हुन्डरीपीडितलाई साइकल

जीविकोपार्जनलाई सहज बनाउने उद्देश्यसाथ नेपाल एयरलाइन्सका कर्मचारीले दिए साइकल र सिलाइ मेसिन 
शंकर आचार्य

(पर्सा) — फेटा गाउँपालिका ३ पुरैनियाकी ३५ वर्षीया रुखसाना खातुनको हातमा मंगलबार नयाँ सिलाइ मेसिन परेपछि आँखा रसायो । दुई साताअघिको विनाशकारी हुरीहुन्डरीले उनको जीविकोपार्जनको एकमात्र सहारा सिलाइ मेसिनमा क्षति पुर्‍याएको थियो ।

हुन्डरीपीडितलाई साइकल

११ वर्षमुनिका आधा ६ छोराछोरीसहितको परिवार पाल्ने एकमात्र सहारा सिलाइ मेसिन उडाएपछि उनलाई भविष्यको निक्कै चिन्ता थियो । 'हुरीले मेसिन क्षति गरे पनि मेरो हातखुट्टा सहीसलामत छ,' उनले भनिन्, 'नयाँ मेसिन पाउँदा आत्मविश्वास पलाएको छ, छोराछोरी पाल्न अब कसैको अघि हात थाप्नु परेन ।' पति अर्की श्रीमती लिएर हिँडेपछि उनकै काँधमा परिवारको जिम्मेवारी आएको थियो । नेपाल एयरलाइन्सका कर्मचारीले आफ्नो १ दिनको तलबबाट राहतस्वरूप उपलब्ध गराएको रकमबाट उनले मंगलबार वीरगन्जमा उपहारस्वरूप नयाँ सिलाइ मेसिन पाइन् । दाइजो एवं सामाजिक कुरीतिविरुद्ध जागरण अभियान पर्साको आयोजनामा एयरलाइन्स कर्मचारीले संकलन गरेको तलब रकमबाट पर्सा र बाराका हुन्डरीपीडित २८ परिवारलाई राहत सामग्री बाँडेको थियो । २५ जनाले साइकल पाए भने १ जनाले सिलाइ मेसिन र २ परिवारलाई राहतस्वरूप ६/६ हजार रुपैयाँ नगद उपलब्ध गराएको थियो ।

साइकल पाएपछि फेटा १ भलुहीका ३६ वर्षीय राजेश दास पनि निक्कै भावुक बने । हुरीले उनको एकमात्र साइकल उडाएर कता लग्यो पत्तै भएन । 'नयाँ साइकल पाएपछि अब मलाई दैनिक रोजगारीका लागि वीरगन्ज आउन सहज भयो,' उनले भने, 'म वीरगन्जमा ट्रकको बडी बनाउने मजदुर हुँ, बसमा दैनिक भाडा तिरेर आउँदा कमाएको जति भाडामै खर्च हुन्छ । त्यसमाथि सार्वजनिक बसको हिसाबले कामबाट र्फकनु पर्दा पनि बढी समय दिन पाइन्थेन ।' साइकल पाएका फेटा १ भरवलियाकै पीडित ३२ वर्षीय रमेश शर्माले आफू वीरगन्जमा दैनिक राज मिस्त्रीका रूपमा मजदुरी गर्न आउने गरेको तर २ सातायता साइकल नहुँदा निक्कै सास्ती भोगिरहेको बताए । 'अब साइकल पाइयो, धेरै सहज भयो,' उनले भने, 'साइकल नहुँदा निक्कै गार्‍हो भयो ।'


इन्जिनियर अतिउल्लाह अन्सारीले एयरलाइन्सका १ हजार ४ सय कर्मचारीले यसअघि नै एक दिनको तलब बराबर १४ लाख रुपैयाँ राहतस्वरूप प्रधानमन्त्री राहत कोषमा बुझाइसकेको बताए । तर त्यो रकम बिस्तारै पीडितको भवन निर्माण प्रयोजनमा खर्च हुने भएकाले तत्काललाई ३ सय कर्मचारीले व्यक्तिगत रुपमा पीडितलाई थप राहत होस् भनी आआफ्नो तलबबाट रकम छुट्याई सहयोग गरेको उनले बताए ।


'पीडित परिवारलाई तत्कालीन राहतका रूपमा खाद्यान्न तथा अन्य वस्तु पर्याप्त भइसकेकाले हामीले दीर्घकालीन राहतका रूपमा साइकललाई प्राथमिकता दिएका हौं,' उनले भने, 'विपन्न र मजदुरी गरेर गुजारा चलाउने परिवारलाई साइकलजस्तो दीर्घकालीन राहत अरू केही हुन्न भनेर सहयोग गर्‍यौं ।'


आयोजक संस्थाका अध्यक्ष वृजेश्वर चौधरीले तराईमा साइकलको ठूलो महत्त्व रहेको बताए । 'साइकल तराईको घोडा र गरिबको मोटर मानिन्छ, घरका धेरै सदस्यले एउटै साइकलको बहुउपयोग गरिरहेका हुन्छन्,' उनले भने, 'साइकल पाउने धेरैजसो मजदुरी गर्ने सामान्य र दलित परिवार भएकाले उनीहरूलाई अब कलैया र वीरगन्जसम्म पुगेर काम गर्न सहज हुनेछ ।' उनले तराई मधेशको पीडामा पहाडबाट लगाइएको मलम सराहनीय भएको बताए । बाराको भरवलिया, पुरैनिया, मनगढवा, फेटा तथा पर्साको सुखचैनालगायत हुरीपीडित बस्तीमा पुगेर स्थलगत अध्ययनपछि अति पीडित, विपन्न तथा दलित परिवारको पहिचान गरी राहतमा प्राथमिकता दिइएको उनले जनाए ।


प्रकाशित : वैशाख ४, २०७६ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?