कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

जनकपुरमा अप्टिकल फाइबर

शाहीमान राई

जनकपुर — नेपाल टेलिकमले जनकपुर उपमहानगरपालिका क्षेत्रमा अप्टिकल फाइबर विस्तार गरी सेवा सञ्चालनमा ल्याएको छ । टेलिकमले फाइबर टु द होम (एफटिटिएच) योजना अन्तर्गत जनकपुरधाम उपमहानगरपालिकाअन्तर्गत २५ वटै वडाका बासिन्दालाई तीव्रगतिमा चल्ने इन्टरनेट र टेलिफोन सेवा वितरण गर्न सडक दायाँबायाँ अप्टिकल फाइबर विस्तार गरिरहेको जनाएको छ । 

एसियाली विकास बैंकको आर्थिक सहयोगमा जनकपुरधाम उपमहानगरपालिका एकीकृत सहरी विकास परियोजनाअन्तर्गत निर्माणाधीन सडक विस्तार, कालोपत्रे, ग्राभेल, मर्मतसम्भार, ढल निकासका लागि ड्रेन नाली निर्माण गर्ने क्रममा भत्किएर अवरुद्ध टेलिफोन, मोवाइल र इन्टरनेट सेवा अप्टिकल फाइबरको माध्यमबाट पुनःसञ्चालन गर्न लागेको नेपाल टेलिकम क्षेत्रीय कार्यालय जनकपुरका प्रमुख चिन्मय आनन्दले बताए ।


टेलिकमले अप्टिकल फाइबर विस्तार गरिसकेपछि मोवाइलमा फोजि इन्टरनेट डाटा, टेलिफोन, न्यूनतम ८ एमविपिएस गतिको इन्टरनेट सेवा घरघरमा पुर्‍याउने लक्ष्यका साथ काम भइरहेको प्रमुख आनन्दले बताए । फाइबर विस्तार भइसकेको स्थानमा करिब दुई सय ४१ घरमा फाइबर टु द होम सेवा वितरण गरिसकेको जनाएको छ । टेलिकमले भत्किएका संरचना मर्मतसम्भार तथा पुनर्निर्माण गर्दै गुणस्तरीय सञ्चार सेवा प्रवाह गर्न अप्टिकल फाइबर विस्तार गर्न लागेको हो ।


टेलिकमले विगतमा प्रयोग गर्दै आएको कपर लिंक केवल प्रविधि हटाएर अप्टिकल फाइबर विस्तार गरेपछि पहिलो चरणमा १२ हजार घरपरिवारलाई इन्टरनेटसहितको टेलिफोन सेवा वितरण गर्न लागेको सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले बताए । जनकपुरमा पहिलोपटक अप्टिकल फाइबरबाट टेलिफोन र इन्टरनेट सेवा उद्घाटन गर्दै सूचना प्रविधिमन्त्री बास्कोटाले ४ हजार २ सय जना कर्मचारी रहेको नेपाल टेलिकमले निजी कम्पनीसित प्रतिस्पर्धा गर्दै घरघरमा सेवा विस्तार गर्नुपर्ने बताए ।


मन्त्री बास्कोटाले टेलिकमको अप्टिकल फाइटर लिंकबाट उद्घाटन गर्दै प्रदेश नं २ का मूख्यमन्त्री लालबाबु राउत, मूख्य सचिव दिपक सुवेदी र जनकपुर उपमहानगरपालिकाकी उपप्रमुख रिताकुमारी झालाई टेलिफोन गरे । तर मुख्यमन्त्री राउतले फोन रिसिभ गरेनन् । ‘सरप्राइजको रूपमा नयाा नम्बरबाट कल गरेकोले मुख्यमन्त्रीजीले फोन उठाउनुभएन, जनकपुर उपमहानगरपालिका उपप्रमूख मिश्रले भने कलव्याक गरेर कुराकानी भयो ।’


टेलिकमले निजी कम्पनीभन्दा सस्तो शुल्कमा सेवा प्रदान गरेकोले सरकारी कम्पनी टेलिकमको सेवा लिन मन्त्री बास्कोटाले सर्बसाधारणलाई सर्बसाधारणलाई आग्रह गरे । पर्याप्त जनशक्ति भएको नेपाल टेलिकम सरकारको पहिलो नाफामूलक कम्पनी हुनुपर्ने भए पनि विभिन्न कारणले प्रतिस्पर्धामा पछि पर्न लागेको महसुस गरेको मन्त्री बास्कोटाले बताए ।


उनले टेलिकमका कर्मचारी अवकाशपछि र कार्यरत हुँदै पनि अन्य निजी कम्पनीमा ज्ञानसीप उपयोग गर्दै आएकाले सरकारी स्वामित्वको कम्पनी पछि परेको कर्मचारीलाई आरोप लगाए । नेपाल टेलिकमका निर्देशक डिल्लीराम अधिकारीले हिमाल पहाड तराईको जुनसुकै ठाउँमा अप्टिकल फाइबरको वायरलेस प्रविधिबाट इन्टरनेट र टेलिफोन सेवा वितरण गर्न लागेको बताए । उनले छिट्टै नै फोरजि सेवा समेत मुलुकभर विस्तार गर्न लागेको बताए ।


टेलिकमका अनुसार जनकपुर उपमहानगरपालिका क्षेत्रको परिक्रमा सडकको थापाचोक, वन्सिचोक, रेलवे स्टेसन, मिल्स एरिया, भानुचोक, कदमचोक, मुरलीचोक, तिरहुतियागाछी, रामचोक, जनकचोक, शिवचोक, जानकी मन्दिर नजिकै अरगजा स्टेसन, मुझेलिया, कपिलेश्वर, पेठियाबजार लगायत पूरै जनकपुर क्षेत्रको सडक किनारामा जमिनमुनि अप्टिकल फाइबर विस्तार गरिसकेको छ ।


