राहतमा चुनाव चिह्न ‘छाता’

लक्ष्मी साह

बारा — गत साता विनाशकारी ‘टोर्नाडो’ आउँदा बारा र पर्सामा ठूलो धनजनको क्षति भयो । दैनिकी क्षतविक्षत झयो । शक्तिशाली हुरी (चत्रवात) को चपेटामा परेर हजारौंको जनजीवन तहसनहस भयो । यस्तो विध्वंसकारी विपद्ले उनीहरूको दिनचर्या बिग्रियो ।

खानपानदेखि आवासको ठेगान भएन । सुत्ने, बस्ने समस्या भयो । दैनिकी नै विथोलियपछि हुरीपीडितहरू निराश छन् । अरूले के देला भन्ने आशमा दिन विताएका छन् । बालबालिका र महिला त्राहीमाम भयो ।


पीडितहरूको दैनिकी यसरी हुँदा उनीहरूको घाउमा मलम लगाइदिने थुप्रै सहयोगी हातलगायत तीनै तहका सरकार र विभिन्न पार्टीले अग्रसरता देखाए । त्यसले उनीहरूको अवस्था विस्तारै सामान्य बन्दै छ । पीडा भुलेर कतिपय पूर्वअवस्थामा दिनचर्या फर्काउन कोसिस गर्दैछन् । पीडामा कसैले खाद्यान्न सहयोग गरे त कसैले दैनिक आवश्यक पर्ने सामान राहतस्वरूप वितरण गरे, जसले पीडितहरूलाई राहत पुगिरहेको छ ।


यसै सन्दर्भमा हुरीले विध्वंस मच्चाएको १२ दिनपछि राजपा नेपालले शुक्रवार हुरी पीडितहरूलाई अनौठो किसिमको राहत सहयोग गर्‍यो । उसले सहयोग गरेको हो, ‘छाता’ । जुन पार्टीको चुनाव चिन्ह हो । उसले यसअघि मृतक परिवारलाई पार्टीबाट नगदसहित खाद्यान्नलगायत थुप्रै राहत दिएको छ । तर शुक्रवार भने पार्टीको चुनाव चिन्हलाई राहतका रूपमा वितरण गर्दा कतिपयले यसलाई प्रचार गरेको रुपमा अर्थ्याएका छन् । तर पार्टीका नेताहरूले पीडितको मागअनुसार ‘छाता’ वितरण गरिएको बताएका छन् ।


‘घाम र पानीको मौसम छ, ‘छाता’ ले धेरै राहत दिन सक्छ, त्यसैले राहतमा छाता बाँडेका हौं,’ राजपा पार्टीका महामन्त्री जितेन्द्र सोनलले भने, ‘पार्टीको चुनाव चिन्हको प्रचार होइन, यसलाई राजनीतिसँग जोड्न मिल्दैन ।’ छाताको माग आएपछि मुस्किलले खोजखाज गरेर त्यति छाता राहतमा वितरण गरिएको उनले बताए । ‘चुनाव चिन्ह आफ्नो ठाउँमा छ, राहतमा छाता पनि आवश्यक पर्छ, त्यसैले दियौं, उनले भने, ‘यो पनि मानिसको दैनिकीमा काम लाग्ने सामान हो ।’


प्रसौनी गाउँपालिका–४ खुटाजब्दीमा २ सय ५० जनालाई छाता वितरण गरिएको छ । पार्टीका अध्यक्ष मण्डलका पूर्वअध्यक्ष महन्थ ठाकुर स्वयं उपस्थित थिए । उनलाई साथ दिए त्यसै निर्वाचन क्षेत्रका प्रदेश सांसद तथा पार्टीका महामन्त्री सोनल । सोनल प्रदेश २ सरकारका प्रभावशाली मन्त्रीसँगै पार्टी संसदीय दलका नेता पनि हुन् । शनिबार देवताल गाउँपालिका–७, रमपुर्वाका ३ सय हुरी पीडितलाई छाता बाँड्ने तयारी छ ।


यो पालिका राजपाका नेता तथा जिल्ला समन्वय समितिका प्रमुख नवलकिशोर सिंहको गृह पालिका पर्छ । ‘पार्टीले छातासँगै बर्षाती पनि राहतमा दिएको भए हुन्थ्यो,’ तर दिइएन,’ हुरी प्रभावित प्रसौनी गाउँपालिका–४, खुटाजब्दीका एक स्थानीयले भने, ‘त्यसो त विभिन्न पार्टी र नेताले आफ्नो प्रभाव क्षेत्रमा केन्द्रित भएर राहत वितरण गरिरहेकै छ तर अप्रत्यक्ष ।’ राहतमा अरू पार्टीहरूका ेसमेत राजनीति बढेको उनले बताए ।

प्रकाशित : वैशाख १, २०७६ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?