गुन्द्रुकको बिक्री बढ्दो

भरत जर्घामगर

सिरहा — गाउँघरका महिला समूहले तयार गरेको गुन्द्रुक, बिरिया, औदारी, सुखौटीको माग बढ्दो छ । लहानमा सोमबार सुरु महोत्सवमा महिलाद्वारा गाउँघरमा तयार गरिएको ती सामग्री अत्यधिक बिक्री भएका छन् ।

गुन्द्रुकको बिक्री बढ्दो

सधैंभरि विषादी र रासायनिक मल प्रयोग गरी उत्पादित सागसब्जीलगायत तरकारी सेवन गर्दै आएका शहरीया रहनसहनमा विषादीरहित घरेलु तरिकाबाट तयार गरिएका उत्पादन महोत्सवमा ‘नमुना’ बनेको हो । बजारमा कामकाजी महिलाले बनाउन नभ्याउने र गाउँघरमा तयार पारिएको त्यस्ता उत्पादनको माग बढेको हो ।


गुन्द्रुकलाई स्वास्थ्यका लागि बहुगुणी र तरकारी, अचारसमेत बनाएर भान्सामा प्रयोग गर्न सकिन्छ । गुन्द्रुक खेतबारीमा उत्पादित रायो, मूला, तोरी, काउलीको पात सुकाएर बनाइन्छ । त्यसैगरी तराईका भान्सामा चर्चित र स्वादिष्ट मानिने बिरिया बेथे, केराउ, खेसरीको सागलाई पिसेको दालले लेपन गरेर तयार पारिन्छ । काउली लगायत तरकारीलाई सुकाएर सुखौटी बनाइन्छ ।


यी सामग्री गाउँघरका गृहिणी महिलाले तयार पार्छन् । यसको बिक्रीबाट महिलाको आयआर्जन हुने भए पनि सहर बजारमा लोप हुने अवस्थामा छन् । महिलाको आयआर्जन वृद्धि गरी स्वरोजगारी बढाउन र रैथाने तरकारीलाई लोप हुनबाट जोगाउन महोत्सवमा दलित जनकल्याण युवा क्लबले यी सामान स्टलमा राखेको हो । स्थानीय परिवर्तन महिला समूह, मिथिला, महिला अधिकार मञ्च, पार्वती, राजदेवीलगायत ८ बचत समूहका २ सय महिलाद्वारा उत्पादित सामग्री खरिद गरि बिक्रीका लागि राखिएको हो । ‘गुन्द्रुक खाने इच्छा भए पनि बजारमा सहज उपलब्ध हुँदैन्थ्यो,’ लहान १ का शिवशंकर चौधरीले भने, ‘गुन्द्रुकको चटनी र तरकारी खान ५० रुपैयाँमा एक प्याकेट किनेँ ।’


गाउँघरमा महिला समूहद्वारा उत्पादित गुन्द्रुक, बिरिया, औदारी, सुखुटी एक दिनमा २३ सय प्याकेट बिक्री भएको बिक्री स्टलमा बसेकी सुनम चौधरीले जानकारी दिइन् । तरकारीमा प्रयोग हुने यी सामग्री टिपिकल भएकाले माग बढ्दो रहेको उनले सुनाइन् ।

‘हाम्रो लहान समृद्ध लहान, पर्यटन सहितको सुन्दर नगर निर्माण हाम्रो अभियान’ मूल नाराका साथ आइतबार सुरुमहोत्सवमा स्थानीयस्तरमा उत्पादित कृषिजन्य बस्तुदेखि बासजन्य सामाग्री, कृषि औजार, घरेलु सामग्री, दैनिक उपभोग्य बस्तु, सूचना प्रविधिदेखि औद्योगिक प्रदर्शनीका तीन सय स्टल छन् ।


महोत्सवमा धार्मिक पर्यटकीय क्षेत्रको पहिचान र विकासमा सहयोग पुर्‍याउने उद्धेश्यले लहान क्षेत्रका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्त्विक स्थलहरू सलहेश फुलबारी, राजदेवी मन्दिर, पकडियागढ, मानिक दह, ब्रम्हाणथान लगायतका सलहेश सर्किट आगन्तुकले अवलोकलन गर्नेछन् ।


महोत्सव उद्घाटन सोमबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गरेका थिए । १५ दिनसम्म चल्ने महोत्सवमा ५० करोड रुपैयाँको कारोबार हुने र चार लाख आगन्तुक भित्र्याउने लक्ष्य लिइएको महोत्सव मूल आयोजक समितिले जनाएको छ ।

प्रकाशित : चैत्र २७, २०७५ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?