कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शिखको वैशाखी पर्व धुमधाम

पर्सा — वीरगन्जका शिख समुदायले आइतबार वैशाखी पर्व धुमधामसित मनाएका छन् । यस वर्ष विक्रम संवतको नयाँ वर्ष र वैशाखी पर्व एकै दिन परेकाले पनि यस अवसरमा समुदायको धार्मिकस्थल गुरुद्वारामा शिख तथा गैरशिख समुदायको बाक्लो उपस्थिति थियो । शिख र गैरशिखले एक अर्कालाई नया वर्ष र वैशाखीको शुभकामना आदानप्रदान गरे ।

शिखको वैशाखी पर्व धुमधाम

वैशाखी शिख समुदायको सबैभन्दा ठूलो पर्व हो । गुरु नानक जयन्ती र यो पर्वलाई शिख समुदायले बढी महत्वसाथ मनाउँछन् । वैशाखीको अवसरमा शुक्रबारदेखि नै गुरुद्वारामा विभिन्न धार्मिक कार्यक्रमहरू आयोजना गरिएको थियो । अखण्ड पाठसाहेव, शवद किर्तन, लंगरप्रसाद वितरणलगायत कार्यक्रम आयोजन गरिएका थिए ।


वीरगन्ज तथा सीमावर्ती भारतीय सहर रक्सौलमा बसोबास गर्ने शिख समुदायका महिला, पुरुष तथा बालबालिका आइतबार गुरुद्वारामा धार्मिक समारोहमा सरिक भए । यस्ता धार्मिक समारोह तथा पर्वहरूमा यहाँका शिख समुदाय एकत्रित हुने, रमाइलो गर्ने र सुखदुख साटासाट गर्ने अवसरका रूपमा लिइन्छ । आजकै दिन शिख समुदायको नयाँ वर्ष र शिख समुदाय तथा शिख पन्थको समेत जन्म भएको मान्यता छ ।


समुदायका अगुवा सरदार जसपाल सिंहका अनुसार झन्डै ५ सय ५१ वर्षअघि शिख समुदायका प्रथम गुरु गुरुनानक देवजी महाराजले अवतार लिएको र उनले शिख धर्मको प्रचारप्रसार र एकोकंकारको नारा दिएको धार्मिक विश्वास रहेको छ । त्यसैगरी शिख धर्मका १० शौं धर्मगुरु गुरु गोबिन्द सिंहजीले पनि आजकै दिन ३ सय वर्ष अघि हिन्दु धर्मको रक्षाका लागि ‘पाँच प्यारे’ लाई हालको शिख पुरुषरू देखिने रूप दिएका थिए ।


उनले यसका लागि केश,कंघा,कडा,कृपान र कछेरा गरी ५ कंकार सहितको रूप दिएर विश्वमै शिख समुदायलाई नयाँ रूप र पहिचान दिएका थिए । उति बेला भारतमा मुस्लिम शासक औरगंजेवले हिन्दुहरू उपर गरेको अत्याचारको विरुद्ध लड्न शिख समुदायलाई यो नयाँ रूप दिएपछि त्यसैदिनबाट शिख (खाल्सा) पन्थको जग बसेको हो । यस्तो रूपमा रहेका शिख पुरुषहरू धर्म रक्षा र कुनै पनि अत्याचार तथा विभेदविरुद्ध लडन जस्तोसुकै अवस्थामा पनि तयार हुन्छन् भन्ने सन्देश दिन्छ ।

प्रकाशित : वैशाख २, २०७६ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?