बिदामा पनि कार्यालयमै

रवीन्द्र उप्रेती

महोत्तरी — शनिबार कार्यालय बन्द हुने परम्परा चन्द्रशमशेरका पालादेखि चलिआएको हो । नयाँ वर्ष प्रारम्भको अघिल्लो दिन शनिबारै परेकाले महोत्तरीको बर्दिवासका सरकारी कर्मचारी भने कार्यालयकै काममा व्यस्त रहे ।

बिदामा पनि कार्यालयमै

बर्दिबासस्थित यातायात कार्यालयका कर्मचारी कामको चापले हरेक दिन बिहान ९ः३० बजेदेखि राति अबेरसम्म कार्यालयमै व्यस्त रहन्छन् । वर्षान्तमा यातायात सेवा कार्यालयमा दैनिक कामकाजको विवरण कम्प्युटरमा टाइप गर्न र लेखापढी रेकर्ड मिलाउन व्यस्त रहेको कम्प्युटर शाखका नायव सुब्बा सन्तोष काफ्लेले बताए । उनले कार्यालयको काम सकिएपछि नयाँ वर्ष मनाउने योजना बनाउने बताए ।


केही महिनादेखि यातायात कार्यालयमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) को जिम्मेवारी थपिएदेखि कर्मचारीको दायित्व र व्यस्तता बढेको हो । जिम्मेवारी थपिए पनि थप कर्मचारी जनशक्ति नपठाउँदा कार्यरत कर्मचारीलाई १२/१४ घण्टासम्म काम गर्न बाध्य रहेको बताए ।


यातायात कार्यालयबाट सवारी चालक अनुमति पत्र वितरण, नवीकरण, सवारी कर असुली कार्य हुने गरेको छ । यति बेला दैनिक एक हजार जनाभन्दा बढी सेवाग्राही आउने गरेको नायव सुब्बा काफ्लेले बताए ।


‘एक जना सेवाग्राहीलाई ५ मिनेट समय लाग्दा सवैको काम सक्न ५ हजार मिनेट अर्थात् ८३ घण्टा ३३ मिनेट लाग्छ,’ उनले क्याल्कुलेटरमा औंला घुमाउँदै भने, ‘कार्यालय प्रमुखसहित हामी ८ जना कर्मचारी छौं, हरेक कर्मचारीले दस घण्टा ४१ मिनेट समय काम गर्नुपर्ने हुन्छ ।’


सेवाग्राही फर्किसकेपछि पनि कार्यालयभित्र कर्मचारी काम गर्छन् । सवारी लाइसेन्स अनुमति पत्रको परीक्षा हुने दिन झन व्यस्तता बढ्छ । उनका अनुसार लाइसेन्सका लागि सहभागीको कार्यतालिका तयार गर्ने, लिखित परीक्षाको तयारी लगायत काम गर्दा राती अवेर हुने गरेको कार्यालय प्रमुख शशि यादवले बताए ।


उनका अनुसार सवारी चालक अनुमतिपत्रको लिखित र प्रयोगात्मक परीक्षाका लागि कर्मचारी खटिनुपर्दा थप भार पर्छ । बर्दिवासस्थित यातायात कार्यालयवाट महोत्तरी, धनुषा, सिराहा, सप्तरी, सर्लाही, रौतहट, पहाडी जिल्ला सिन्धुली, रामेछाप र सिन्धुपालचोकबाट समेत सेवाग्राही आउने गरेको यादवले बताए । कामको चाप बढेपछि थप कर्मचारी माग गरे पनि उपल्लो निकायबाट सुनुवाइ नभएको कार्यरत कर्मचारीले गुनासो गरे ।


बर्दिवास यातायात कार्यालयमा कामको चापअनुसार थप ८ जना कर्मचारी आवश्यक रहेको प्रमुख यादवले बताए । यातायात कार्यालय बर्दिवासले मासिक एक करोडभन्दा बढी राजस्व संकलन गर्दै आएको छ । उनका अनुसार चैत महिनामा १ करोड २० लाखभन्दा बढी राजस्व संकलन भएको छ । अतिरिक्त समयमा काम गरेबापत कर्मचारीले थप सेवा सुविधा, पारिश्रमिक पाउनुपर्ने उनी बताउँछन् ।

प्रकाशित : वैशाख १, २०७६ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?