई मत्थर पार्नेछ ।’ प्रदेश सरकारले हुरीले क्षतिग्रस्त विद्यार्थीको मर्मतसम्भार तत्कालै थाल्ने तयारीमा रहेको समेत उनले बताए । ‘हुरी प्रभावित सबै विद्यार्थीलाई हामी निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउँदैछौं,’ मन्त्री यादवले प्रदेशसभामा बोल्दै भने,‘क्षतिग्रस्त स्कुलको मर्मत काम पनि अगाडि बढाइसकिएको छ ।’


मन्त्री यादवले हुरी प्रभावित क्षेत्रमा ७ वटा क्लस्टर बनाएर राहत सामग्री वितरण थालिएको बताए । हुरीले बढी समस्यामा रहेको गर्भवती र सुत्केरी महिला, नवजात शिशु, बालबालिका र वृद्धवृद्धालाई केन्द्रित गरेर राहत र पूर्नवासको बन्दोबस्त मिलाइएको उनले बताए । त्रिपालमा रहेका हुरी प्रभावित बासिन्दालाई टेन्टमा सार्ने प्रयास भइरहेको मन्त्री यादवले बताए ।


‘त्रिपालमा बस्नेलाई लामखुट्टेले दुःख दिइरहेको छ । त्यसैले झुलको बन्दोबस्त मिलाएका छौँ,’ मन्त्री यादवले भने,‘हावाहुरी र वर्षाको मौसम रहेकाले उनीहरूलाई त्रिपालबाट टेन्टमै सार्नुपर्छ । प्रयास भइरहेको छ ।’ खानेपानीका लागि हुरी प्रभावित ८ वटै बस्तीमा दुई–दुईवटा चापाकल गाँड्ने प्रदेश सरकारले निर्णय गरेको छ ।


प्रदेश सरकारले हुरी प्रभावित क्षेत्रमा तत्कालै उद्धारमा खटिएका सुरक्षाकर्मी र अन्य संघसंस्था तथा स्थानीयलाई धन्यवाद समेत दिएको छ । मन्त्री यादवले प्रदेश ३, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई समेत सहयोग गरेकोमा प्रदेशसभाको बैठकमा धन्यवाद दिए । ‘बारा र पर्सामा हुरीले ठुलो जनधनको क्षति पुर्‍याएको छ,’ उनले भने, ‘दुःखको बेला सहयोग गर्ने सबैलाई धन्यवाद ।’


राहतमै ध्यान

प्रदेशसभाको बैठकमा सांसदहरूले राहत र पूर्नवासमै प्रदेश सरकारलाई ध्यान केन्द्रित गर्न सुझाव दिएको छ । सत्तापक्ष र विपक्षी दलका सांसदहरूले उद्धार र उपचारमा प्रदेश सरकारको भूमिका सराहनिय रहेको भन्दै राहत र पुनर्वासमा पनि तदारुकता देखाउन आग्रह गरे ।


नेकपाका सांसद सुन्दर बहादुर विश्वकर्माले हुरी प्रभावित क्षेत्रमा खानेपानी र शौचालयको समस्या रहेको भन्दै राहतलाई व्यवस्थित गर्नुपर्ने बताए । ‘सहयोग र राहत एकै ठाउँमा थुप्रिने, अरुतिर नपाउने समस्या पनि छ,’ सांसद विश्वकर्माले भने, ‘स्थानीय निकायलाई राहत वितरणमा जिम्मेवार बनाउनुपर्छ ।’ उनले अस्पतालमा सरकारको प्रतिनिधि नहुँदा घाइतेको उपचार बन्दोबस्तमा समेत समस्या भइरहेको बताए ।


राष्ट्रिय जनता पार्टीका सांसद बाबुलाल साहले हुरीले बारा र पर्सालाई अस्तव्यस्त पारेको बताए । हुरी प्रभावित क्षेत्रमा बिजुलीको व्यवस्था तत्कालै गर्न उनले माग गरे ।


प्रदेशसभाको बैठकमा सभामुख सरोज यादवले बारा र पर्सामा हुरीले मृत्यु भएकाप्रति प्रस्तुत गरेको शोक प्रस्ताव पारित गरिएको थियो । प्रदेश २ का सांसदले ७ दिनको तलब हुरी प्रभावित क्षेत्रका लागि दिने घोषणा समेत गरेको सभामुख यादवले जानकारी दिए । प्रदेश २ का उद्योग, पर्यटन तथा वन राज्यमन्त्री सुरेश मण्डलले १ महिनाको तलब दिने घोषणा गरेका छन् ।

प्रकाशित : चैत्र २०, २०७५ १६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?