२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

तीर्थराजको 'एमआर’ होटेल

साकाहारी खाना पाइने यहाँ मेडिकल रिप्रेजेन्टेटिभको बाहुल्यता हुन्छ 
श‌ंकर आचार्य

पर्सा — वीरगन्ज महानगर ४ गणेशमान चोकस्थित जेलरोडको एक कोठे होटेल । तीर्थराज श्रेष्ठ सञ्चालक । होटेलमा न त साइन बोर्ड छ न त होटेलको कुनै प्रचारप्रसार । खाना खान आउनेले सहजै खाना पाउँदैनन् । पालो कुर्नै पर्छ । 

तीर्थराजको 'एमआर’ होटेल

अघोषित रुपमा ‘एमआर होटेल’ अर्थात् मेडिकल रिप्रेजेन्टेटिभ होटलको नामले प्रसिद्ध यसमा नामअनुसार मेडिकल रिप्रेजेन्टेटिभ ग्राहकको बाहुल्यता छ । एमआरबाहेक बैंकर्स तथा अन्य पेशाकर्मीदेखि सर्वसाधारणको भीड थामी नसक्नु हुन्छ ।


प्रायः शुद्ध साकाहारी खाना पाइने तीर्थराजको होटेलमा सय रुपैयाँमा पेटभरि खाना पाइन्छ । सस्तो भएर उनको होटेलमा भीड लागेको पक्कै पनि होइन । उनको खानाको विशेषता ताजा, हरिया तरकारीको सागसब्जी तथा चिल्लो पिरो कम हुनु रहेको नियमित ग्राहकको पनि अनुभव छ । वीरगन्जकै एक बिमा कम्पनीका प्रमुख तथा होटेलका नियमित ग्राहक बद्री अधिकारीले यस्तै अनुभव सुनाए । ‘म यो होटेलको नियमित ग्राहक हुँ, सधै यहीँ खाना खान्छु,’ उनले भने, ‘ताजा, सफा सुग्घर र चिल्लोपिरो कम हुने भएकाले अन्त जान मनै मान्दैन । यहाँ खाना खाँदा घरमै खाएको अनभूति हुने र पेट पनि बिग्रिँदैन ।’


ओखलढुंगा लिखु गाउँपालिका ३ का स्थायी बासिन्दा तीर्थराज कामको खोजीमा ०५५ सालतिर वीरगन्ज झरेका थिए । वीरगन्जस्थित नेपाल मेडिकल सेल्स रिप्रजेन्टेटिभ एसोसिएसन कार्यालयको रेष्ट हाउसमा १ दशकसम्म केयरटेकरको रुपमा काम गरेका उनले त्यहाँ एमआरलाई लक्षित गरी मेस तथा लजिङ्गसहितको सेवा सुरु गरेका थिए ।


पछि आफ्नै होटेल सन्चालन गरेका हुन् । उनको होटलमा बिहान ९ देखि मध्यान्ह १२ खाना पाइन्छ । साँझ ७ देखि राति साढे ९ सम्म उनको होटेलमा खाना खान ग्राहकको बाक्लै भीड लाग्छ । १० वर्ष एसोसिएसनमा आबद्ध भएपछि उनका ग्राहक अझै पनि एमआर बढी छन् । स्थानीयमात्र नभई राजधानी, बिराटनगर, बुटवल, भैरहवा, धरानसम्मका एमआर उनका ग्राहक हुन् । वीरगन्ज आउनुअघि उनलाई फोनबाट एमआरहरूले खानाको अर्डर गरिसकेका हुन्छन् । ‘धेरै खाना त अर्डरबाटै बुक भइसकेको हुन्छ,’ तीर्थ भन्छन्, ‘मासिक रुपमै नियमित खाना खाने र तीबाहेक फुटकर ग्राहक पनि थुप्रै छन् ।’


उनलाई पत्नी निर्मलाले साथ दिएकी छन् । दुवै मिलेर खाना पकाउने, ग्राहकलाई आफै खाना पस्केर सेवा दिइरहेका छन् । तीर्थलाई पनि उमेरमा वैदेशिक रोजगारीमा जाने प्रस्ताव नआएको होइन् । उनकै काकाका छोराहरू १८ बर्षको उमेरमा रोजगारीका लागि खाडी भासिएको र अझै पनि उतै भुलिरहेका छन् । तीर्थको मन भने आफ्नै देशमा लाग्यो । ‘मलाई दाजुभाइले खाडीमा नबोलाएका होइनन्, तर मलाई कहिल्यै विदेश मोह लागेन,’ उनले भने, ‘स्वदेशमै इमान्दारी र मिहिनेतले पुग्छ भने किन बिदेश जानु पर्‍यो र ?’ घर खर्च र होटेल खर्च कटाएर आफूले मासिक १५ देखि २५ हजार रुपैयाँसम्म कमाउने गरेको उनले सुनाए ।

प्रकाशित : वैशाख ७, २०७६ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?