२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

हावाहुन्डरी प्रभावित बालबालिकामा झाडापखालाको डर

पवन यादव

सिमरा — हावाहुन्डरी (चक्रवात) को चपेटामा परेको बाराका प्रभावित बालबालिका असुरक्षित बन्दै गएका छन् । यी क्षेत्रका बालबालिका खुला स्थानमा बसेर खानासँगै उडेको धूलो खान बाध्य छन् ।

हावाहुन्डरी प्रभावित बालबालिकामा झाडापखालाको डर

प्रभावित क्षेत्रमा चलेको हावाले धुलोलगायत फोहोर उडाउने गरेको छ । धुलोसँगै उडेको फोहोर बालबालिकाले खादै गरेको थालको खानालाई दूषित बनाइदिने स्थानीय बताउँछन । मौसम परिवर्तनसँगै झाडापखाला प्रकोप बढ्ने समयमा फोहोर खाना खाने बालबालिका थप जोखिममा पर्ने सम्भावना बढेको प्रभावित क्षेत्रमा कार्यरत शिक्षक राकेश पाण्डेयले बताए ।


‘प्रभावित क्षेत्रका बालबालिका खाने खाना सुरक्षित छन्,’ उनले भने, ‘हावाले उनीहरूको खाना दूषित बनाइदिने गरेको देखिन्छ ।’ यस क्षेत्रमा झाडापखालाका बिरामी देखिन थालेको छ । समयमै प्रभावित क्षेत्रका बालबालिकालाई सुरक्षित पार्न अभिभावक र सम्बन्धित निकायले चासो देखाउनु पर्नेमा उनको जोड छ ।


प्रभावित क्षेत्रका अभिभावक भत्केको संरचनालाई पुनर्निर्माण गर्न र राहत लिनमै बढी केन्द्रित रहने गरेकाले बालबालिक सम्हालिन नसकिएका हुन् ।


बाराको फेटा गाउँपालिका १ भलुहीमा अभिभावकको अनुपस्थितमा भत्केको घर अघि बनेको टेन्ट नजिकै बाल्टिनमा घोलिएको घर लिप्ने हिलोमा साना नानीहरु खेल्दै गरेका थिए । त्यही नजिकै नेपाली सेना हावाले बिगारेको टेन्ट सम्याउँदै थियो । तर हिलोमा खेल्ने बालबालिकाले पूरै जिउ फोहोर बनाए पनि उनीहरूलाई कसैले सम्हालेका थिएनन् ।


बालबालिका हिलो शरीरभरि पोतेका थिए । उनीहरूले अनुहारमा चुहिँदै गरेको हिलोलाई जिब्रोले चाट्थे । उनीहरूलाई हिलोबाट टाढा बस्न कसैले रोक्दैन थिए । हिलो र धुलो खाएपछि पेट बिग्रिने र झाडापखाला लाग्ने स्वास्थ्यकर्मीको भनाइ छ । भत्केका घरको सामान निकाल्दैमा दिन बित्ने गरेको भलुहीकी सुगान्धी देवीले बताइन् । ‘आफनो बालबच्चालाई सबैले राम्ररी राख्न चाहन्छन,’ उनले भनिन, ‘कसैले जानीजानी बालबालिका जोखिमतर्फ धखेल्दैनन ।’


घरै नभएपछि बालबालिकालाई घेरेर राख्न नसकिएको उनको भनाइ थियो । खुल्ला स्थानमै बसाएर खाना खुवाउने बाध्यता रहेको उनले जानकारी दिइन् ।


भुमरीसहितको हावाहुरीबाट प्रभावित जिल्लको पुरैनिया, भरवलिया, गम्हरिया, परवानीपुर, तेलगाई, हर्दिया, प्रसुरामपुर, मनगढवा, धर्मनगर, फुलवरिया, भलुही, त्रिवेणी, बलिरामपुर, रामपुरवा, बगही, जमुनिया, चरमोहना, बुनियाद, रामपुरटोकनी, लिपनीमाल, चैनपुर, बहुअरी, बेनौली, सखुवाटलगायत गाउँका बालबालिका झाडापखालाको जोखिममा परेका छन् । प्रभावित क्षेत्रका बालबालिकालाई सुरक्षित राख्न अभिभावक, स्थानीय तह, स्थानीय स्वास्थ्यकर्मीले सजकता अपनाउनु पर्नेमा सरोकारवालाको जोड छ ।


हावाहुरी प्रभावित देवताल गाउपालिका ७ रमपुरवामा पनि सामान्य झाडा पाखाला लागेका बिरामी फेला पर्न थालेको उक्त गाउपालिकाको स्वास्थ्य संयोजक विश्वनाथ चौधरीले जानकारी दिए ।


‘सामान्य झाडा पखालाका बिरामी स्वास्थ्य चौकीमा उपचारको लागी आउने गरेका छन,’ उनले भने, ‘गम्भिर प्रकृतिका बिरामी अहिले सम्म भेटिएका छैनन ।’ स्वास्थ्य चौकीमा अहिले सम्म २० जना सामान्य झाडा पखाला लागेका बिरामी उपचारको लागि आएको उनले जानकारी दिए ।


झाडापखाला लागेर स्वास्थ्य चौकी आउने बिरामीमध्ये बालबालिकाको संख्या निकै बढी रहेको उनले जानकारी दिए । राहतस्वरुप गाउमा प्रभावित परिवारलाई वितरण गरिएको चाउचाउ, बिस्कुटलगायत पाकेटको खानेकुरा खाएका कारण बालबालिकमा मालजारी (आउ) देखिएको उनले बताए ।


हावाहुरी प्रभावित गाउका बालबालिकालाई स्वास्थ्यकर्मीले टोलटोलमा गएर झाडापखालाबाट बच्न महिलालाई भेला गराई सचेत गराईरहेका छन । बासी खाना नखानु, हातमुख साबुन पानीले सफा गरी मात्र आफू पनि खाना खानु र बालबालिकालाई पनि सफासुग्घर गरेर खाना खुवाउन स्वास्थ्यकर्मीले प्रभावित क्षेत्रका महिलालाई सिकाउदै हिडन थालेका हुन ।


प्रभावित क्षेत्रका बालबालिकालाई अभिभावकले सम्हाल्न नसक्दा स्थानीय बालबालिकाहरू असुरक्षित बन्दै गएका हुन । अभिभावकको निगरानी बाहिर पुग्ने बालबालिका खेल्दाखेल्दै दुर्घटनामा पर्ने गरेको स्थानीयको भनाई छ । प्रभावित क्षेत्रका बालबालिका खुल्ला वातावरणका कारण खानासंगै धुलो खाने गरेका छन । यसले झाडा पखाला लगायत रोगको जोखिम प्रभावित क्षेत्रमा बढेको सरोकारवालाको भनाइ छ ।

प्रकाशित : चैत्र २९, २०७५ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?