हुरीले फेटावासीका टेन्ट उडायो 

लक्ष्मी साह

बारा — एक्कासी मौसम बदली भइ मंगलबार साँझ असिनापानीसँगै आएको हुरीले फेटा गाउँपालिकाका कतिपय हुरीपीडितहरुका टेन्ट उडाएको छ । फेटा गाउँपालिका-१, भलुही भरबलीया, वडा ३ र ६ को पुरैनिया र गछीया टोलको दर्जन टेन्ट उडाएको वडा ६ पुरैनियाका अध्यक्ष जाकिर मियाँले बताए । 'हुरी र पानीले बसिनसम्नु बनाएको छ,' उनले भने, 'भीषण पानीले कतिको टेन्टमा पानी पसेको छ भने कतिपयको हुरीले टेन्ट नै उडाएको छ । रात कसरी काट्ने भन्ने चिन्ता छ ।' 

उता वडा १ भलुही भरबलीयाका वडाध्यक्ष जयप्रकाश दासले हुरीले ५/६ जनाको टेन्ट उडाएको बताए । नेपाली सेना र सशस्त्र प्रहरीले बनाइदिएको टेन्टमा उकुसमुकुस भएर बस्दै आएका हुरीपीडितहरुको टेन्ट उडाएपछि झन् विजोग भएको उनले बताए । टेन्ट उडाएपछि बालबालिका र महिलाहरुलाई बिच्चली भएको उनले बताए । दुई साताअघि आएको टोर्नेडोले घरविहीन बनाएपछि उनीहरु टेन्टमा बस्दै आएका थिए ।

गत चैत १७ मा आएको शक्तिशाली चक्रवातपछि दिन बिराएर हावाहुरी र असिनापानी पर्दै आएको छ । टेन्टमा खाँदिएर बस्दै आएका हुरीपीडितहरुले घर न घाटको भएको बताएका छन् ।

खाना पकाउने र खाने बेलामै हुरीसँगै असिनापानी पर्नाले पेटभरि खान नपाएको उनीहरु पीडा सुनाउँछन् । 'दिउँसो घामले टेन्टमा बस्न नसकिने र राति हुरीले उडाइदिनाले हाम्रो दिनचर्या कहालीलाग्दो छ,' फेटा-६, पुरैनियाका हुरीपीडित रेक्मा खातुनले भनिन्, 'कहाँ जाऊ के गरुँ ?'

मध्य तराईको बारा, पर्सा, रौतहट, सर्लाहीमा समेत हावाहुरीसँगै मेघ गर्जनका साथ असिनापानी परेकोले गहुँ र दलहन भित्र्याउन किसानलाई समस्या भएको छ ।

प्रकाशित : वैशाख ३, २०७६ २०:५०
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

वंशजको नागरिकता दिन बाटो खुला

रासस

काठमाडौँ — सर्वोच्च अदालतको आदेशले जन्मसिद्ध नागरिकलाई वंशजका आधारमा तत्काल नागरिकता दिने गृह मन्त्रालयको निर्णय कार्यान्वयन गर्न बाटो खुलेको छ । न्यायाधीशद्वय हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको इजलासले मंगलबार सन्तानलाई वंशजका आधारमा नागरिकता दिन देशभरका जिल्ला प्रशासन कार्यालयलाई गृहमन्त्रालयले गरेको पत्रचार रोक्न अस्वीकार गरेपछि नागरिकता वितरण गर्न बाटो खुलेको हो ।

वंशजका आधारमा नागरिकता प्रदान गर्न गृहमन्त्रालयले चैत १९ गते देशभर परिपत्र गरेको थियो । सो निर्णयको विरुद्धमा अधिवक्ता बालकृष्ण न्यौपानेले जन्मसिद्धलाई वंशज नागरिकता प्रदान गर्नु कानुनसम्मत नभएको उल्लेख गर्दै रिट निवेदन दायर गरेका थिए ।

न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले चैत २५ गते गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई जन्मका आधारमा नागरिकता पाएका बाबुआमाका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन दिएको परिपत्र तत्काल कार्यान्वयन नगर्न अन्तिरम आदेश दिएको हो ।

अदालतले गृहमन्त्रालयलाई सो निर्णयलाई यथास्थितिमा राख्न र आजका लागि छलफलका लागि बोलाएको थियो । मंगलबारको सुनुवाइबाट अदालतले अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि सो परिपत्र कार्यान्वयनका लागि बाटो खुला भएको हो । नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न पेश गरेको विधेयक हाल सङ्घीय संसद्‌मा विचाराधीन छ ।

प्रकाशित : वैशाख ३, २०७६ २०:३३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT