चैती छठमा छुवाछूत अन्त्य

गर्मीमा वैशाख शुक्ल षष्ठी र हिउँदमा कार्तिक शुक्ल षष्ठीका दिन वर्षमा २ पटक छठ मनाउने गरिन्छ
पवन यादव

सिमरा, बारा — वर्षौंदेखि सामाजिक कुसंस्कारको रूपमा रहेको भेदभाव र छुवाछूत अन्त्य गर्दै बाराको उत्तरझिटकैयास्थित ब्रह्मस्थान छठी घाटमा दलित र गैरदलित व्रतालु महिलाले शुक्रबार एकै साथ अर्घ्य दिए । दलित व्रतालु महिला विगतदेखि अलग बनेको सरस्वती माताको प्रतिमा सिरसोप्तामा बसेका थिए ।

चैती छठमा छुवाछूत अन्त्य

तर अर्घ्य दिने बेलामा अलग बस्न खोजेका दलित महिलालाई पुरोहित मनोजकुमार मिश्रले सूर्यलाई अर्घ्य दिन लाइनमा बसेका गैरदलित महिलासँगै लाइनमा बसाएका थिए । सधैं अलग बसेर सूर्यलाई अर्घ्य दिंदै आएका दलित महिलाले यसपालि कथित उपल्ला जातिका महिलासँगै सूर्यलाई अर्घ्य दिन पाउँदा खुसी भए । उनीहरू उपल्लो जातिका व्रतालुसँग अर्घ्य दिंदै गाउँका अन्य सार्वजनिक मठ मन्दिर, इनार, चापाकल सबैको पूजा पनि गरे ।


सामाजिक विभेद सहँदै आएका दलित महिला उनीहरूमा कुनै किसिमको भेदभाव भएको देखिएन । सबै एक भएर छठ पर्व मनाए । धर्मले नै भेदभाव बढाएको देखिन्छ । अर्कोतिर धर्मले नै धार्मिक भेदभावलाई चिर्दै एक अर्कामा मेलमिलाप गर्न सिकाएको यस्ता उदाहरण धेरै रहेको स्थानीय ९० वर्षीय वृद्धा झगरु राउत कुर्मीले बताए ।


‘भेदभाव समाजले बनाएको हो, समाजले नै यसको अन्त्य गर्छ,’ उनले भने, ‘पहिलाको तुलनामा अहिले भेदभाव धेरै घटेको छ ।’ दलित, गैर दलित सबै मिलेर चाडपर्व मनाउने चलन विस्तारै बढ्न थालेको उनको बुझाइ छ । गाउँकै ज्येष्ठ नागरिकसमेत रहेका उनले सबै धर्मावलम्बीलाई मिलेर बस्न सुझावसमेत दिएका छन् ।


जातिय छुवाछूतलाई अन्त गर्दै तराईमा बसोवास गर्ने हिन्दुहरूको सबै भन्दा ठूलो तथा महान पर्व चैते छठ शुक्रबार सूर्यको पहिलो किरणलाई अर्घ्य दिंदै सम्पन्न भएको छ । छठीघाटमा पुरोहितको मन्त्रपश्चात् व्रतालुले अर्घ्य दिए । पुरोहितले काचो गाईको दूध पूजा सामाग्रीमा राखेर व्रतालुलाई अर्घ्य दिलाएका थिए । छठ घाटको पूजा सम्पन्न गरेपछि व्रतालुले गाउँघरमा रहेका इनार, चापाकल, घरमा भएका सवारी साधन, गाई, गोरु, पति तथा आफ्ना अग्रज वृद्धवृद्धा, मठमन्दिर आदिमा पूजा गर्दै घर फर्किएका थिए । छठ पूजा समाप्त गरेपछि घरमा बनेको दालभात, पकौडा, दही लगायतका मिठो परिकार व्रतालुले भोजन गरेका हुन् ।


मंगलबारदेखि विधिवत सुरु भएको चैते छठको पहिलो दिन व्रतालुले नहाय खाए, दोस्रो दिन रसियाउ रोटी र तेस्रो दिन अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिएका थिए ।


मिठा, सख्खर, दूध, शुद्ध चामलको प्रयोग गरी माटोको हडियामा रसियाउ र खपरी (माटोको तावा) मा शुद्धता पूर्वका गहुँ पानीले सफा गरेर घाममा सुकाई सफा गरेको मेसिनमा पिंधेर निकालेको पीठोबाट सतर्कतापूर्वक रोटी पकाएर प्रसादको रूपमा खाएका थिए । त्यसपछि अन्न, जल दुबै त्याग गरेका व्रतालुले पूजा समाप्त गरेपछि मात्र अन्न, जल सेवन गरेका हुन् ।


रसियाउ र रोटी छठी माता र घरको देवतालाई चढाएपछि पहिला व्रतालु महिला (छठैतिन) ले रसियाउ रोटी खाएको बेलादेखि निर्जल र निराहार व्रत बसेका थिए ।


व्रतालुले घर नजिकको पोखरी, नदी, सरोवर आदिमा निर्माण भएको छठी घाटमा बिहीबार साँझपख अस्ताउँदै गरेको सूर्यलाई बासको सुपुली र दउरामा पूजा सामग्रीहरू राखेर अर्घ्य दिएका थिए ।


‘हिन्दुले मान्ने पर्वमध्ये छठ व्रत सबैभन्दा कठिन व्रत मानिन्छ,’ बारा उत्तरझिटकैयाकी व्रतालु मान्ती देवीले भनिन्, ‘यो पर्वमा व्रतालुले निर्जल, निराहार बस्छन् ।’ व्रत अवधिमा पानी समेत सेवन गर्दैनन् । शौच गर्ने बित्तिकै नुहाई धुवाई गरेर नयाँ कपडा फेर्ने चलनसमेत रहेको उनले बताइन् ।


कात्तिक महिनामा बस्ने छठ व्रतभन्दा चैत महिनामा गरिने छठ व्रत बस्न गर्मीको कारण कठिन हुने भएकोले चैतमा थोरै संख्यामा व्रतालु छठ व्रत गर्ने गरेको उनले बताइन् । गत वर्षको तुलनामा यस वर्ष गाउँमा चैते छठ गर्ने व्रतालुको संख्या घटेको उनले जानकारी दिइन् । यसपालि गाउँका २ जना दलित महिला र २० जना गैरदलित महिला गरी कुल २२ जनाले छठ व्रत बसेको उनले जानकारी दिइन् ।


व्रत समाप्त भएपछि छठ पर्वको प्रसाद छरछिमेक इष्टमित्र कहाँ पठाउने र विवाह गरेर गएका छोरीबेटीहरूलाई बायन पठाउने चलन रही आएको स्थानीय देवनारायण पटेलले बताए । छठ पर्व गर्दा चर्मरोग निको हुने, सन्तान प्राप्ति हुने र मनोकांक्षापूर्ण हुने जनविश्वास रहेको कारणले तराई भेगको यो पर्व विस्तारै पहाडी र हिमाली भेगमा समेत मनाउन थालिएको उनले जानकारी दिए ।


श्रद्धाभक्ति र धार्मिक सहिष्णुताको प्रतीकको रूपमा स्थापित यो व्रतलाई तराई मुलका ९५ प्रतिशत हिन्दु महिलाले मान्ने गर्छन् । यस पर्वलाई तराई भेगमा बसोबास गर्दै आएका पहाडी मूल, माडवारी र बङ्गाली समुदायका महिलाहरूले समेत अत्यन्त श्रद्धा र भक्तिपूर्वक मान्ने परम्परा बढ्दै गएको उनले जानकारी दिए ।


खासगरी महिलाहरूले बस्ने यस व्रत बस्न कुनै कारण घरको महिला असमर्थ भएको खण्डमा परिवारका पुरुष सदस्यले यो व्रत बसेर भए पनि व्रतलाई निरन्तरता दिनु पर्ने मान्यता रही आएको छ । छठ पर्वको लागी अनिवार्य मानिने पूजा सामग्रीहरूमा माटोको भाँडो (ढकनी), हात्ती, दियो, बाँसका भाँडाहरू (दौरी, सुपुली, छैंटी), उखु, नरिवल,आलसको तेल, फलफूल, चिनीको विशेष किसिमको मिठाई बतासा, पहेलो धोती आदि पर्दछन् ।

प्रकाशित : चैत्र ३०, २०७५ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?