धुमधामले चैती छठ, अस्ताउँदो सूर्यलाई अर्ध्य प्रदान गरियो 

श्यामसुन्दर शशि

जनकपुर — चैते छठीको तेस्रो दिन बिहीबार अस्ताउँदो सूर्यलाई अर्ध्य  प्रदान गरिएको छ । छठी महापर्वको उत्कर्ष मानिने सझुवा अर्ध्यमा सहभागी हुन जनकपुरको गंगासागर र अंगराज सरमा हजारौं श्रद्धालु सहभागी भए । 

धुमधामले चैती छठ, अस्ताउँदो सूर्यलाई अर्ध्य प्रदान गरियो 

पछिल्ला केही वर्षदेखि चैते छठीमा पनि व्रतालु र श्रद्धालुको संख्यामा बढिरहेको छ । १० वर्षअघिसम्म गंगासागरको घाटमा फाटफूट देखिनेमा यस वर्ष पूजा सामग्रीले घाट भरिभराउ छन् । व्रतालु र श्रद्धालु दुबैको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।


नेपाल पत्रकार महासंघ धनुषाका पूर्वअध्यक्ष एवं व्रतालु उमेश साहका अनुसार दश वर्षयता चैते छठी मान्नेको संख्या तेब्बरभन्दा बढीले बढेको छ । ब्रतालुको संख्यामा वृद्धि भएसँगै अंगराजसरमा पनि पर्व मान्न सुरु भएको छ ।

'व्रतालुभन्दा पनि श्रद्धालुको संख्या अझै बढेको छ । दर्शन गर्न गाउँबाट हजारौं आएको उमेशको कथन छ । चार दिवसीय छठ महापर्वको दोस्रो दिन बुधवार 'षडना' सम्पन्न भएको थियो । दिनभरि निराहार बसेका व्रतालु राति नुन नहालेको तरकारी, गुंड राखेर पकाएको खिर, पुरी तथा फल फूल खाएर षडना गरेका थिए ।


मंगलबार पवित्र जलाशयहरूमा स्नान तथा चोखो खानेकुरा खाई सुरु भएको चार दिवसीय चैते छठको तेस्रो दिन अस्ताउँदो सूर्यलाई र शुक्रबार उदाउँदो सूर्यलाई अर्ध्य दिएर पर्व समापन हुन्छु ।


जनकपुरको गंगासागर र अंगराजसरसहित ग्रामीण इलाकामा पनि चैते छठी धूमधामसाथ मनाइन थालिएको छ । पर्वमा केला, नरिवल, ऊखु, सुन्तला, नेवुवा, वेसार, चामल र गहुँको आँटा तथा गुंडबाट निर्मित ठकुवा, भुसुवा, पिरुकिया, गुणालगायत पारम्परिक परिकारको प्रयोग प्रसादको रुपमाा हुन्छ ।

प्रकाशित : चैत्र २८, २०७५ २१:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?