एकैदिन फुल्ने फूल हेर्ने घुइँचो

प्रत्येक वैशाख १ गते मालाको आकारमा सुनाखरी फुलेर १५ दिनसम्म नओइली बस्छ
भरत जर्घामगर

सिरहा — १४ औं शताब्दीका प्रतापी राजा सलहेसको सम्झनामा सिरहा यति बेला मेलामय बनेको छ । राजा सलहेस र मालिनीको प्रेम गाथासँग जोडिएको ‘प्रणयस्थल’ फूलबारीमा आइतबार ‘सुनाखरी’ हेर्नेको घुइँचो लाग्यो ।

सिरहाको फूलबारीस्थित मालिनी मन्दिर नजिक हारमको रूखमा फुलेको सुनाखरी फूल । तस्बिर : भरत/कान्तिपुर

चुरे क्षेत्रमा हराउँदै गएका वनस्पतिका रूख भएको सिरहाको पडरिया र सिसवनीमा अवस्थित १० बिघा क्षेत्रफलमा फैलिएको फूलबारीमा सलहेस र मालिनीको गहबर (मन्दिर) छ । मन्दिरमा हात्तीमा चढेको सलहेस र दिना मालिनीको मूर्ति छ । मन्दिरको पछाडि पानी बग्छ ।

Citizen

मालिन गहवरमा एउटै जराबाट निस्केको हारमको दुई रूखमा हरेक वर्ष माला आकारमा सेतो सुनाखरी फुल्छन् । हरेक वर्ष वैशाख १ गते त्यही फूलको माला बनाई मालिनीले सलहेसलाई लगाइदिन्छिन् भन्ने मान्यता छ । पुजारी जितेन्द्र धामी भन्छन्, ‘प्रत्येक वर्ष वैशाख १ गते दिनामालिनी राजा सलहेसको प्रतीक्षामा माला भएर देखा पर्छिन् भन्ने धार्मिक विश्वास छ ।’

उनका अनुसार फूलबारीभित्र असंख्य ठूला वनस्पति भए पनि वर्षौंदेखि गहबर नजिकको हारमको रूखमा मात्र सुनाखरी यही समयमामाला आकारमा फक्रिने गरेको छ । मालिन गहवरको हारम रूखलाई युगल जोडी युवायुवतीले ‘लव प्वाइन्ट’का रूपमा मान्छन् । युवायुवतीबीच हुने प्रेमकथालाई जीवन्तता दिन उक्त हारमको रूख र सुनाखरी फूललाई साक्षी मानेर विवाह गरे अमर
हुने जनविश्वास रहिआएको छ ।

वनस्पति एवं वातावरण विज्ञहरू १ हजार ५ सय मिटरसम्मको उचाइमा पाइने सुनाखरी तराई क्षेत्रको जंगलमा त्यति नदेखिने गरेका कारण धार्मिक आस्थासँग जोडिएको फूलबारी वन क्षेत्रमा मात्र पाइनुले पनि यसको आकर्षण बढेको बताउँछन् । कृषि तथा वातावरण विज्ञ दिनेश यादव सुनाखरी फूल फुल्नुलाई धार्मिक विश्वासका रूपमा लिइए पनि नेपालमा पाइने आठ प्रकारको रैथाने सुनखरी फूलमध्ये फूलबारीमा देखिएको सुनखरी फूल तराईमा पाइने ‘इरिया’ प्रजातिको सेतो सुनखरी भएको बताउँछन् ।

तर उनी फूलबारीमा देखिएको फूलबारे यकिन गर्न अनुसन्धान आवश्यक भएको बताउँछन् । ‘फूलबारीमा देखिएको फूल ‘डेन्ड्रोबियम एफाइलम’ स्वरूपको फूल हो जुन अरू रूखमा आश्रित रहन्छ,’ उनले भने, ‘फूलबारीमा फुलेको फूल पनि अरू रूखको काण्डमा फुल्छ ।’ उनका अनुसार यो जातको फूल वसन्त ऋतुको चैत अन्तिममा फुलेर नओइलाइनकन १५ दिनसम्म रहन्छ ।

विज्ञका अनुसार नेपालमा आठथरी रैथाने सुनाखरी पाइन्छ । वनस्पति विभागले हालै गरेको अनुसन्धानका अनुसार मालिनीको मालाको रूपमा फुल्ने उक्त फूल चाँदीगाभा सुनाखरी प्रजाती हो । जुन १ हजार ५ सय मिटरसम्मको उचाइमा पाइन्छ । यसको काण्डबाट विभिन्न किसीमको शक्तिवर्धक र कोषीय अंगको वृद्धि हुने खालका औषधिहरू बनाइन्छन् ।

प्रत्येक वर्ष वैशाख १ गते फूलबारीमा लाग्ने मेला भर्न आउने धर्मालम्बीहरू फूल फुल्ने रूखलाई समेत पूजा गर्छन् । । फूलबारीमा रमणीय वन क्षेत्र र सुनखरी फूलको अवलोकन गर्न सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही र उदयपुरसँगै भारतका विभिन्न स्थानबाट हरेक वर्ष वैशाख १ गते नयाँवर्षमा आगन्तुकहरू आउँछन् । वि.स. १३२५ मा सिरहाको महिसोथा राज्यको राजा सलहेस र उनकी प्रेयसी मालिनी बीचको प्रेमका लागि प्रसिद्ध रहेको सलहेस फूलबारीमा प्रेम विवाह गर्दा दाम्पत्य जीवन सफल हुने धार्मिक विश्वास रहिआएको छ ।

