कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

जनकपुरमा मनाइयो रामनवमी

श्यामसुन्दर शशि

जनकपुर — मर्यादापुरुषोत्तम भगवान् रामको जन्मोत्सव मिथिला नगरी जनकपुरमा शनिबार धूमधामका साथ मनाइएको छ । रामनवमीको अवसरमा हजारौं श्रद्धालु राम मन्दिर तथा जानकी मन्दिरमा पूजापाठ गर्नुका साथै हर्षबढाई गरेका थिए ।

जनकपुरमा मनाइयो रामनवमी

चैत शुक्ल नवमी तिथिको दिन मध्यान्ह १२ बजे रामको जन्म भएको धर्मग्रन्थहरुमा उल्लेख छ । यस अवसरमा जानकी तथा राम मन्दिरमा विशेष पूजा गरिनुका साथै मंगलगीत गाएर हर्ष बढाईसमेत गरिएको थियो । मध्यान्ह जानकी मन्दिरमा आयोजित हर्ष बढाईमा मन्दिरका छोटे महन्त रामरोशन दास वैष्णवसमेत सहभागी भएका थिए । मिथिलाञ्चलमा जन्म दिवसको अवसरमा सोहर गीत गाउने परम्परा छ । मन्दिर प्राङ्गणमा सोहर गीत गुञ्जिईरहँदा सहभागी साधु सन्त तथा श्रद्धालुहरु नाचेका थिए ।


यसैगरी राम मन्दिरका महन्त राम गिरीको नेतृत्वमा मध्यान्ह राममन्दिरमा विशेष पूजाअर्चना सँगै शान्ति पाठसमेत गरिएको थियो । महन्त गिरीका अनुसार सन्ध्या हर्ष बढाई हुनेछ । महन्त गिरीका अनुसार रामनवमीमा सहभागी हुन एक सातादेखि साधु सन्यासीहरुको आउनेक्रम जारी छ । उनीहरुको आवास तथा भोजनको व्यवस्था गुठी संस्थान तथा स्थानीयहरुको सहयोगमा गरिँदै आएको उनले बताए ।


रामनवमीको अवसरमा जानकी मन्दिरमा मुण्डन गर्ने परम्परा छ । भाकल गरेका अभिभावकहरु जानकी मन्दिरमा आ-आफ्ना छोराछोरीको मुण्डन गराएका थिए ।

प्रकाशित : चैत्र ३०, २०७५ १५:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?