१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

लोपोन्मुख खाद्यलाई प्रोत्साहन

श्यामसुन्दर शशि

जनकपुर — परम्परागत पोसिला एवं स्थानीय खाद्य पदार्थको प्रवर्द्धन गर्ने र असल पोषणका लागि खाने बानीमा सुधार ल्याउन जनकपुरमा आयोजना गरिएको खाद्य मेला सम्पन्न भएको छ ।

प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साह एक समारोहबीच मेलाको उद्घाटन गरेका थिए । खाद्य प्रविधि गुण नियन्त्रण विभागका महानिर्देशक संजीवकुमार कर्णले एक समारोहबीच मेलाको समापन गरे ।


रेडिमेड जंक फुड विस्थापित गरी पारम्परिक भोजन शैलीको प्रचार प्रसार तथा लोपोन्मुख पोसिला खाद्यान्नको उत्पादनलाई बढावा दिने उद्देश्यले खाद्य प्रविधि गुण नियन्त्रण कार्यालय जनकपुरधामले मेला आयोजन गरेको थियो ।


मेलामा प्रदेश २ सँगै कर्णाली, पाल्पा, गुल्मी, सिन्धुलीसहितका जिल्लामा उत्पादन हुने अन्न, तरकारी, गेडागुडीसँगै ती जिल्लामा रहेका खाद्य उद्योगको उत्पादन फ्रदर्शनी तथा बिक्रीको लागि राखिएको थियो । शुत्रबारको हावाहुरीले मेलामा सहभागीको संख्यामा कमि देखिए पनि मेलामार्फत स्थानीय उत्पादनलाई बढावा दिने तथा पारम्परिक भोजन शैलीबारे सकारात्मक सन्देश दिन सफल भएको महानिर्देशक कर्णले बताए ।


‘बालबालिका तथा युवायुवती रेडिमेड जंक फुडप्रति आकर्षित देखिएका छन् । आमाबुबा पनि यस्ता खानेकुरालाई प्रोत्साहन गरेको देखिन्छ तर यो स्वास्थ्यको लागि हानिकारक हो । हाम्रो पारम्परिक भोजन शैली वैज्ञानिक छ,’ कर्णले भने ।


विभागका उपमहानिर्देशक उपेन्द्र रायले मिथिलाको भोजन शैली लोकप्रिय रहेको उल्लेख गर्दै यसको प्रचारप्रसार गर्नुपर्ने बताए । ‘हामी स्वाद तथा पोषक तत्व भएको पारम्परिक खाद्य पदार्थको सट्टा कमसल जंकफुडलाई बढावा दिदैछौं । यसलाई रोक्नुपर्दछ,’ उनले भने ।


तीन दिनसम्म चलेको खाद्य मेलाका सहभागीलाई तीन विधामा पुरस्कृत गरिएको थियो । संघ–संस्थातर्फ सुनसरी टेक्निकल कलेज, धरानलाई प्रथम पुरस्कार प्रदान गरिएको थियो । एनसैण्ड धरान सुनसरीलाई दोस्रो, केन्द्रीय प्रविधि क्याम्पस धरान सुनसरीलाई तेस्रो तथा केन्द्रिय प्राविधिक क्याम्पस धरानलाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो ।


यसैगरी, खाद्य परिकार तथा अन्य विधातर्फ श्रीस्वीट्स धनुषालाई प्रथम, मिथिला खाना परिकार धनुषालाई दोस्रो, विराट वाटर इन्टरप्राइजेज धनुषालाई तेस्रो तथा फुडकेम प्रालि पर्सालाई सान्त्वना पुरस्कार तथा हिमाली कृषि उद्योग जुम्लालाई प्रथम, सौगात लघु उद्यम सहकारी सिन्धुलीलाई दोस्रो, पैंचो पसल प्रालि गुल्मीलाई तेस्रो तथा न्यु विकाजी दालमोठ उद्योग धनुषालाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो । पुरस्कृत संस्थाहरूलाई नगद, शिल्ड तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रकाशित : चैत्र २५, २०७५ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?