सलहेस एकै दिनमा मानिक दहमा नुहाउने, फूलबारीमा फूल टिप्ने, सिल्हट अखडामा कुस्ती खेल्ने, सलहेशगढमा कुलदेवीको पूजा गर्ने र प्रजाको पीरमर्का सुन्ने गरेको किम्वदन्ती छन् । फूलबारीमा साँचो मनले भाकल गरे मनोकामना पूरा हुने जनविश्वास छ । निःसन्तानहरू सन्तान प्राप्तिका लागि, दीर्घरोगीहरू सुस्वास्थ्यका लागि र आफनो मनोकामना पूरा गर्न सलहसको पूजा गर्छन् । आफ्नो इष्ट पूरा भएमा सलहेसलाई पाठीको बली दिने,कागजको छाता चढाउने परम्परा छ ।

प्रतापी राजा सलहेस मूलतः दुसाध जातिका कुल देवता मानिने भए पनि सबै जातजातिका लागि प्रतापी राजा सलहेस पूजनीय मानिन्छन् । मिथिला क्षेत्रमा देखाइने लोकनाचमा राजा सलहेसको वर्णन र गीत अनि लोकगाथामा उनका पराक्रमको वर्णन गरिएको पाइन्छ । मिथिला संस्कृतिका लोकगाथाका नायकहरूमासलहेसको नाम अग्रणी छ ।

प्रकाशित : वैशाख २, २०७६ ०९:३५
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

शिखको वैशाखी पर्व धुमधाम

कान्तिपुर संवाददाता

पर्सा — वीरगन्जका शिख समुदायले आइतबार वैशाखी पर्व धुमधामसित मनाएका छन् । यस वर्ष विक्रम संवतको नयाँ वर्ष र वैशाखी पर्व एकै दिन परेकाले पनि यस अवसरमा समुदायको धार्मिकस्थल गुरुद्वारामा शिख तथा गैरशिख समुदायको बाक्लो उपस्थिति थियो । शिख र गैरशिखले एक अर्कालाई नया वर्ष र वैशाखीको शुभकामना आदानप्रदान गरे ।

वैशाखी पर्वका अवसरमा वीरगन्जस्थित शिख समुदायको धार्मिकस्थल गुरुद्वारामा शिख तथा गैरशिख शुभकामना आदानप्रदान गर्दै । तस्विर : शंकर आचार्य/कान्तिपुर

वैशाखी शिख समुदायको सबैभन्दा ठूलो पर्व हो । गुरु नानक जयन्ती र यो पर्वलाई शिख समुदायले बढी महत्वसाथ मनाउँछन् । वैशाखीको अवसरमा शुक्रबारदेखि नै गुरुद्वारामा विभिन्न धार्मिक कार्यक्रमहरू आयोजना गरिएको थियो । अखण्ड पाठसाहेव, शवद किर्तन, लंगरप्रसाद वितरणलगायत कार्यक्रम आयोजन गरिएका थिए ।

वीरगन्ज तथा सीमावर्ती भारतीय सहर रक्सौलमा बसोबास गर्ने शिख समुदायका महिला, पुरुष तथा बालबालिका आइतबार गुरुद्वारामा धार्मिक समारोहमा सरिक भए । यस्ता धार्मिक समारोह तथा पर्वहरूमा यहाँका शिख समुदाय एकत्रित हुने, रमाइलो गर्ने र सुखदुख साटासाट गर्ने अवसरका रूपमा लिइन्छ । आजकै दिन शिख समुदायको नयाँ वर्ष र शिख समुदाय तथा शिख पन्थको समेत जन्म भएको मान्यता छ ।

समुदायका अगुवा सरदार जसपाल सिंहका अनुसार झन्डै ५ सय ५१ वर्षअघि शिख समुदायका प्रथम गुरु गुरुनानक देवजी महाराजले अवतार लिएको र उनले शिख धर्मको प्रचारप्रसार र एकोकंकारको नारा दिएको धार्मिक विश्वास रहेको छ । त्यसैगरी शिख धर्मका १० शौं धर्मगुरु गुरु गोबिन्द सिंहजीले पनि आजकै दिन ३ सय वर्ष अघि हिन्दु धर्मको रक्षाका लागि ‘पाँच प्यारे’ लाई हालको शिख पुरुषरू देखिने रूप दिएका थिए ।

उनले यसका लागि केश,कंघा,कडा,कृपान र कछेरा गरी ५ कंकार सहितको रूप दिएर विश्वमै शिख समुदायलाई नयाँ रूप र पहिचान दिएका थिए । उति बेला भारतमा मुस्लिम शासक औरगंजेवले हिन्दुहरू उपर गरेको अत्याचारको विरुद्ध लड्न शिख समुदायलाई यो नयाँ रूप दिएपछि त्यसैदिनबाट शिख (खाल्सा) पन्थको जग बसेको हो । यस्तो रूपमा रहेका शिख पुरुषहरू धर्म रक्षा र कुनै पनि अत्याचार तथा विभेदविरुद्ध लडन जस्तोसुकै अवस्थामा पनि तयार हुन्छन् भन्ने सन्देश दिन्छ ।

प्रकाशित : वैशाख २, २०७६ ०९:३२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT