२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

हुरी प्रभावितमा ‘ग्रिस रियाक्सन’

बारा — ६४ वर्षीया कोशिला देवीको मनमा २ साताअघिको ज्यानमारा हुरी बतास र त्यसले ल्याएको विध्वंसको त्रास हटेको छैन । ४ वर्षीय नाति नन्दलाल गुमाएकी उनको मनमा हुरीबतासको डर नराम्रो गरी बसेको छ ।

हुरी प्रभावितमा ‘ग्रिस रियाक्सन’

‘म जत्ति चाहे पनि त्यो घटना बिर्सिन सक्दिन डाक्टर साब,’ आइतबार गाउँमा आयोजित स्वास्थ्य शिविरमा मनोचिकित्सक डा. भरत गोइतलाई आफ्नो मनोदशा व्यक्त गरिन्, ‘मैले अनाहकमा नाति गुमाएँ, फेरि पनि हुरी आएर अरू नातिनातिनालाई पनि लग्छ कि भन्ने चिन्ताले सताइरहन्छ ।’


१४ वर्षीया अन्जलीकुमारी पटेलको मनमा पनि हुरीको त्रासले बसिरहेको छ । ‘आकाशमा कालो बादल देख्नासाथ मन बेचैन हुन्छ,’ उनले भनिन्, ‘फेरि त्यस्तै हुरीबतास आएर हाम्रो टेन्टसहित हामीलाई पनि उडाएर लग्छ कि भन्ने भय मनमा छ, जति गरे पनि मनबाट डर भाग्न सकेन ।’


सामाजिक अभियन्तया प्रकाश थारू, डा. गोइत, स्वास्थ्यकर्मी अनिशकान्त कुशवाहा र रामजीराम समेतको पहलमा फेटा गाउँपालिका १ भलुईमा शनिबार र फेटा १ तथा कलैया १८ भरबलियामा आइतबार गरिएको स्वास्थ्य शिविरमा क्रमशः २९ र ३५ गरी ६४ जनाको मानसिक अवस्था जाँच गरिएको थियो ।


डा गोइतका अनुसार बढी बालबालिका र वृद्धवृद्धामा हुरीबतासको त्रास हटेको छैन । धेरैमा ‘पोस्ट ट्रमेटिक स्ट्रेस डिसअडर’ को समस्या देखिएको उनले बताए । ‘यस्ता रोगी कालो बादल देख्नासाथ लुक्ने, भाग्ने गरिरहेका छन्,’ उनले भने, ‘फेरि पनि त्यस्तै बिपत्तिको पुरनावृत्ति हुन्छ कि भन्ने त्रास उनीहरूमा छ ।’


बालबालिकामा ‘ग्रिस रियाक्सन’ को समस्या बढी देखिएको उनले बताए । ‘यस्तो अवस्थामा परिवारका कुनै सदस्यको मृत्यु भएको कुरा पीडितले नस्विकार्नेजस्ता लक्षण देखिन्छ,’ उनले भने, ‘उनीहरूमा मृत्यु भइसकेका परिवारका सदस्यलाई खोज्ने, आत्तिने, डराउने आदि लक्षण पनि देखिन्छन् ।’


शिविरमा बिरामीलाई आवश्यक मनोपरामर्शका साथै झन्डै ४० जनालाई औषधिसमेत वितरण गरिएको उनले जानकारी दिए । ठूलो बिपत्ति भोगेका तथा प्रत्यक्ष अनुभव गरेकामा यस्तो समस्या देखिने गरेकाले अन्य प्रभावित बस्तीमा पनि यस्तो स्वास्थ्य सेवा आवश्यक रहेको उनले बताए । सामाजिक अभियन्ता थारुले प्रभावित बस्तीहरूमा शिविरको तयारी आफूहरूले गरिरहेको बताए । ‘यस्ता समस्या अन्य प्रभावित बस्तीकामा नहोला भन्न सकिन्न,’ उनले भने, ‘त्यसकारण हामी यो शिविर अन्य प्रभावित बस्तीहरूमा पनि बिस्तार गर्दै लग्ने योजनामा छौं ।’

प्रकाशित : वैशाख २, २०७६ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?