१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

हुरीले फेटावासीका टेन्ट उडायो 

लक्ष्मी साह

बारा — एक्कासी मौसम बदली भइ मंगलबार साँझ असिनापानीसँगै आएको हुरीले फेटा गाउँपालिकाका कतिपय हुरीपीडितहरुका टेन्ट उडाएको छ । फेटा गाउँपालिका-१, भलुही भरबलीया, वडा ३ र ६ को पुरैनिया र गछीया टोलको दर्जन टेन्ट उडाएको वडा ६ पुरैनियाका अध्यक्ष जाकिर मियाँले बताए । 'हुरी र पानीले बसिनसम्नु बनाएको छ,' उनले भने, 'भीषण पानीले कतिको टेन्टमा पानी पसेको छ भने कतिपयको हुरीले टेन्ट नै उडाएको छ । रात कसरी काट्ने भन्ने चिन्ता छ ।' 

हुरीले फेटावासीका टेन्ट उडायो 

उता वडा १ भलुही भरबलीयाका वडाध्यक्ष जयप्रकाश दासले हुरीले ५/६ जनाको टेन्ट उडाएको बताए । नेपाली सेना र सशस्त्र प्रहरीले बनाइदिएको टेन्टमा उकुसमुकुस भएर बस्दै आएका हुरीपीडितहरुको टेन्ट उडाएपछि झन् विजोग भएको उनले बताए । टेन्ट उडाएपछि बालबालिका र महिलाहरुलाई बिच्चली भएको उनले बताए । दुई साताअघि आएको टोर्नेडोले घरविहीन बनाएपछि उनीहरु टेन्टमा बस्दै आएका थिए ।


गत चैत १७ मा आएको शक्तिशाली चक्रवातपछि दिन बिराएर हावाहुरी र असिनापानी पर्दै आएको छ । टेन्टमा खाँदिएर बस्दै आएका हुरीपीडितहरुले घर न घाटको भएको बताएका छन् ।


खाना पकाउने र खाने बेलामै हुरीसँगै असिनापानी पर्नाले पेटभरि खान नपाएको उनीहरु पीडा सुनाउँछन् । 'दिउँसो घामले टेन्टमा बस्न नसकिने र राति हुरीले उडाइदिनाले हाम्रो दिनचर्या कहालीलाग्दो छ,' फेटा-६, पुरैनियाका हुरीपीडित रेक्मा खातुनले भनिन्, 'कहाँ जाऊ के गरुँ ?'


मध्य तराईको बारा, पर्सा, रौतहट, सर्लाहीमा समेत हावाहुरीसँगै मेघ गर्जनका साथ असिनापानी परेकोले गहुँ र दलहन भित्र्याउन किसानलाई समस्या भएको छ ।

प्रकाशित : वैशाख ३, २०७६ २०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?