१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

जंगली जनावरबाट भयभीत

श्यामसुन्दर शशि

जनकपुर — जंगली घोडा, बँदेल र बाँदरले बालीनाली नष्ट पार्न थालेपछि मध्यपूर्वी धनुषावासी चिन्तित बनेका छन्  । जंगली बँदेलले आक्रमणसमेत गर्न थालेपछि उनीहरू भयभीत छन्  ।

बँदेलको आक्रमणबाट गत महिना कमला र विदेह नगरपालिकाका एक दर्जनभन्दा बढी स्थानीय घाइते भएका थिए । तीमध्ये केहीलाई अस्पतालसमेत भर्ना गर्नुपरेको थियो ।


आहार, पानी र चुरे जंगलमा डढेलो लागेपछि चैत, वैशाखमा घोडा, बँदेललगायतका जंगली जनावर पूर्व–पश्चिम राजमार्ग छेउछाउका गाउँमा देखिने गरिन्थ्यिो । तर अचेल ती जनावरहरू पूर्वी धनुषाको गणेशमान चारनाथ, सहिदनगर यदुकुहा, क्षीरेश्वरनाथ, धनुषाधाम, कमला, विदेहलगायत मध्यपूर्व धनुषाका गाउँहरूमा १२ महिना देखिन थालेका छन् । ती जंगली जनावरहरूले खेतबारीमा लगाइएको आलु, गहुँ, मकै, धानलगायतका बालीनाली बर्बाद गर्न थालेका छन् ।


‘जंगली बंगुरले मेरो चार कट्ठामा लगाइएको आलु लगभग बर्बाद नै पार्‍यो ।’ विदेह नगरपालिकाका सञ्जीव मण्डल कान्तिपुरसँग भने । १०/१२ को झुन्डमा आउने बँगुरलाई धपाउन खोज्दा आक्रमणसमेत गरेको उनको कथन छ । भन्छन्, ‘सरकार नियन्त्रण गर्दैन । मार्दा जेल पर्ने डर छ । किसान केही गर्ने स्थितिमा छैनन् ।’


जंगली बँगुर, गोडगदर तथा बाँदरले उत्पात मचाएको सूचना स्थानीय प्रहरीलाई दिए पनि उनीहरूले खासै सुनुवाइ नगरेको स्थानीयवासीको आरोप छ । ग्रामीण इलाकामा अवस्थित प्रहरी चौकी तथा इलाका प्रहरी कार्यालयका सुरक्षाकर्मीसमेत केही गर्ने अवस्थामा छैनन् । इलाका प्रहरी कार्यालय औरहीका प्रमुख प्रहरी नायब निरीक्षक रामबाबु सिंह जंगली जनावरको उत्पातबारे आफूहरूलाई जानकारी रहेको बताए । तर वन विभागसँग सम्बन्धित विषय भएकोले आफूहरू केही गर्न सक्ने अवस्थामा नरहेको उनको कथन छ । डिभिजनल वन अधिकृत अशोककुमार झा पछिल्ला वर्षहरूमा तराईका मैदानी क्षेत्रमा पनि जंगली जनावरको संख्यामा बृद्धि भएको स्वीकार गर्छन् । तर गोडगदर र बंगुर जंगली जनावरको श्रेणीमा सूचीकृत गरिएकाले यसलाई मार्न भने नहुने उनको कथन छ ।


राष्ट्रिय निकुञ्ज तथा वन्यजन्त संरक्षण ऐन २०२९ को दफा २६ ले संरक्षित जंगली जनावरलाई मर्ने, घाइते बनाउने, आखेटोउहार दिने अथवा खरिद–बिक्री गर्नुलाई आपराधिक क्रियाकलापको रूपमा व्याख्या गरेको छ । यस्ता कार्यमा संलग्न व्यक्तिलाई ५० हजारदेखि १ लाखसम्म जरिवाना वा ५ वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । वन्यजन्तुका कारण मैदानी क्षेत्रका किसानहरू मर्कामा परेको विषय सम्बन्धित उपल्ला निकायमा उठाए पनि हालसम्म कुनै निर्देशन नआएको डिभिनल वन अधिकृत अशोककुमार झाको कथन छ ।


चुरे जंगलको निरन्तर कटान, चरिचरण तथा जंगली क्षेत्रमा मानव बस्तीका कारण जंगली जनावर सुरक्षा तथा आहारको खोजीमा मैदानी भागमा आउने गरेको झाको भनाइ छ । पछिल्लो पटक वृक्षरोपणमा भएको वृद्धिले जंगली जनावरलाई प्रजनन गर्नसमेत सजिलो भएको झाको कथन छ । यद्यपि रातो मृग, चितल, चौघडा, बँदेल, घोडालगायतका केही जनावरलाई जिल्ला सिकार अनुज्ञापत्र (लाइसेन्स) लिएर सिकार गर्न सक्ने प्रावधान भने छ ।


लाइसेन्स लिएर एक पटकमा दुईवटासम्म बँदेल तथा एकवटा घोडगदर मार्न सकिने व्यवस्था राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली २०३० मा छ । लायसेन्स प्राप्त नेपालीले एउटा बँदेल मारेबापत ३ हजार र घोडगदर मारेबापत ७ हजार तथा विदेशी नागरिकले बँदेल मारेबापत ५ हजार र घोडा मारे २५ हजार राजस्व तिर्नुपर्ने व्यवस्था छ ।

प्रकाशित : चैत्र २१, २०७५ ११:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?