जनकपुर उपमहानगरपालिका एकीकृत सहरी विकास आयोजना अन्तर्गत सडक विस्तारको क्रममा क्षतिग्रस्त संरचना टेलिफोन, विद्युत् र खानेपानी लाइन मर्मतसम्भार, पुरानो प्रविधिलाई विस्थापित गर्दै नयाँ प्रविधिको सेवा विस्तार गर्न लागेको टेलिकम जनकपुरले जनाएको छ । सडक किनारामा टेलिफोन, इन्टरनेटको लागि अप्टिकल फाइबर जमिनमुनि गाडिएको छ । टेलिकमले जनकपुरमा ध्वस्त संरचना मर्मतसम्भार गरी मुरलीचोक, थापाचोक र भानुचोकमा एक्चेन्ज थपेर सेवा विस्तार गर्न लागेको हो । एक्सजेन्ज थप्न घर भाडामा लिइसकेको टेलिकम प्रमुख चिन्मय आनन्दले बताए ।


यसअघि अरगजापोखरी, मुझेलिया र कपिलेश्वरमा एक्सचेन्ज थियो । उनले जनकपुर उपमहानगरपालिका क्षेत्रमा ६ वटा स्टेसन राखेर घरघरमा गुणस्तरीय टेलिफोन र इन्टरनेट सेवा विस्तार गर्ने योजना रहेको बताए । कपर लिंक हटाएर विस्तार गर्न लागिएको अप्टिकल फाइबरबाट इन्टरनेट डाटा सेवा छिटो चल्छ ।


जनकपुरको सडक विस्तारको क्रममा टेलिकमको कनेक्सन सिस्टम क्षति भएपछि ८० प्रतिशत टेलिफोन, इन्टरनेट सेवा अवरुद्ध भएको थियो । नेपाल टेलिकमले वितरण गरेको दश हजार ५ सय लेनलाइन (पिएसटिएन) टेलिफोनमध्ये ८ हजार र १ हजार ४ सयमध्ये १ हजार एडिएसएल इन्टरनेट सेवा अवरुद्ध थियो ।


अप्टिकल फाइबर विस्तार भएपछि १२ हजार टेलिफोन, एक हजार ६ सय एडिएसएल इन्टरनेट सेवालाई अप्टिकल फाइबरबाट सस्तोमा एक वर्षभित्र छिटो चल्ने इन्टरनेट र टेलिफोन सेवा वितरण गर्ने टेलिकमले जनाएको छ । टेलिकमले जिएसएम, सिडिएमए र पिएसटिएन टेलिफोनको लागि दस वटा बिटिएस टावर थप गरी क्षमता विस्तार गरेको छ ।


अप्टिकल फाइबर विस्तार भएपछि हरेक टेलिफोन लाइनमा एडिएसएल तथा अन्य प्रविधिबाट घरघरमा इन्टरनेट सेवा प्रदान गर्ने तयारीमा रहेको टेलिकमले जनाएको छ । जनकपुरको अरगजा, कदम चोक र पेठिया बजारमा टेलिफोन मर्मत तथा एक्सचेन्ज थपिएपछि ४ हजार ४ सय ६८ वटा एडिएसएल इन्टरनेट सेवा र १३ हजार ८ सय ६८ वटा लेनलाइन टेलिफोन वितरण गर्न सक्ने क्षमता विस्तार भएको छ ।


यसअघि टेलिफोनको क्षमता दस हजार ५ सय र एडिएसएल इन्टरनेटको क्षमता एक हजार ७ सय ९२ वटा मात्र थियो । तर अप्टिकल फाइबर विस्तार गरेपछि हरेक टेलिफोन लाइनबाट घरघरमा इन्टरनेट सेवा प्रदान गर्न सक्ने गरी निर्माण कार्य थालिएको टेलिकम प्रमूख आनन्दले बताए । टेलिकमले १७ वटा फाइबर वितरण केन्द्र (एफडिसि) मार्फत फाइवर टु द होम (एफडिएच) कार्यक्रम सञ्चालन गर्न लागेको छ । यसका लागि ११ वटा एफडिसिको नक्सा तयार गरी जडान गरिसकेको छ । अन्य ठाउँको एफडिसी फाइबर डिस्ट्रिव्युसन सेन्टरको नक्सा तयार हुन लागेको जनाएको छ ।


अप्टिकल फाइबरबाट टेलिफोनसहित वार्षिक ८ हजार ५ सय रुपैयाँमा ८ केविपिएसदेखि ५५ केविपिएससम्मको इन्टरनेट सेवा वितरण गर्न लागेको टेलिकम जनकपुर प्रमुख चिन्मय आनन्दले बताए । उनले यही रकममा एक सय मिटर फाइबर तार र इन्टरनेट राउटर, पहिलो चरणमा तीन महिना टेलिफोन महसुल निःशुल्क उपलब्ध गराउनेसमेत बताए । पहिलो चरणमा भानुचोक–शिवचोक, रेलवे स्टेसन, वकिल टोल, विद्यानगर, जनकपुर चुरोट कारखाना परिसरदेखि पिडारीचोक, परिक्रमा सडकको जनकचोक, भानुचोकसम्म नेटवर्क विस्तार भइसकेको बताए ।

प्रकाशित : चैत्र ३०, २०७५ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?