२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

एकैदिन फुल्ने फूल हेर्ने घुइँचो

प्रत्येक वैशाख १ गते मालाको आकारमा सुनाखरी फुलेर १५ दिनसम्म नओइली बस्छ
भरत जर्घामगर

सिरहा — १४ औं शताब्दीका प्रतापी राजा सलहेसको सम्झनामा सिरहा यति बेला मेलामय बनेको छ । राजा सलहेस र मालिनीको प्रेम गाथासँग जोडिएको ‘प्रणयस्थल’ फूलबारीमा आइतबार ‘सुनाखरी’ हेर्नेको घुइँचो लाग्यो ।

एकैदिन फुल्ने फूल हेर्ने घुइँचो

चुरे क्षेत्रमा हराउँदै गएका वनस्पतिका रूख भएको सिरहाको पडरिया र सिसवनीमा अवस्थित १० बिघा क्षेत्रफलमा फैलिएको फूलबारीमा सलहेस र मालिनीको गहबर (मन्दिर) छ । मन्दिरमा हात्तीमा चढेको सलहेस र दिना मालिनीको मूर्ति छ । मन्दिरको पछाडि पानी बग्छ ।


मालिन गहवरमा एउटै जराबाट निस्केको हारमको दुई रूखमा हरेक वर्ष माला आकारमा सेतो सुनाखरी फुल्छन् । हरेक वर्ष वैशाख १ गते त्यही फूलको माला बनाई मालिनीले सलहेसलाई लगाइदिन्छिन् भन्ने मान्यता छ । पुजारी जितेन्द्र धामी भन्छन्, ‘प्रत्येक वर्ष वैशाख १ गते दिनामालिनी राजा सलहेसको प्रतीक्षामा माला भएर देखा पर्छिन् भन्ने धार्मिक विश्वास छ ।’


उनका अनुसार फूलबारीभित्र असंख्य ठूला वनस्पति भए पनि वर्षौंदेखि गहबर नजिकको हारमको रूखमा मात्र सुनाखरी यही समयमा माला आकारमा फक्रिने गरेको छ । मालिन गहवरको हारम रूखलाई युगल जोडी युवायुवतीले ‘लव प्वाइन्ट’का रूपमा मान्छन् । युवायुवतीबीच हुने प्रेमकथालाई जीवन्तता दिन उक्त हारमको रूख र सुनाखरी फूललाई साक्षी मानेर विवाह गरे अमर

हुने जनविश्वास रहिआएको छ ।


वनस्पति एवं वातावरण विज्ञहरू १ हजार ५ सय मिटरसम्मको उचाइमा पाइने सुनाखरी तराई क्षेत्रको जंगलमा त्यति नदेखिने गरेका कारण धार्मिक आस्थासँग जोडिएको फूलबारी वन क्षेत्रमा मात्र पाइनुले पनि यसको आकर्षण बढेको बताउँछन् । कृषि तथा वातावरण विज्ञ दिनेश यादव सुनाखरी फूल फुल्नुलाई धार्मिक विश्वासका रूपमा लिइए पनि नेपालमा पाइने आठ प्रकारको रैथाने सुनखरी फूलमध्ये फूलबारीमा देखिएको सुनखरी फूल तराईमा पाइने ‘इरिया’ प्रजातिको सेतो सुनखरी भएको बताउँछन् ।


तर उनी फूलबारीमा देखिएको फूलबारे यकिन गर्न अनुसन्धान आवश्यक भएको बताउँछन् । ‘फूलबारीमा देखिएको फूल ‘डेन्ड्रोबियम एफाइलम’ स्वरूपको फूल हो जुन अरू रूखमा आश्रित रहन्छ,’ उनले भने, ‘फूलबारीमा फुलेको फूल पनि अरू रूखको काण्डमा फुल्छ ।’ उनका अनुसार यो जातको फूल वसन्त ऋतुको चैत अन्तिममा फुलेर नओइलाइनकन १५ दिनसम्म रहन्छ ।


विज्ञका अनुसार नेपालमा आठथरी रैथाने सुनाखरी पाइन्छ । वनस्पति विभागले हालै गरेको अनुसन्धानका अनुसार मालिनीको मालाको रूपमा फुल्ने उक्त फूल चाँदीगाभा सुनाखरी प्रजाती हो । जुन १ हजार ५ सय मिटरसम्मको उचाइमा पाइन्छ । यसको काण्डबाट विभिन्न किसीमको शक्तिवर्धक र कोषीय अंगको वृद्धि हुने खालका औषधिहरू बनाइन्छन् ।


प्रत्येक वर्ष वैशाख १ गते फूलबारीमा लाग्ने मेला भर्न आउने धर्मालम्बीहरू फूल फुल्ने रूखलाई समेत पूजा गर्छन् । । फूलबारीमा रमणीय वन क्षेत्र र सुनखरी फूलको अवलोकन गर्न सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही र उदयपुरसँगै भारतका विभिन्न स्थानबाट हरेक वर्ष वैशाख १ गते नयाँ वर्षमा आगन्तुकहरू आउँछन् । वि.स. १३२५ मा सिरहाको महिसोथा राज्यको राजा सलहेस र उनकी प्रेयसी मालिनी बीचको प्रेमका लागि प्रसिद्ध रहेको सलहेस फूलबारीमा प्रेम विवाह गर्दा दाम्पत्य जीवन सफल हुने धार्मिक विश्वास रहिआएको छ ।


सलहेस एकै दिनमा मानिक दहमा नुहाउने, फूलबारीमा फूल टिप्ने, सिल्हट अखडामा कुस्ती खेल्ने, सलहेशगढमा कुलदेवीको पूजा गर्ने र प्रजाको पीरमर्का सुन्ने गरेको किम्वदन्ती छन् । फूलबारीमा साँचो मनले भाकल गरे मनोकामना पूरा हुने जनविश्वास छ । निःसन्तानहरू सन्तान प्राप्तिका लागि, दीर्घरोगीहरू सुस्वास्थ्यका लागि र आफनो मनोकामना पूरा गर्न सलहसको पूजा गर्छन् । आफ्नो इष्ट पूरा भएमा सलहेसलाई पाठीको बली दिने, कागजको छाता चढाउने परम्परा छ ।


प्रतापी राजा सलहेस मूलतः दुसाध जातिका कुल देवता मानिने भए पनि सबै जातजातिका लागि प्रतापी राजा सलहेस पूजनीय मानिन्छन् । मिथिला क्षेत्रमा देखाइने लोकनाचमा राजा सलहेसको वर्णन र गीत अनि लोकगाथामा उनका पराक्रमको वर्णन गरिएको पाइन्छ । मिथिला संस्कृतिका लोकगाथाका नायकहरूमा सलहेसको नाम अग्रणी छ ।

प्रकाशित : वैशाख २, २०७६ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?