३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

हुरीप्रभावित विद्यार्थीलाई स्टेसनरी

सिमरा — धुर्मुस–सुन्तली फाउन्डेसनले दाताबाट संकलन गरेको सहयोगबाट स्कुल ब्याग, स्टेशनरीलगायत सामग्री बाराको फेटा गाउँपालिका ६ पुरैनियाका २ सय हावाहुन्डरी प्रभावित बालबालिकालाई बिहीबार वितरण गरेको छ । 

बिहानै स्टेशनरी, स्कुल ब्यागलगायत सामग्री लिएर फाउन्डेसन अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) पुरैनिया पुगेका थिए । प्रभावित बालबालिकालाई विद्यालयमा पढ्न सहज वातावरण बनाउने उद्देश्यले स्टेशनरी र स्कुल ब्याग दिइएको उनले जानकारी दिए ।


फाउन्डेसनले बाराका २ सय र पर्साका २ सय बालबालिकालाई स्कुल ब्यागसहित विद्यालय सामग्री उपलब्ध गराएको थियो । भत्केको घरसँगै बालबालिकाको किताब, कपी, कलम, स्कुल ब्याग सबै नष्ट भएको थियो । त्यसपछि संकटमा परेका प्रभावित क्षेत्रका बालबालिका स्टेशनरीविहीन बनेका थिए । स्कुल ब्याग र स्टेशनरी पाएपछि बालबालिका धेरै खुसी थिए ।


प्रभावित क्षेत्रका बालबालिकाको पढाइ नियमित संचालन गर्न फाउन्डेसनले निरन्तर सहयोग गर्ने धुर्मुसले आश्वासन दिएका छन् । ‘तपाईहरूसंगको दुःखसुखमा सदैव साथ रहने छु,’ कट्टेलले भने, ‘आपतविपत परेको बेलामा सबैले हातेमालो गरेर समस्या चिर्दै अघि बढनुपर्छ ।’ प्रभावित क्षेत्रमा अहिले राहत होइन । तत्कालै यहाँको वातावरणअनुकूल घर निर्माण सुरु गर्नुपर्ने मुख्य आवश्यकता देखिएको उनले जनाए ।


सहयोग लिएर आफ्नो गाउँपालिकामा आइपुगेको कट्टेललाई फेटाका अध्यक्ष अमिरीलाल साहले धन्यवाद दिए । उनले पनि हावाहुरीले घर भत्काएर टेन्टमा बास बसिरहेका परिवारका लागि तत्कालै घर निर्माण गर्नुपर्ने आवश्यकता औल्याएका थिए ।

सरकारले नेपाली सेनामार्फत घर निर्माण सुरु गर्ने बताए पनि अहिलेसम्म काम सुरु हुन नसकेको भन्दै उनले चिन्ता जाहेर गरे । ‘कहिलेदेखि घर बन्न सुरु हुन्छ, कुनै अतोपातो छैन,’ उनले भने, ‘घर निर्माण गर्ने सम्बन्धमा अहिले गाउँपालिकासँग कुनै निकायले समन्वय गरेको छैन ।’


सरकारले घर निर्माण गर्ने आश्वासन दिएर पीडितलाई दोधारमा राखेको उनले आरोप लगाए । सरकारले घर बनाइदिन्छ भन्दै पीडितहरू अहिले पर्खेर बसेको उनले जानकारी दिए । चाडोभन्दा चाडो पीडितको घर नबने बर्खा लागेपछि अर्को विपत आउने उनको भनाइ थियो ।


मृतकका परिवारलाई ३ लाख

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले हुन्डरीमा परी मृत्यु भएका १० जनाको परिवारलाई शुक्रबार ३/३ लाखका दरले नगद हस्तान्तरण गरेका छन् । कलैयास्थित जिसस कार्यालयमा उक्त रकमको चेक मुख्यमन्त्रीले हस्तान्तरण गरेका हुन् । बाँकी मृतकको हकमा कागजात नपुगेकाले सहयोग रकम नदिएको हो ।


कागजात पुगेपछि उनीहरूलाई अर्को चरणमा उपलब्ध गराइने मुख्यमन्त्रीका प्रेस सल्लाहकार आतिश मिश्रले बताए । गत चैत १७ मा आएको भीषण हुन्डरीको चपेटामा यहाँ २८ जनाको ज्यान गएको थियो । घटनापछि प्रदेश सरकारले प्रतिमृतक परिवारलाई प्रदेश सरकारले जनही ३ लाख दिने घोषणा गरेको थियो ।


चेक हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री राउतले संघीय सरकार र प्रदेश सरकार मिलेर हुरीपीडितको घर चाँडै बनाइदिने प्रतिबद्धता जनाए । सोही अवसरमा अमेरिकी संस्था एन्टाले प्रतिमृतक परिवारलाई उपलब्ध गराएको ५०/५० हजारको चेक पनि मुख्यमन्त्रीले हस्तान्तरण गरेका छन् ।

प्रकाशित : वैशाख ७, २०७६ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?