कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

छठ पूजाको सामग्री किन्न सहयोग

हावा हुन्डरीपीडितलाई ११ हजार रुपैयाँ प्राप्त
पवन यादव

सिमरा — बाराको फेटा गाउँपालिका १ भलुहीका हावा हुन्डरीपीडित ११ छठ व्रतालुलाई पुजा सामग्री किन्न दाताले ११ हजार रुपैयाँ सहयोग गरेका छन् । 

छठ पूजाको सामग्री किन्न सहयोग

अमेरिका, इजरायल, अष्ट्रेलिया र नेपालकै विभिन्न स्थानका युवाहरूको सहयोगमा अलकाइन्डस ग्रुप सिमराले संकलन गरेको रकम र मनोज मेडिकल वीरगन्जले गरेको अर्थिक सहयोग गरी ११ हजार रुपैयाँ छठ पूजा सामग्री खरिद गर्न व्रतालुलाई प्रदान गरिएको हो ।


व्रतालुहरूको घर आँगनमै पुगेर अलकाइन्डस ग्रुप सिमराका अध्यक्ष अमृत सिंह बस्नेत र मनोज मेडिकलका संचालक प्रेमकुमार साहले सहयोग रकम हावा हुन्डरी पीडित छठैतिनलाई हस्तान्तरण गरेका हुन् । ‘पीडितलाई छठ सम्पन्न गर्न थोरै रकम भए पनि राहत पुर्‍याउन सहयोग गरेका हौं,’ बस्नेतले भने, ‘एक दिनअघि समाचार प्रकाशित भएको भए अरु सहयोग जुटाउन सजिलो हुन्थ्यो ।’


कान्तिपुरमा प्रकाशित समाचार पढ्नेबित्तिकै हतार हतारमा व्रतालुलाई सहयोग गरिएको उनले बताए । सूचना समयमा आइदिएको भए सहयोग रकम बढ्न सक्ने उनको भनाइ छ । छठ व्रत बस्नेलाई पूजा सामग्री किन्न आर्थिक समस्या परेको समाचार आएपछि सहयोगी हातले आर्थिक सहयोग गरेका हुन् ।


छठ व्रत एकपटक सुरु गरेपछि बाचुनजेल निरन्तरता दिनुपर्ने धार्मिक मान्यता छ । छठ ब्रत गर्ने ब्रतालुले जस्तोसुकै विपत्ति आए पनि छाड्न मिल्दैन । छठका ब्रतालुले एकपटक ब्रत बस्न छाडे दोहोर्‍याएर बस्न मिल्दैन । त्यही कारण ब्रतालु यो ब्रत छोड्न मान्दैनन् । ब्रत छोड्नै नसक्नेलाई ब्रत गर्न प्रोत्साहन गर्ने उद्देश्यले दाताले आर्थिक सहयोग गरेका हुन् ।


सहयोग पाएकाले दातालाई धन्यवाद दिएका छन् । निराहार र निर्जल बस्ने छठ ब्रत गर्न लागेका प्रभावित क्षेत्रका ब्रतालुलाई धेरै समस्या भएको स्थानीयले बताएका छन् । शुद्धता र सतर्कतापूर्वक मानिने छठ ब्रतका लागि चाहिने पूजा सामग्री ठेकुवा पकाउन गहुको शुद्ध पिठोको अभावलाई यो रकमले कम गरेको छठ ब्रतालु शर्मिला देवी दासले बताइन् ।


छठ ब्रत गर्दा पूजा गर्न नयाँ लुगा फेर्नै पर्छ । छठ पूजा गर्न नरिवल, केरा, बतासा, उखु, माटोको ढकनी, माटोको हात्ती, माटोको तावा लगायतका पुजा सामग्री अत्यावश्यक पर्ने उनले जानकारी दिइन् । यी सबै सामग्री खरिद गर्न कम्तीमा ३ हजारदेखि ८ हजार रुपैयाँ खर्च हुन्छ । तर पूजा सामग्री खरिद गर्न यत्रो रकम आफूहरूसँग नभएको भन्दै उनीहरू निराश बनेका थिए । ब्रत कसरी गर्ने चिन्ता लागेको थियो । हामी गाउँका सबै ब्रतालु महिला निराश थियौं । सहयोग पाएपछि गाउँका सबै ब्रतालु खुसी भएका छन् । साताअघि आएको विनाशकारी हावा हुन्डरीले घरसँगै धन सम्पत्ति नष्ट पारिदिएपछि बाराका प्रभावित क्षेत्रका ब्रतालु आर्थिक संकटमा परेका हुन् ।


मंगलबार विधिवत सुरु छठ ब्रत शुक्रबार समापन हुने छ । प्रभावित क्षेत्रका २ सयभन्दा बढी महिला चैते छठ ब्रत बसेका छन् ।


गंगासागरमा रमझम

जनकपुर (कास)– चैती छठको दोस्रो दिन बुधबार ‘षडना’ सम्पन्न भएको छ । दिनभर निराहार बसेका व्रतालुहरू राति नून नहालेको तरकारी, गुँड हालेर पकाएको खीर, पूरी तथा फलफूल खाएर षडना गरे । षडनाको प्रसाद सपरिवार सँगै खाने चलन छ ।


मंगलबार जलाशयहरूमा स्नान तथा चोखो खानेकुरा खाई सुरु भएको चार दिवसीय चैती छठको तेस्रो दिन बिहीबार अस्ताउँदो सूर्यलाई तथा शुक्रबार उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्व समापन हुनेछ ।


मिथिलामा कात्तिक र चैत गरी वर्षमा दुईपटक छठ पर्व मनाइन्छ । जनकपुरमा भने कात्तिकमा मात्र छठ मान्ने चलन थियो । तर पछिल्ला केही वर्षदेखि चैती छठमा पनि उल्लेख्य सहभागिता हुन थालेको छ । जनकपुरको गंगासागर र अंगराजसरसहित ग्रामीण इलाकाहरूमा पनि चैती छठ धूमधामले मनाइन थालिएको छ ।


पर्वको पहिलो दिन पवित्र जलाशयमा स्नान गरी चोखो खानेकुरा खाने विधिलाई स्थानीय भाषामा नहायखाय भनिन्छ । यसैगरी दोस्रो दिनको विधिलाई षडना भनिन्छ । षडनापछि निराहार व्रत बसेका व्रतालु शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएरमात्र खाना खान्छन् ।


यस लौकिक पर्वमा केरा, नरिवल, उखु, सुन्तला, निबुवा, बेसार, चामल र गहुँको आँटा तथा गुँडबाट निर्मित ठकुवा, भुसुवा, पिरुकिया, गुणालगायतका परिकारको प्रसाद प्रयोग गरिन्छ ।

प्रकाशित : चैत्र २८, २०७५ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?