राजस्व असुलीले लक्ष्य भेटाएन

पर्सा — वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले चैत महिनामा मासिक राजस्व असुली लक्ष्य भेट्टाउन सकेको छैन । यस महिना ३ अर्ब २४ करोड राजस्व संकलनको लक्ष्य लिएकामा ७९ दशमलव ६९ प्रतिशत मात्र अर्थात् २ अर्ब ५८ करोड रुपैयाँ संकलन भएको छ ।

कात्तिक महिनायता भन्सारले निरन्तर मासिक राजस्व असुली लक्ष्य भेट्न सकेको छैन । चालु वर्षमा केवल असोजमा मात्र असुली लक्ष्य भेटेको थियो । भन्सार कार्यालय प्रमुख उमेश श्रेष्ठका अनुसार वार्षिक राजस्व असुली लक्ष्य केही राम्रो भए पनि त्यसमा सफलता मिलेको छैन । चालु आवको चैत मसान्तसम्ममा यो भन्सारलाई २५ अर्ब ९९ करोड रुपैयाँ राजस्व असुलीको लक्ष्य रहेको थियो । जसमा ९१ दशमवलव ७४ प्रतिशत अर्थात् २३ अर्ब ८४ करोडमात्र संकलन हुन सकेको छ ।


असोजबाहेक अरू महिनामा भन्सारले मासिक राजस्व असुलीको औसत ८५ देखि ९५ प्रतिशतसम्म संकलन गर्न सकेको छ । अघिल्ला आर्थिक वर्षहरूमा उत्साहजनक रूपमा राजस्व संकलन गर्दै आएको थियो ।


भन्सार प्रमुख श्रेष्ठ समग्रमा व्यापार घटेकाले यस वर्ष असुली लक्ष्य भेट्न समस्या भएको बताउँछन् । ‘समग्रमा ट्रेड घटेको छ,’ उनले भने, ‘यो भन्सारको राजस्वमा सर्वाधिक योगदान गर्ने वस्तु फलाम आयात घटदो छ । यस्तै राजस्व संकलनमा राम्रो योगदान गर्ने अर्को वस्तु चिनीको आयातमा प्रतिबन्ध लागेको छ ।’ यसबाहेक तेस्रो मुलुकबाट आयात हुने मदिराको आयात पनि घटेको छ । मदिरा आयात हुने मुलुकको यो नाका मुख्य हो । यसको आयात घटेपछि त्यसले राजस्व असुलीमा नकारात्मक प्रभाव पर्न जान्छ ।

प्रकाशित : वैशाख ६, २०७६ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?