मिठाइ पसलमा अखाद्य वस्तु

सन्तोष सिंह

धनुषा — जनकपुरको हंसराज मिठाइ पसलको कारखानामा प्रतिबन्धित अखाद्य सामग्री र सडेको कच्चपदार्थ फेला परेको छ । मिठाइ बनाउन प्रयोग हुने इमलीमा कीरा र नेपालमा प्रतिबन्धित सागर गोल्ड पाउडर दूध, हाइड्रो, रंग र फिटकिरी अनुगमन टोलीले फेला परेको छ ।

मिठाइ पसलमा अखाद्य वस्तु

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मोहना अन्सारी नेतृत्वमा बुधबार गरिएको बजार अनुगमनमा हंसराज मिठाइ पसलको कारखानामा लुकाई राखेको सागरको गोल्ड प्याकेट पाउडर दूधका बोरा, हाइड्रोका प्याकेट, रंग, फिटकिरी, बदामको पिठोलगायत बरामद गरिएको गुण प्रविधि तथा नियन्त्रण कार्यालयका खाद्य निरीक्षक प्रवीण तिवारीले बताए ।


अनुगमन टोलीले नाम चलेको हंसराज मिठाइ पसल तथा रघुपति मिष्ठान भण्डारको अखाद्य मिठाइ, घ्यू, तेललगायत नष्ट गरेको छ । जानकी मन्दिरस्थित रघुपति मिष्ठान भण्डार तथा ओम बेकरी हाउसको घ्यू, मिठाइमा प्रयोग गरिएको तेल पनि नष्ट गरिएको छ । ओम बेकरी एण्ड स्विट्सको पाउरोटीमा एक दिनअघिको उत्पादन मिति राखेर सिलप्याक गरी बिक्रीमा पठाउन लागेको भेटिएको थियो ।


रघुपति मिष्ठान तथा ओम बेकरीले संयुक्त रूपमा सञ्चालन गरेको कारखानाको दूध तथा यसबाट बनेको पदार्थमा अत्यधिक फोहर झिंगा, लामखुट्टे भेटेपछि नष्ट गरिएको थियो । अनुगमन टोलीले जनकपुरको भानुचोकस्थित मदरटेरेसा पब्लिक स्कुलमा क्षमताभन्दा बढी विद्यार्थी राख्ने गरेको पाइएको छ ।


विद्यालयको छात्रावासमा एउटै कोठामा २० देखि २५ जना विद्यार्थीलाई राखेको पाइएको छ । मानव अधिकार आयोगका प्रवक्तासमेत रहेकी मोहनाले उक्त विद्यालयका प्रिन्सिपल चन्द्र देवानलाई सुधारको मौका दिएकी छन् । विद्यालयको यो पहिलो अनुगमन थियो, त्यही भएर एकपटकलाई सुधारको मौका दिएको उनले बताइन् ।


धनुषाका प्रमुख जिल्ला अधिकारी दिलीप कँणेलले विद्यार्थीको शुल्क, खानेपानी, शौचालय तथा स्कुल बसमा क्षमताभन्दा बढी विद्यार्थी नबोक्न सुझाव दिएका छन् । मनपरी नगर्न सुझाव दिँदै स्कुलको २ सय मिटरभित्रै रहेको मदिरा पसलसमेत तत्काल बन्द गर्न निर्देशन दिए ।


अनुगमन क्रममा जनकपुरधामको मिल्स एरियास्थित जय श्रीराम डिष्ट्रिब्युटर्समा पाइएको मदिरा प्लाष्टिकको बोतलमा प्याकिङ्ग गरेको भेटिएको छ । रुसलान, मौसम, स्मुथसहितका अन्य लोकल ब्रान्डका मदिरा प्लाष्टिकको बोत्तलमा प्याक गरेको पाइएको थियो । अवैध प्याकिङ मदिराको नमुना परीक्षण गरी थप कारबाहीका लागि प्रयोगशाला पठाउन नमुना संकलन

गरिएको प्रजिअले बताए ।


आयोग सदस्य अन्सारी नेतृत्वमा जनकपुरधाम उप–महानगरपालिका प्रमुख लालकिशोर साह, धनुषाका प्रजिअ कणेल, मानव अधिकार आयोग क्षेत्रीय कार्यालयका वीर मगर, केन्द्रका दिपेन्द सिंह, गुण प्रविधि नियन्क्रण कार्यालयको संयुत्त टोलीले अनुगमन गरेको थियो ।

प्रकाशित : वैशाख ५, २०७६ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?