२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

बेनामी उजुरी बढेपछि समस्या

रवीन्द्र उप्रेती

महोत्तरी — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सत्यतथ्य यकिन नगरी उजुरीको भरमा करवाही गर्दा निर्दोष तथा इमान्दार नागरिकले सास्ती पाएको स्थानीय तहका जनप्रतिनिधिले गुनासो गरेका छन् ।

भ्रष्टाचारले हरेक नागरिकलाई कुनै न कुनै रूपमा प्रभावित पार्ने कुरामा दुईमत हुन सकिँदैन तर रिसइबी र दुरासय साँध्ने नियतले परेका उजुरीबाट अख्तियारजस्तो संस्था भ्रमित र प्रभावित भएमा भ्रष्टाचारको ठाउँमा सुशासन निर्मुल हुने उनीहरूले बताए ।


बर्दिवासस्थित अख्तियार दुरुपयोग अनुसन्धन आयोगको कार्यालयले बिहीवार सदरमुकाम जलेश्वरमा आयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन’ विषयक अन्तर्क्रियामा सहभागी जिल्लाका १५ वटै स्थानीय तहका सयभन्दा बढी जनप्रतिनिधिले एकातिर सुशासन प्रवर्द्धनमा आयोगसँग सहकार्यको प्रतिबद्धता गरे भने अर्कोतिर ‘बेनामी उजुरी’ विरुद्धमा प्रतिवाद गरे ।


जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्रले त दुरासय साँध्ने नियतले परेका उजुरीकर्तामाथि पनि अख्तियारले कारवाही गर्नुपर्ने माग राखे । निवेदकमा नामको साटो ‘देशभक्त’ लेखेर दिइने झूटा विवरणका उजुरी आफैंमा अपराध भएको उनले जिकिर गरे । ‘के त्यसरी दिने उजुरीकर्ता मात्रै ‘देशभक्त’ हुन् अरू सवै देशद्रोही ?’ मिश्रले प्रश्न गरे, ‘आयोगलाई नै भ्रमित पार्ने त्यस्ता उजुरी अपराध हुन् कि हैनन् ? हो भने त्यस्ताउपर अख्तियारले छानबिन र कारवाही गर्नुपर्छ कि पर्दैन ?’


मिश्रले पछि निर्दोष ठहरिए पनि छानबिनको दायरामा तानिएका व्यक्तिको मानसिक तनाव र त्यसले विकास निर्माणमा पार्ने प्रभावबारे गम्भीर हुन पनि अख्तियारलाई आग्रह गरे । ‘अख्तिायरको फन्दामा परेको निर्दोषले न्याय पाउने कि नपाउने ? उनले प्रश्न थपे, ‘यस्ता कारवाहीले विकास निर्माणमा परेको असरको जिम्मेवारी कसले लिने ?’


जलेश्वर नपा वडा नं २ का वडाध्यक्ष वरुण दाहालले झूटा उजुरीका कारण अख्तियारको साखमाथि प्रश्नचिन्ह लागेको बताए । उनले कसैमाथि अनुसन्धान थाल्नुअघि परेका उजुरीको सत्यतथ्य यकिन गर्न आग्रह गरे । उनले झूटा उजुरीका भरमा सरकारी साधनस्रोत परिचालित गर्नु राम्रो संकेत नभएको धारणा राखे । ‘सुशासन प्रवर्द्धनका लागि अख्तियारसँग हातेमालो गर्न हामी तत्पर छां,ै’ उनले भने, ‘तर झूटा उजुरीबाट मुक्त नभएसम्म भ्रष्टाचारविरुद्धको कदम प्रभावकारी हुने लक्षण देखिँदैन ।’


बर्दिवासस्थित अख्तियार प्रमुख शिवराम न्यौपानेले अख्तियारमा पर्ने उजूरी र छानबिन तथा अनुसन्धानको प्रक्रियाबारे जानकारी गराउँदै भ्रष्टाचार नियन्त्रणमा स्थानीय तहको भूमिकाबारे अवगत गराएका थिए । भ्रष्टाचार नियन्त्रण एवं सुशासन प्रवर्द्धनका लागि स्थानीय जनप्रतिनिधिलाई सहकार्य र हातोमालालोका लागि उत्प्रेरित गर्ने उद्देश्यले पनि यो कार्यक्रम आयोजना गरिएको जनाए । ‘भ्रष्टाचारविरुद्धको कारवाहीलाई प्रभावकारी बनाउन यो प्रवर्द्धनात्मक कार्यक्रम हो,’ न्यौपानेले भने ।

प्रकाशित : चैत्र २४, २०७५ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?