कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गर्मीलाई चनाको सातु

बिहान र साँझको लस्सी व्यापारबाट दैनिक २ हजारभन्दा बढी आम्दानी हुन्छ
शिव पुरी

रौतहट — चन्द्रपुर ४ का अनील कार्कीलाई बिहान भ्याइनभ्याइ हुन्छ । चनाको सातुको पारखीहरू उनको ठेलामा एकाबिहानै पुग्छन् । गर्मीमा सातु पिउनेको भीड लाग्छ । चन्द्रनिगाहपुरको मुख्य चोकमा उनको ठेला बिहानै पुगिसकेको हुन्छ । ठेलामा कागती, प्याजका दाना, खुर्सानी तयारी अवस्थामा राख्छन् । नुन, मसलाका स–साना बट्टा छन् ।

गर्मीलाई चनाको सातु

झट्ट हेर्दा चटपटे बेच्न लागेको जस्तो लाग्छ । यी परिकार राखेर सातु बनाउँछन् उनी । पिउँदा निकै स्वादिष्ट हुन्छ । गर्मीको समयमा सातुले स्वास्थ्यलाई फाइदा पुग्ने हुँदा यसका पारखी पहिलो रोजाइ यही हुन्छ । त्यसपछि उनलाई भ्याइनभ्याइ हुन्छ । कार्कीको दिनचर्या सातुबाट सुरु हुन्छ । उनको सातु लोकप्रिय छ ।


निकै मेहनत गरी सातु बनाउँछन् । ग्राहकले थपीथपी पिउँछन् । पिउँदा स्वादिष्ट हुने ग्राहकको भनाइ छ । मोरङको बयनगर गाउँबाट दुई दशकअघि चन्द्रनिगाहपुर आएका कार्कीले ठेलामा चनाको सातु बेच्न थालेकै ११ वर्ष पुगिसक्यो । सानो व्यवसाय गरेंछु भन्ने उनलाई कहिल्यै पछुतो भएन । हेर्दा सामान्य देखिए पनि उनको व्यापार ठूलो छ । बिहान सातु बेच्छन् । बेलुकी लस्सी ।


दुवै परिकार लोकप्रिय छन् । ‘सातुबाट बिहान एक हजारभन्दा बढी कमाउँछु,’ उनले भने, ‘लस्सीतबाट त्यहीअनुसारको आम्दानी हुन्छ ।’ पैसा कमाउन विदेश जानुपर्छ भन्ने सोचाइ गलत भएको कार्की बताउँछन् । ‘थोरै लगानीमा मेहनत गरे पैसा नेपालमै कमाउन सकिन्छ,’ उनले भने, ‘मानिसले ठेलाको व्यवसाय भन्छन् होला तर यसैबाट मनग्गे कमाएको छु ।’


उनले झण्डै ९ वर्षजति यहाँका लाइन होटलमा खाना पकाउने काम गरे । त्यसबाट सन्तुष्ट भएनन् । खाना पकाउने काम छाडेर पुरानो ठेला किनेर चनाको सातु बेच्न थाले । ऋण गरेर भए पनि विदेश गएर पैसा कमाउने उनले सोच बनाएका थिए । पछि यही पेसामा उनी रमाउन थाले । एक दशकको अवधिमा यहाँ नयाँ व्यापारिक पसल खुले । तर उनको ठेला फेरिएको छैन । त्यही ठेलाले उनको जीवन फेरिदिएको छ । समयअनुसारको व्यवसायमा रमाएको छ कार्की परिवार ।


बिहान सातु बेचेर दिउँसो राजमार्ग छेउमा त्यही ठेलामा विभिन्न प्रकारको खाजा पनि बनाउँछन् । त्यसपछि बचेको समयमा लस्सी बिक्री गर्छन् । साकाहारी खाजा खान उनको ठेलामा भीड लाग्छ ।


बिहान सातु पिउन स्थानीय रैथाने पारखीहरू ठेला खोज्दै पुग्छन् । स्वादअनुसारको सातु घोल्न लगाउँछन् । मुख मिठ्याउँदै बाटो लाग्छन् । गर्मी मौसममा उनको ठेला वरिपरि सातु पिउनेहरूको भीड देखिन्छ । सातु घोलेर ग्राहकलाई दिन भ्याइनभ्याइ हुन्छ । सातुका पारखीहरू स्वादअनुसार काँचो प्याज, कागतीको रस, मसला, बिरेनुन राख्न लगाउँछन् । दैनिक १० केजीभन्दा बढी सातु यही ठेलाबाट बिक्री हुन्छ । ‘उनको हातमा सातु बनाउने जादु नै छ,’ कार्कीका नियमित ग्राहक आशिष पर्साईँ भन्छन्, ‘जिम गरेर चोक आएपछि एक गिलास सातु नपिई सुखै छैन ।’ उनको बोली नम्र छ । ग्राहकलाई लोभ्याउने कला छ ।


१० वर्षअघि तीन रुपैयाँ गिलासमा बिक्री हुन्थ्यो । अहिले ३० रुपैयाँ पुगेको छ । यहाँ राम्रो चनाको सातु पाइँदैन । भारतको बैरगनिया बजारका व्यापारीले घरमै चनाको सातु ल्याइदिन्छन् । एक पटकमा सय किलोसम्म किन्छन् । ठेलाको व्यापारमा उनकी श्रीमतीले सघाएकी छन् । दुवैजना बिहानदेखि बेलुकासम्म ठेलामै व्यस्त हुन्छन् । ग्राहकको हाउभाउ अनुसारको कुरा गर्न कार्की खप्पिस छन् । बसका यात्रुसमेत उनको सातु मन पराउँछन् । सातु बेचेरै करोडपति बनेका छन् । अहिले २ तले पक्की घर बनाइसके । गाउँमा केही जमिनसमेत जोडेका छन् ।


कार्कीका २ छोरामध्ये एउटाले १२ कक्षा उत्तीर्ण गरे । अर्कोले १० कक्षाको परीक्षा दिएर बसेका छन् । दुवैलाई राम्रै विद्यालय पढाए । आफूले पढ्न नपाए पनि छोरालाई पढाउन पाएकोमा उनलाई ठूलो सन्तुष्टि मिलेको छ । अहिले मासिक ५० हजारसम्म आम्दानी हुने गरेको उनले बताए । विदेश जान्छु भन्नेलाई राम्रो सल्लाह दिन्छन् । आफ्नै भूमिमा मेहनत गर्न सुझाव दिन्छन् । सानो पुँजी लगाएर मेहनत गर्नेलाई सम्मान र माया गर्नेको संख्या समाजमा थोरै छ ।

प्रकाशित : वैशाख ५, २०७६ ११:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?