किसानले गहुँ भित्र्याउन पाएनन्

सुनिता बराल

बर्दिवास — मनग्य गहुँ भित्र्याउने सपनासाथ एक बिघा बटैयामा लिई गहुँ लगाएकी बर्दिवास १४ की शिवकुमारी महतोलाई पाकेको बाली थन्क्याउन नपाउँदा चिन्ता परेको छ । गहुँ पाकेर गेडा खेतमै झर्न थालिसक्दा पनि हावाहुरी, असिना र पानीले भित्र्याउन नदिएपछि शिवकुमारीजस्तै महोत्तरीका धेरै किसान चिन्तित भएका छन् । 

महोत्तरीको भंगाहा नगरपालिका ४ मा ३ बिघा जग्गामा गहुँ खेती गरेका सत्यनारायण यादव पनि आकाश उघ्रिएपछि काटुला भनेर बसेका छन् । तर खेतमा हावाहुरीले ढालेको गहुँ, पानी परिरहेपछि छाली नै कुहिन थालेको उनले सुनाए । निकै मेहनत परेको बाली हावाहुरी र असिनापानीले सखापै पारेको छ ।


महोत्तरी जिल्लामा ६७ हजार ३ सय ५२ हेक्टर खेतीयोग्य जमिन छ । त्यसमध्ये भंगाहा, औरही, गौशाला, मनरासिस्वा, जलेश्वर, बलवा, बर्दिवासलगायत धेरैजसो खेतीयोग्य भूमिमा किसानले गहुँ लगाएका छन् । बर्दिवास १४ का वेदबहादुर हमाल दिनमा ५ पटकसम्म खेत पुगेर गहुँ हेर्दै घर फर्कन्छन् । पाकेर खेतमै नास हुन लागेको गहुँ देख्दा विरक्त लाग्ने उनले सुनाए । चैत महिनाभित्रै थन्क्याइसक्नुपर्ने गहुँ पानी पर्दा काट्न नपाएर खेतमै सढेर जाला भन्ने पिरले अहिलेसम्म नकाटेको हमाल सुनाउँछन् । मौसम सफा भएजस्तो गरेपछि काटेको अलिकति गहुँ पनि त्रिपालले छोप्ने र सुकाउनामै हैरान परेको उनले बताए ।


यस वर्ष महोत्तरीमा ३० हजार हेक्टर जग्गामा गहुँ खेती लगाएको कृषि ज्ञान केन्द्र मलङा सर्लाहीका नायब प्राविधिक सहायक रामकैलाश साहले जानकारी दिए । हावाहुरी र असिनापानीले यसपालिको फसल ३० प्रतिशत खेतमै नोक्सानी भएको साहले बताए । यहाँको कुल खेतियोग्य भूमिको १० प्रतिशतमा मात्रै सिंचाइको व्यवस्था छ । पर्याप्त सिँचाइ सुविधा नभएका कारण निकै समस्या हुने गरेको किसान बताउँछन् । प्रत्येक जिल्लामा कृषिसम्बन्धी काम गर्ने र तथ्याङक राख्ने जिल्ला कृषि विकास कार्यालय खारेज भएसँगै जिल्लामा भए गरेका कामहरूको तथ्याङक गायव छन् ।


महोत्तरीमा गत वर्षदेखि कति जग्गामा गहुँ लगाइएको थियो ? कति गहुँ उत्पादन भयो ? र, लक्ष्यअनुसार उत्पादन भयो कि भएन ? लगायत गतवर्षदेखिका कृषिसम्बन्धी कुनै तथ्याङक हाल जिल्लामा रहेको कृषि सेवा सम्पर्क कार्यालय महोत्तरीदेखि कृषि विभागसँग उपलब्ध छैन ।


७७ जिल्लामा भएका जिल्ला कृषि विकास कार्यालय खारेज भएपछि हाल ५१ वटामा मात्र कृषि ज्ञान केन्द्र सञ्चालनमा छन् । स्थानीय तहलाई कृषि शाखा सञ्चालन गरी काम गर्न बजेट उपलब्ध भए पनि महोत्तरीका प्रायः स्थानीय तहमा कृषि शाखा सञ्चालन भएका छैनन् । कृषि शाखा तथा कार्यालयसँग समन्वय गर्न नपाउँदा किसान भौंतारिएका छन् ।


पुरानो संरचनाअन्तर्गत बर्दिवास नगरपालिका १४ को कृषि सेवा सम्पर्क केन्द्र अहिले बर्दिवास नगरपालिकाको कृषि शाखा भनिए पनि यसबाट अहिले कुनै काम सञ्चालन भएका छैनन् । कार्यालयबाट नायव प्राविधिक सहायक साजन दाहालले किसान धेरै गुनासा लिएर आउने गरेको बताए । तर त्यस कार्यालयले कामकाज अगाडि बढाउन नसकेका कारण कार्यालय परामर्श दिने केन्द्र भएको दाहालको भनाइ छ ।


कृषि कार्यालयको संरचना भाताभुङ्ग भएकाले अहिले विभागमा पनि गत वर्षदेखिको कुनै नयाँ तथ्याङक संकलन नभएको कृषि विभागका वरिष्ठ कृषि प्रसार अधिकृत रामकृष्ण श्रेष्ठले बताए । विगत केही समयदेखि मौसम खराब हुँदा असिना, पानी र हावाहुरीले प्रदेश २ को कृषि क्षेत्रमा ५० करोडभन्दा बढीको क्षति भएको जनाएको छ ।


(प्रशिक्षार्थी)

प्रकाशित : वैशाख ६, २०७६ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?